किनमेलका लागि संधै सीमापारी जानबाट रोक्ने अवसर, तर कसरी ?


नेपालगन्ज १९ साउन :  कुनैबेला नेपाली सेवाग्राहीका कारण किनमेल गर्नका लागि खुट्टा टेक्ने ठाउँ नहुने नेपालगन्जसँग जोडिएको भारतीय बजार रुपैडिहा अहिले सुनसान छ ।

दशैंतिहार जस्ता चाडपर्वमा भीडमा हराउने रुपैडिहा एकान्त बस्तीजस्तै बनेको छ । फाट्टफुट्ट पसल खुलेका छन्, ग्राहक छैनन् । नेपाली ग्राहकमा निर्भर रहेको रुपैडिहाको व्यापार यतिबेला सुकेको छ ।

सयौं नेपाली उपभोक्ताले दैनिक घरायसी तथा व्यक्तिगत प्रयोजनका सामान किन्ने मुख्य बजार रुपैडिहा नै थियो । नेपाली ग्राहक रुपैडिहा जाँदा नेपालगन्जका व्यापारीको मन खुबै पिरोल्ने गर्दथ्यो । रुपैडिहाका व्यापारीलाई नेपाली उपभोक्ताको भीड थेग्न मुस्किल हुन्थ्यो, नेपालगन्जका व्यापारीलाई चाहिँ ग्राहक पर्खेर पसलमा कुरिरहनु पर्ने बाध्यता थियो ।

नेपालगन्जमा भन्दा रुपैडिहामा सामान सस्तो पाइन्छ भन्ने आम उपभोक्ताको बुझाइले रुपैडिहा नै प्राथमिकतामा पर्दथ्यो । चाडपर्वका बेला रुपैडिहा बजारमै झन् बढी नेपाली उपभोक्ता आकर्षित हुन्थे । रुपैडिहामा पाइने सामान नेपालगन्जमै सस्तो पाउँदा पाउँदै पनि वर्षौंदेखि सीमापारि नै सस्तो पाइन्छ भन्ने आम उपभोक्ताको सोचले नेपालगन्जभन्दा रुपैडिहामा नेपाली ग्राहकको ठेलमठेल हुन्थ्यो ।

नेपाली उपभोक्तलाई रोक्न यहाँका व्यापारी, उद्योगी, नेपालगन्ज उद्योग वाणिज्य संघ, नेपालगन्ज भन्सार कार्यालय सबैले सचेतना, सामान आयातमा कडाई नगरेका पनि होइनन् । भन्सारले १ हजार रुपैयाँभन्दा बढीको सामान ल्याउँदा भन्सार तिर्नुपर्ने निर्देश नै गर्यो । सुरुवातमा त्यसको केही प्रभाव परे पनि त्यो निर्णयले दीर्घकालीन रूप लिन नसक्दा फेरि रुपैडिहा जाने नेपाली उपभोक्ताको सङ्ख्या ह्वात्तै बढेको
थियो ।

नेपालगन्जमा भन्दा रुपैडिहामा न सामान सस्तो पाइन्छ न त कर नै तिर्नुपर्छ । चर्को घाम, समयको बर्बादी, रिक्सा, टाँगा तथा माइक्रोबसमा कोचिनुपर्ने बाध्यता र भन्सारका कर्मचारी तथा भारतीय सीमा सुरक्षा बलको हेपाइ सहेरै भए पनि नेपाली उपभोक्ताहरु रुपैडिहामा सामान लिन जान्थे । घरका करेसाबारी बाँझै राखेर खुर्सानी, लसुन र बेसारसम्म किन्न रुपैडिहा जाने नेपाली उपभोक्ताले भारतीय व्यापारी मालामाल भइरहेका थिए ।

रुपैडिहामा दैनिक ५ करोड रुपैयाँभन्दा बढीको कारोबार हुँदै आएकोमा अहिले शुन्य छ । सधैं नेपालगन्ज बजार सुक्ने र रुपैडिहा चम्किने गर्दथ्यो । तर, अहिले नेपालगन्ज बजार चम्किने र रुपैडिहा सुक्ने अवस्था आएको छ । नत्र, यतिबेला रुपैडिहा बजारमा नेपाली उपभोक्ताहरुको भीड थामिनसक्नु हुने थियो । यो अवस्था उपभोक्ता सचेत भएर वा उद्योगी व्यवसायी र सरकारी प्रयासले आएको भने
होइन ।


