‘डिसीएमसी’को निर्णयले बाँकेको आर्थिक गतिविधि ब्यूँतिने आशा तर जोखिम टरेको छैन


बाँके २७ साउन :  ‘लकडाउनलाई कोरोना जित्ने अस्त्र बनाउँदा अर्थतन्त्र चौपट भयो । यसले गर्दा रोगले होइन अब भोकले मरिने भइयो ।’–कोरोनाको संकटमोचनका लागि पटक–पटक लकडाउन लागु गरिएपछि प्राय :  सबैले सामाजिक सन्जालमा प्रकट गर्ने विचार हो यो ।

नहोस् पनि किन ? चैतयतादेखिको लकडाउनले अर्थतन्त्र धरासायी बनाएको छ । ठूला उद्योगीलाई त्यस्तै समस्या छ भने सर्वसाधारणको चुल्हो निभेको छ । त्यसैले अधिकांसको मुखमा यतिबेला झुण्डिएको वाक्य हो,–‘रोगले होइन भोकले मरिने भइयो ।’

तर कोरोनाका अगाडी यि बाध्यता र बिवशताको कुनै अर्थ रहेन । फेरी पनि कोरोना बिरुद्धको लडाई जित्न कतै पुरा लकडाउन त कतै आंशिक लडकाउन गरियो ।

पश्चिमको आर्थिक राजधानीका रुपमा रहेको नेपालगन्जमा त सेनानै सडकमा उत्रिएर तीन दिन सिल नै गरियो । बुधवारबाट सिल एरिया हट्ने भए पनि निषेधाज्ञा भनेर जिल्लाभर यथावत छ । तर सावधानीपूर्वक आर्थिक गतिविधि चलाउन दिने जिल्ला कोभिड संकट व्यवस्थापन समिति ‘डिसीएमसी’ को निर्णयले निजीक्षेत्रमा उत्साह थपिएको छ ।

हेर्नुहोस् निर्णय-

साउनको १५ सम्म आइपुग्दा पश्चिमको आर्थिक केन्द्र नेपालगन्जको आर्थिक गतिविधि चलायमान हुँदै थियो । बाँकेका तारे होटलमा सन्चालनको खुसि थियो । चार महिनाको लकडाउनमा बन्द रहेका होटलहरु आंशिकरुपमै भए पनि चल्ने तरखरमा थिए । सीमित कर्मचारीहरु हेल्थ प्रोटोकल अपनाएर बिहानैदेखि सेवाग्राहीको स्वागत गर्न बसेका थिए । तर सेवाग्राहीलाई स्वागत गर्ने त्यो खुसी एकदिन पनि टिक्न सकेन ।

कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्ेपछि जिल्ला प्रशासन कार्यालय बाँकेले निषेधाज्ञा लागु गर्यो । जुन आगामी शनिवारसम्म जारी छ । आशिंकरुपमा भए पनि होटल चलाउने योजना भताभुङ्ग भयो । होटल जस्तै अवस्था उद्योगी,व्यवसायीको पनि छ । लकडाउन अन्त्यसंगै पश्चिमको आर्थिक राजधानीका उद्योग पहिले जस्तै चल्ने अपेक्षा गरिएको थियो । चाडपर्व नजिकिएका बेला अन्य व्यापार पनि तंग्रिने आशा पलाएको थियो । तर यि आशा निरासामा परिणत भयो । नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी भन्छन–‘अवस्था सामान्य होला भनेको झन् समस्याग्रस्त भयो ।’

यतिबेला उद्योग,कलकारखानामा कर्मचारीदेखि कच्चा पदार्थसम्म अभाव छ । उद्योग राम्रोसंग चल्न सकेका छैनन् । बैंकको ऋण तिर्नुपरेको छ । लकडाउन अन्त्यपछि चल्ने व्यापारले त्यसको भरपाई हुने आशामा रहेका उद्योगी, व्यवसायीलाई पर्नुचोट परेको छ । कोरोना संक्रमण नियन्त्रणका लागि प्रमुख बिकल्प लकडाउननै मानिदै आएपछि त्यसले अर्थतन्त्रलाई गम्भीर धक्का लगाएको छ । बाँकेको अर्थतन्त्र प्रभावित हुँदा त्यसको प्रभाव पश्चिम क्षेत्रमा पर्ने गरेको छ ।

व्यवसायिक हिसावले लाइफलाईन मानिएका क्षेत्रहरु नै लकडाउनमा परेपछि त्यसको प्रभाव अन्यत्र पर्नु स्वाभाविक हो । लकडाउनकै बीचमा केन्द्रीय तथ्यांक विभागले निकालेको मुलुकको कुल गार्हस्थ उत्पादन (जीडीपी) २.३ प्रतिशतमा खुम्चिएको छ । अन्य अनुसन्धानहरुले आर्थिक बृद्धि अझ खुम्चिने आंकलनहरु गरिरहेका छन् ।

