भोलिबाट बाँकेमा बैंक खुल्ने, कर्मचारी र सेवाग्राहीलाई कोरोनाबाट जोगाउने चुनौती


बाँके २८ साउन :  बाँकेमा भोलिदेखि बैंक तथा वित्तीय संस्था सन्चालनमा आउने भएका छन् ।

साउन १८ गतेदेखि लागु भएको निषेधाज्ञाका कारण यहाँका बैैंकहरु बन्द थिए ।

एटिएम बाहेकका सेवा बन्द रहेकोमा जिल्ला कोभिड संकट व्यवस्थापन समितिको मंगलवार बसेको बैठकले अन्य सेवा सुचारु गराउने निर्णय गर्ने क्रममा बैंक पनि खुल्ने निर्णय गरेको हो ।

समितिले गरेको निर्णयको घ नम्बर बुँदामा ‘बैंक तथा वित्तीय संस्थाको हकमा भोली अर्थात बुधवार स्वास्थ्य सुरक्षा सावधानीको प्रबन्ध गरी श्रावन २९ गतेदेखि सेवा सुचारु गर्ने’ उल्लेख छ ।

नेपाल राष्ट्र बैंकले समेत सीमित कर्मचारी र स्थानीय प्रशासनको निर्णलयलाई आधार मानेर बैंक सन्चालन गर्न निर्देशन दिएकाले बाँकेमा भोलिदेखि बैंक सन्चालन हुने निश्चित भएको छ ।

तर कोरोना संक्रमणको दर पहिले जस्तै रहेकाले बैंकका कर्मचारी र सेवाग्राही भने त्रसित छन् । नेपालगन्ज र त्रिभुवनचोकमा शाखा रहेको ग्लोबल आइएमई बैंका २० जना कर्मचारीलाई संक्रमण देखिएपछि यो त्रासबाट बैंक तथा वित्तीय संस्था सबैभन्दा धेरै प्रभावित छन् ।

एउटा बैंकका प्रबन्धकले भने,–‘सेवा शुरु त गर्ने भनियो तर कर्मचारी र सेवाग्राहीलाई कसरी जोगाउने हो ?’ उनी लगायत सबै जसो बैंकले कार्यालयभित्र स्वास्थ्य सावधानी अपनाउने गरेका छन् ।

तर त्यो कार्यालय भित्र मात्र सीमित हुने भएकाले बाहिर भने भिडभाड देखिने गरेको छ । त्यसले कोरोना संक्रमणलाई बढाउने अवसर दिएको छ ।

प्रकाशित मितिः     २८ श्रावण २०७७, बुधबार १५:१०  |