कपुरकोटमा विषादीको परीक्षण गर्न प्रयोगशाला निर्माण


सल्यान- कर्णाली प्रदेशको प्रवेशद्वार सल्यानको कपुरकोटमा विषादीको परीक्षण गर्न प्रयोगशाला निर्माण भएको छ । कर्णाली प्रदेश सरकारको सहयोगमा कृषि उपज बजार केन्द्र कपुरकोट मार्फत प्रयोगशाला निर्माण गरिएको हो ।

अव यसै आर्थिक वर्षमा विषादी परीक्षणका लागि आवश्यक उपकरणहरु सहित कर्मचारीको ब्यवस्था गरिने कर्णाली प्रदेश सरकारका भुमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले बताइन् ।

बाहिरबाट आउने तरकारी फलफूल, मासु लगायतका खाद्य वस्तुमा विषादीको परीक्षण गर्नका लागि प्रयोगशाला निर्माण गरिएको हो । विषादी प्रयोग भएका वस्तु कर्णालीमा भित्रन नदिने र अर्गानीक प्रदेश निर्माण गर्ने उद्देश्य अनुरुप प्रयोगशाला निर्माण गरिएको मन्त्री केसीको भनाइ छ ।

प्रयोगशाला अवलोकनका लागि कपुरकोट आएकी मन्त्री केसीलाई गाउँपालिका राष्ट्रिय महासंघ कर्णालीका अध्यक्ष तथा कपुरकोट गाउँपालिकाका प्रमुख भिम बहादुर सेनले सबै प्रकारको विषादी परीक्षण हुने गरि प्रयोगशालालाई प्रविधियुक्त बनाउन आग्रह गरे । उनले प्रयोगशालाको ब्यवस्थापन र निरन्नतरताका लागि पर्याप्त बजेट विनियोजन गर्नुपर्ने बताए ।


कपुरकोटमा शित भण्डार निर्माण हुने

यसैवीच कपुरकोटमा शित भण्डार निर्माणका लागि यसै वर्षदेखी काम अगाडी बढाउने समझदारी भएको छ । मन्त्री केसी र गाउँपालिका अध्यक्ष सेनवीच कपुरकोटमा तत्काल ५० लाख रुपैयाँ बजेट मार्फत शित भण्डारको लागि काम अगाडी बढाउने विषयमा छलफल भएको हो । कृषिलाई ब्यवशायीकरण गराउन शित भण्डार कोशेढुंगा सावित हुने विश्वास मन्त्री केसीको छ ।

उनले जिल्ला कृषि सेवा कार्यालय सल्यानलाई कपुरकोट गाउँपालिका संग समन्वय गरेर शीत भण्डारको कार्य अगाडि बढाउन निर्देशन गरिन् । गाउँपालिका अध्यक्ष सेनले कपुरकोट क्षेत्र तरकारि तथा फलफुलको लागि पकेट क्षेत्र भएकाले प्रदेश सरकारले थप विशेष कार्यक्रम ल्याउनुपर्ने बताएका छन् । मन्त्री केसीलाई सेनले सहकारी भवन निर्माण, कृषिको यान्त्रीकिकरण जस्ता कार्यक्रममा लगानी गर्न आग्रह गरेका थिए ।

मन्त्री केसीले कपुरकोटमा निर्माण भएको कृषि उपज संकलन केन्द्रको पनि अवलोकन गरेकी छिन् । प्रदेश सरकारको अनुदान सहयोगमा ३ कोठे संकलन केन्द्र निर्माण गरिएको कृषि उपज बजार केन्द्र कपुरकोटका सचिव तिलक शर्माले बताए । आफुहरुले मन्त्रीसंग कपुरकोटलाई कृषि जोनको रुपमा विकास गर्नुपर्ने, कृषि एम्बुलेन्स सञ्चालनका लागि सहयोग गर्नुपर्ने जस्ता माग राखेको उनले बताए ।

प्रकाशित मितिः     9:59:22 AM  |