विद्युत प्राधिकरण कोहलपुर वितरण केन्द्रका ७३ कर्मचारीको कोरोना वीमा


नेपालगन्ज २१ साउन :  नेपाल विद्युत प्राधिकरण कोहलपुर वितरण केन्द्रले आफ्ना ७३ जना कर्मचारीहरुको बुधबार कोरोना बिमा गराएको छ।

राष्ट्रिय बिमा कम्पनी लिमिटेडमार्फत कोहलपुर वितरण केन्द्रले कार्यरत स्थायी, ज्यालादारी, करार सेवाका कर्मचारीहरुको लागि जनही एक लाख रुपैयाँको सो बीमा गराएको हो।

कम्पनीको तर्फबाट सो बीमाको औपचारिक पत्र कार्यालयलाई हस्तान्तरण भएको प्रशासन प्रमुख जीतबहादुर चौधरीले जनाउनुभएको छ।

वितरण केन्द्रले प्रत्येक कर्मचारीको लागि जनही ६ सयको दरले प्रिमियम भुक्तानी गरेकोछ।


स्वास्थ्य सुरक्षाको उपाय अपनाएता पनि बढ्दो संक्रमणका बाबजुद विद्युत कर्मचारीहरु प्रत्यक्षरुपमा निरन्तर खटिनु पर्ने भएकोले कर्मचारीहरुको कोरोना बीमा थालिएको हो।

बाँकेस्थित नेपालगंज वितरण केन्द्र र प्रदेश डिभिजन कार्यालयका गरि १ सय ३५ जना कर्मचारीको कोरोना बिमा यसअघि नै भइसकेको छ।

र,योसंगै कोरोना बिमा गराउने बाँकेमा कार्यरत विद्युत प्राधिकरणका कर्मचारीहरुको संख्या अब २ सय ८ पुगेको छ।

प्रकाशित मितिः     7:26:29 PM  |