नेपालगन्ज २८ साउन : बाँके र बर्दियाको सिटी एरियामा माइक्रो बस सन्चालनमा अग्रणी संस्था बागेश्वरी यातायात प्रालिले आगामी शनिवारबाट प्रोटोकल पालना गरी आफ्ना बस सन्चालन गर्ने भएको छ ।
जिल्ला कोभिड संकट व्यवस्थापन समिति बाँकेको मंगलवार बसेको बैठकले जिल्ला भित्र सन्चालन हुने निजी तथा सार्वजनिक सवारीसाधनहरु श्रावण ३१ गते अर्थात शनिवारदेखि जोरबिजोर नम्बरका आधारमा सन्चालन गर्न दिने निर्णय गरेको थियो ।
सोही निर्णयका आधारमा बस सन्चालनको तयारी गरिरहेको बागेश्वरी यातायात प्रालिका अध्यक्ष मनप्रसाद आचार्यले बताए । उनका अनुसार बाँके बाहेक बर्दियाको स्थानीय प्रशासनसंग समेत समन्वय गरेर दुबै ठाउँको पूर्वनिर्धारित रुटमा बस चलाइने छ ।
‘बाँके र बर्दियाको रुटलाई हामीले सिटी रुट मान्दै आएका छौं । यि दुबै जिल्लालाई सहज हुने गरी बस चलाउँछौं । यसका लागि समन्वय गर्ने काम भइरहेको छ ।’ अर्थपेजसंग कुराकानी गर्दै अध्यक्ष आचार्यले भने–‘बस सन्चालनको तयारी पुरा भएको छ ।’
सिटी एरियामा बागेश्वरी यातायात प्रालिका बहुसंख्या माइक्रो बस एवं अन्य भ्यानहरु सन्चालन हुँदै आएका छन् । उक्त प्रालिले सय वटासम्म बस नेपालगन्ज–कोहलपुर हुँदै बर्दियाको कतरनिया, नेपालगन्ज–कोहलपुर हुँदै शम्सेरगन्ज, नेपालगन्ज–गुलरिया, कोहलपुरदेखि चिसापानीसम्म गाडी सन्चालन गर्दै आएको छ ।
तर लकडाउनका कारण यतिबेला ती सवारीसाधन ठप्प छन् । लकडाउन खुकुलो र सरकारीले अनुमति दिएपछि केही दिन सार्वजनिक सवारी चलेपनि बाँकेमा फेरी संक्रमित फेलापरेपछि गाडी घरमै थन्किएका थिए ।
‘हामीले यात्रुदेखि कर्मचारीसम्मले अपनाउनुपर्ने सावधानीलाई ध्यान दिएका छौं । स्यानिटाइजदेखि सरसफाईमा सम्झौता गरेका छैनौ । त्यो सबै व्यवस्था हुन्छ ।’ अध्यक्ष आचार्यले भने–‘यात्रुले कुनै संकोच मान्नुपर्ने अवस्था छैन ।’
यात्रुलाई कोचाकोच र भिडभाड गरेर नचढाउने र चढ्न नहुने गरी व्यवस्था मिलाएको उनको दावी छ ।