घुस सहित पक्राउ परेका घरेलु कार्यालय बाँकेका अधिकृत बिरुद्ध यस्तो छ आरोप-पत्र


नेपालगन्ज ३० साउन :  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घरेलु तथा साना उद्योग कार्यालय बाँकेका अधिकृत हुकुम बहादुर ओली बिरुद्ध आरोपपत्र दायर गरेको छ । घुस सहित पक्राउ परेका ओली बिरुद्ध साउन २५ गते आरोप पत्र दायर गरिएको हो । यस्तो छ, आरोप-पत्र,-

घरेलु तथा साना उद्योग कार्यालय, नेपालगञ्ज बाँकेका उद्योग अधिकृत (सातौं तह)  हुकुम बहादुर ओलीले ठेक्का पट्टाको अनुमति-पत्र (लाइसेन्स) बनाईदिने कार्यमा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिई गएको टोलीले निज हुकुम बहादुर ओलीलाई सेवाग्राहीबाट रु. ९६,३००।– (छयानब्बे हजार तीन सय) घुस/रिसवत लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको सिलसिलामा घरेलु तथा साना उद्योग कार्यालय, नेपालगञ्ज, बाँकेका उद्योग अधिकृत (अधिकृत सातौं) हुकुम बहादुर ओलीले सेवाग्राहीले पेश गरेका कागजातहरु पुरा भएका छैनन् बाँकी रहेका कागजातहरु पेश नगरे काम नहुने डरत्रास देखाई बाँकी रहेका मेशिन/उपकरण किनेका कागजातहरुसमेत निज हुकुम बहादुर ओली आफैले बनाईदिने आशा देखाई उद्योग दर्ताको प्रमाणपत्र उपलब्ध गराउने बहानामा रु.९६,३००।–घुस/रिसवत लिई भ्रष्टाचार गरेको पुष्टि हुन आएकोले निज हुकुम बहादुर ओलीले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर भएकोले निजलाई बिगो रु.९६,३००।– (छयानब्वे हजार तीन सय रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ग) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।


प्रवक्ता
तारानाथ अधिकारी

प्रकाशित मितिः     8:48:25 PM  |