राष्ट्र बैंकको निर्देशन : स्थानीय प्रशासनको निर्णयलाई आधार मानेर बैंक संचालन गर


नेपालगन्ज २५ साउन :  नेपाल राष्ट्र बैंकले कोभिड–१९ को संक्रमण बढ्दै गएको अवस्थामा थप सुरक्षा सतर्कतासहित बैंक तथा वित्तीय संस्थाहरूलाई बिजनेस कन्टिन्युटी प्लान बनाउन निर्देशन दिएको छ ।

कोरोना भाइरसको त्रास बढेको भन्दै राष्ट्रबैंकले आलोपालो प्रणालीमा बैंकिङ सेवा दिन भनेको छ ।

बैंकले आइतबार सार्वजनिक सूचना जारी गर्दै बैंक तथा वित्तीय संस्थाहरूलाई संचालन निरन्तरताको ठोस योजनासहित संस्था संचालनमा ल्याउन निर्देशन दिएको हो ।

कोरोनाको त्रास बढ्दै जाँदा बन्दाबन्दी, निषेधाज्ञा र सार्वजनिक सवारीसाधन जोरबिजोर प्रणालीमा संचालन हुने हुँदा आलोपालो गरेर भए पनि वित्तीय सेवालाई निरन्तरता दिन निर्देशन दिएको हो ।

राष्ट्र बैंकको सूचनामा जोखिमलाई मध्यनजर गर्दै ुवर्क फ्रम होमु नीति अवलम्बन गर्न पनि भनिएको छ । प्रदेशमा रहेका शाखा कार्यालयहरूलाई भने प्रदेशको स्थानीय तह र स्थानीय प्रशासनको निर्णयअनुसार संचालन गर्न निर्देशन जारी भएको छ ।

यसरी शाखा खोल्दा थोरैभन्दा थोरै मात्र कर्मचारीलाई उपस्थित गराई आलोपालो गरेर भए पनि भीड कम गर्न भनेको छ ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूका सबै शाखा संचालनमा ल्याउन र यदि कुनै पनि शाखा सञ्चालनमा नआएका भए राष्ट्र बैंकलाई जानकारी गराउन पनि आग्रह गरेको छ ।

प्रकाशित मितिः     २५ श्रावण २०७७, आईतवार १५:०१  |