निसंकोच खुल्दै, अरुलाई सम्झाउँदै संक्रमित


नेपालगन्ज २३ साउन :  बाँकेमा कोरोना संक्रमितहरु खुल्न थालेका छन् । निसंकोच भएर खुलेका संक्रमितहरुले आफ्नो आत्मबल त बढाएका छन् अरुलाई समेत सम्झाउने गरेका छन् ।

बिश्वभर महामारीको रुप लिएको कोरोनाको संक्रमण भएकै कारण हेपाह नजरले हेर्नेलाई यस्तो कार्यले झापड दिएको छ । केही दिन यता बाँकेमा एकपछि अर्को गरी संक्रमितको संख्या बढ्दै छ । सोही क्रममा नेपालगन्ज उपमहानगरपालिका वडा नं. १ का वडा अध्यक्ष प्रमोद रिजाललाई संक्रमण भयो ।

वडाको काम गर्दागर्दै संक्रमित भए पछि उनलाई खजुरा क्यान्सर अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ । सोही अस्पतालबाट रिजालले वडाको काम गर्ने क्रममा संक्रमण भएको भन्दै आफ्नो स्वासथ्य अवस्थाका बारेमा जानकारी दिए । उनले आफु ठिक रहेको र अरुलाई सजगत भएर बस्न सुझाव दिएका छन् ।

त्यस्तै नेपालगन्जका व्यवसायी लोकेन्द्र अर्याल आफु संक्रमित भएपछि सामाजिक सन्जाल मार्फत अरुलाई पनि स्वास्थ्य परीक्षण गर्न सम्झाइरहेका छन् । जिल्ला जनस्वास्थय कार्यालय बाँकेका फोकल नरेश श्रेष्ठले संक्रमितलाई फरक नजर हेर्न नहुने बताउँछन् । त्यस्तो नगर्न पनि सबैलाई अपील गरेका छन्
बाँके जिल्ला भित्र कोरोना भाइरसबाट संक्रमित हुने संख्या ५ सय नाघेको छ ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अनुसार, बाँके जिल्लाका ४ सय ९८ जना र अन्य जिल्ला घर भइ बाँकेमा कार्यरत ४ सहित जिल्ला भित्र संक्रमित हुनेको संख्या ५ सय २ पुगेको हो ।

जसमध्ये, २ जनाको ज्यान गईसकेको छ भने ३ सय ९८ जना कोरोना मुक्त भइ घर गएका छन । अब विभिन्न आइसोलेसन सेन्टरमा जिल्लाका ९८ र अन्य जिल्लाका ४ गरी १ सय २ जना उपचाररत रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

४ जना आज डिस्चार्ज हुँदै

बाँके जिल्लाका विभिन्न आइसोलेसनबाट आज ४ जना संक्रमित निको भइ डिस्चार्ज हुँदैछन ।

स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार, आइसोलेसन सेन्टर आदर्शनगर नेपालगन्जबाट नेपालगन्ज ११ र १२ का ४० र १८ बर्षिय दुई पुरुष र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराबाट कोहलपुर ९ का २१ र २७ बर्षिया दुई महिला कोरोना मुक्त भइ डिस्चार्ज हुन लागेका हुन ।

प्रकाशित मितिः     २३ श्रावण २०७७, शुक्रबार ०८:३१  |