अहिले रुपैडिहामा व्यापार छैन, ग्राहक कुर्दाकुर्दै रुपैडिहाका व्यापारीहरु निदाउँछन् । यतिबेला भीडले भरिएर कोलाहलपूर्ण बन्ने रुपैडिहा बजार शान्त छ, मौन छ र सुनसान छ । मानिसको दिमागमा रुपैडिहामा सस्तो पाइन्छ भन्ने छाप बसेकाले पनि यस्तो भइरहेको र यो भ्रमलाई उद्योग व्यापार सङ्घ वा नेपाली व्यवसायीले चिर्न नसकेका बेला सीमापारि जानेको भीड विश्वव्यापिरुपमा फैलिएको कोरोना भाइरस संक्रमणले एकाएक शुन्यमा झारिदियो ।

कोरोना संक्रमण फैलिएसँगै पाँच महिनादेखि नेपाल–भारत सीमा नाकामा दुवै देशले आउँजाउँ बन्द गरेका छन् । भारतबाट नेपाल फर्किने नेपाली र नेपालबाट भारत फर्किन भारतीय नागरिकबाहेक ग्राहकको आउँजाउँ पूर्णरुपमा ठप्प छ । अझ उता गएर फर्किए १४ दिन अनिवार्य क्वारेन्टिन बस्नुपर्ने बाध्यात्मक अवस्थाले नेपाली उपभोक्ताहरुले सायद रुपैडिहालाई बिर्सिसकेको जस्तो लाग्छ ।

भन्सार नियम अनुसार एक हजार रुपैयाँभन्दा बढीको सामान ल्याउने जो–कोहीले पनि भन्सार तिर्नुपर्दथ्यो । तर, यो नियम केही दिनका लागि मात्रै कार्यान्वयन भयो, दीर्घकालसम्म जान सकेन । नियमलाई कडाइका साथ पालन गराउन उद्योग वाणिज्य संघ र नेपालगन्ज भन्सार कार्यालयले पहलकदमी नगरेका पनि होइनन् । तर, सम्भव भने पटक्कै देखिएको थिएन, अहिले कोरोना संक्रमणले एकाएक उपभोक्तालाई नेपालगन्जमै रोकिदियो ।

नेपाली ग्राहक, नेपालन्जका व्यापारी र भन्सार कार्यालयबीच सधैं द्वन्द्व चलिरह्यो । दशकौंदेखिको चलेको त्रिपक्षीय द्वन्द्व समाधान हुने सायदै थियो । नेपालगन्ज उद्योग वाणिज्य सङ्घ र नेपालगन्ज भन्सार कार्यालयले नेपाली उपभोक्तालाई भारतीय बजार जान हतोत्साहित गर्ने उद्देश्यले नयाँनयाँ जुक्ति लगाए । अहँ यो विषय कहिल्यै सल्टिएन । न त नतिजामै सुधार आउन सक्यो । दिनहुँ उही अवस्था दोहोरिरह्यो ।

कोरोना संक्रमणका कारण नेपालगन्जमै रोकिएका नेपाली उपभोक्तालाई दीर्घकालिनरुपमा यतै रोक्न ठोस रणनीति बनाउन आवश्यक देखिन्छ । कोरोनाले दिएको यो सूवर्ण अवसरलाई अहिले पनि नेपाली व्यवसायीले अवसरका रुपमा होइन ‘लुट’का रुपमा लिनु हुँदैन । यतिबेला ठोस रणनीति तय गरेर नेपाली उपभोक्तालाई आफ्नै बजारमा रोक्न कसले पहल गर्ने की ?

थप रणनीति नबनाउने हो भने कोरोना संक्रमणको निष्क्रियतापछि फेरि रुपैडिहा चम्किने र नेपालगन्ज सुक्ने निश्चित छ । कोरोना जोखिमपछिको अवस्था फेरि उही हुनेछ । रुपैडिहामा नेपाली उपभोक्ताको भीड बढ्नेछ, व्यापार उच्च हुनेछ र नेपालगन्जलाई गिज्याउने छ । नेपालगन्जको व्यापार शान्त, मौन र सुनसान बनेर शुन्यतामा झर्नेछ ।

प्रकाशित मितिः     2:42:53 PM  |