बरु अत्यन्तै कठिन क्षेत्रहरुमा लकडाउन गर्ने र मानिसहरुलाई सुरक्षा मापदन्ड अपनाएर मात्र बाहिर निस्कन, अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन र कोरोना भाईरसको चेकजाँचलाई बढाउन, भारतीय सीमाबाट अनियन्त्रित ढंगले भईरहेको आवागमलाई पूर्ण रुपले रोक्न विशेष कदम चाल्नुपर्ने मत बलियो भन्दै गएको छ ।

मृत अवस्थामा पुग्न लागेको अर्थतन्त्रलाई उकास्ने पहिलो जिम्मेवारी सरकारको हो र सरकारले नै जनताको सुरक्षाको प्रत्याभूति पनि गर्नुपर्छ । त्यसैले लकडाउन गरेर विस्तारै अघि बढ्न खोजेको अर्थतन्त्रको बीचैमा घाँटी निमोठ्ने प्रयास गर्नुभन्दा अरु नै विधि प्रयोग गरेर रोगको उपचार खोजि गर्नुपर्ने औल्याइएको बेला बाँकेमा साउन दोस्रोसाता फेरी कोरोना कहर बल्झियो ।

बाँकेमा बाँकेमा कोरोना संक्रमितको संख्या बढेपछि आइसोलेसन भरिभराउ भएका छन् । नयाँ संक्रमितलाई अन्य जिल्लामा लैजान थालिएको छ । जिल्लामा हालसम्म हालसम्म तीन जनाको मृत्यु भइसकेको छ भने ६ सय ५७ संक्रमित भएका छन् । ती मध्ये २ सय ४९ जना उपचार भइरहेका छन् । ४ सय ५ जना निको भएर घर फर्किएका छन् ।

पछिल्लो एकहप्ता संक्रमितको संख्या ह्वात्तै बढेको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गले भने,–‘खजुरास्थित आइसोलेसन भरिएपछि केहीलाई दाङ्ग पठाएका छौं ।’ मंगलवार नै ग्लोबल आईएमई बैंक नेपालगन्ज शाखाका २० सहित २६ जना संक्रमित थपिए । होटलदेखि अन्य बिभिन्न ठाउँमा आइसोलेसन बनाए पनि संक्रमितको संख्या बढ्दै गएपछि थेग्नै मुस्किल भएको छ ।

बाँकेमा संक्रमणको दर बढ्दै गएपछि एकहप्ता भन्दा बढि समयदेखि लगाइएको सिल हटाउने निर्णय गरिएको छ । नेपालगन्जमा लगाइएको सिल बुधवारबाट हटाइने छ भने निषेधाज्ञा भने शनिवारसम्म यथावत राखिने छ । यो बाहेक बाँकेको आर्थिक गतिविधि चलायमान बनाउने प्रमुख जिल्ला अधिकारी राम बलहादुर कुरुम्बाङ्ग नेतृत्वको जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकको निर्णयको स्वागत गर्दै सामाजिक सन्जालमा लेख्नेको कमी छैन ।

धेरै दिनपछि अर्थतन्त्र ब्यूँतिने आशा पलाएको बताउँछन्, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी । उनी भन्छन्–‘बर्बादी झेलेका व्यवसायीले आशाको किरण देखे जस्तो भयो ।’

आर्थिक गतिविधि चलायमान बनाउँदै गर्दा बाँकेमा बढ्दै गएको कोरोना कहरलाई नजरअन्दाज गर्दा ठूलो मुल्य चुकाउने तर्फपनि ध्यान दिनुपर्नेछ ।

यसअघिका लकडाउन उल्लघंन गर्दाको परिणाम यतिबेला बाँकेमा समुदायस्तरमा कोरोना फैलिएको कुरालाई हेक्का राख्नुपर्छ । सायद यही बिचार गरेर जिल्ला प्रशासन कार्यालयले आर्थिक गतिविधि चलायमान बनाउँदा अपनाउनुपर्ने सावधानीका सर्तलाई लिपिबद्ध गरी सूचना प्रकाशित गरेको छ । त्यसको अक्षरंस पालना गरी कोरोना कहरकाबीच पनि आर्थिक गतिविधि चलायमान बनाउने निर्णयलाई अवसरका रुपमा उपयोग गर्ने जिम्मेवारी निजीक्षेत्र र सर्वसाधारणमा आएको छ ।

त्यसैले निजीक्षेत्रको छातासंगठन नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव ओली भन्छन्–‘भोलि २८ गते देखी पूर्ण सावधानीका साथ केही व्यवसाय संचालन गर्न खुकुलो गरिदै छ । बिश्व स्वास्थ्य संगठनको सुरक्षा सावधानी पूर्ण रुपमापालना गरी गर्नु पर्ने छ । सो को अनुगमन कड़ाईका साथ गरिने र लापरवाही गरेको पाइयमा कारबाही गरिने कुरा छ । कृपया मास्क, सेनिटाइजर र भौतिक दूरी कायम गरी ब्याबसाय संचालन गरौ नियम हाम्रो लागी नै हो । धन्यबाद ।’

प्रकाशित मितिः     २७ श्रावण २०७७, मंगलवार २१:०४  |