बर्दियामा निषेधाज्ञा, सुर्खेतमा लकडाउनमा कडाई


नेपालगन्ज २२ साउन : भेरी अस्पताल, नेपालगञ्जमा गरिएको परीक्षणमा बर्दियाका बिहीबार १४ जना संक्रमित देखिएका छन्।

बर्दियामा पनि आइतबारदेखि ५ दिन निषेधाज्ञा जारी गर्ने जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्रले निर्णय गरेको छ।

नेपालगञ्जमा एकैपटक धेरै कोरोना संक्रमित देखिएपछि बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ र एसपी ओमबहादुर राना निषेधाज्ञालाई कडाई गर्न सडकमा निस्केका छन्।

निषेधाज्ञाको उल्लंघन गरी पसल सञ्चालन गरेका २५ जनालाई नियन्त्रणमा लिएर क्वारेन्टाइनमा पठाइएको छ।

यस्तै कोरोना सङ्क्रमण बढ्दै गएकोले नियन्त्रणका लागि सुर्खेतमा अर्को सूचना प्रकाशित नभएसम्म कुनैपनि सभा, गोष्ठी, सेमिनार, तालिम, जुलुस, जात्रा, महोत्सवलगायत धार्मिक कार्यक्रमहरुमा रोक लगाइएको छ । प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको अध्यक्षतमा मंगलवार बसेको जिल्लास्तरीय विपद व्यवस्थापन केन्द्रको बैठकले सो निर्णय गरेको हो ।

केन्द्रको यो निर्णयले कृष्ण जन्माष्टमी, हरितालिका तीजलगायतका पर्वहरु पनि रोक्कामा परेका छन् । बढी भीडभाड हुने पर्व भएकोले मंगलवारबाट लागू हुने गरी अर्को सूचना जारी नभएसम्मका लागि सभा, गोष्ठी, सेमिनार, जात्रा, महोत्सवमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी रेग्मीले बताए । ।

यस्तै कोरोना संक्रमण दर नघटेको कारण जोखिम रहिरहेकोले भारतलगायत अन्य मुलुकबाट आउने व्यक्तिहरुलाई अनिवार्य रुपमा क्वारेन्टिनमा राख्नको लागि प्रत्येक पालिकाले कम्तीमा एउटा क्वारेन्टाइन यथावत राख्ने र आउने व्यक्तिहरुको निगरानी बढाई व्यवस्थित अभिलेख राख्ने निर्णयपनि भएको छभने कोरोना रोगबाट पर्न सक्ने सम्भावित जोखिम नियन्त्रण, रोकथाम तथा उपचार लगायतका कार्यको लागि यस जिल्लामा हालसम्म भए गरेका क्रियाकलापहरुको बारेमा पनि बैठकमा समीक्षा गरिएको थियो ।

प्रकाशित मितिः     २२ श्रावण २०७७, बिहीबार १८:२७  |