नेपालगञ्ज, साउन ३१ । नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणाले कोरोना संक्रमण भई आईसोलेसनमा उपचार गराइरहेकालाई प्रत्यक्ष भेट गरि स्वास्थ्यलाभको कामना गरेका छन् ।
आईसोलेसनमा उपचाररत ब्यक्तिहरुको मनोबल उच्च बनाउन र उनीहरुलाई स्वास्थ्यलाभको कामना गर्न नेपालगञ्ज उप–महानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्द सहित नगर प्रमुख राणा शनिबार जिल्लामा सञ्चालित आईसोलेसनमा पुगे ।
नगर प्रमुख राणाले आईसोलेसनमा बसिरहेकाहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिदै उनीहरुको खाने बस्ने ब्यवस्था तथा सेवा सुविधा बारे जानकारी लिए ।
खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा सञ्चालित आईसोलेसनमा नगर प्रमुख राणालाई उप–महानगरपालिकाका प्रबक्ता प्रमोद रिजाल, बरिष्ठ गायक तथा सञ्चारकर्मी कमल विके निर्मोही लगायतले आफुहरुको ब्यवस्थापन राम्रो भएको बताए ।
सिटी प्यालेसमा सञ्चालित आईसोलेसनमा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ, उपमहानगरपालिकाका लेखा अधिकृत राजन केसी, पत्रकार खगेन्द्र दाहाल लगायतसँग नगर प्रमुख राणाले छलफल गरे ।
नगरप्रमुख राणा सहितको टोलीले शनिबार नै गनापुर खुल्ला कारागार र नेपालगञ्जस्थित एनआईडिसी तथा डेन्टल अस्पतालमा सञ्चालन गरिएको आईसोलेसनमा बस्दै आउनुभएका ब्यक्तिहरुसँग प्रत्यक्ष भेट गरि स्वास्थ्यलाभको कामना गरे ।
स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्दले संक्रमित ब्यक्तिहरुसँग टोलीले भौतिक दुरी कायम राख्दै स्वास्थ्य सुरक्षाका मापदण्ड पुरा गरी छलफल गरेको बताए ।