बाँके/बर्दियाका बैंक तथा लद्युवित्तका कर्मचारीमा कोरोना देखियो, सावधानी अपनाउँ


बाँके १ भदौ : बाँके / बर्दियाका बैंक तथा वित्तीय संस्थामा कोरोना कहरले त्यहाँ कार्यरत कर्मचारी र सेवाग्राही तनावमा छन् ।

बैंक बन्द गर्दा कुनै पनि काम चल्न नसक्ने अवस्था छ भने खोल्दा भिडभाड सहित कोरोना संक्रमण बढ्ने चिन्ता छ ।

नेपालगन्ज, कोहलपुर र बर्दियाको गुलरियाका बैंक र लद्यु वित्त संस्थाका कर्मचारीमा दैनिक जसो कोरोना संक्रमण पुष्टि हुन थालेको जनस्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार नेपालगन्जमा सबैभन्दा धेरै ग्लोबल आईएमई बैंकका कर्मचारीमा देखिएको छ ।

त्रिभुवनचोक र पुष्पलालचोक शाखाका २० कर्मचारीमा कोरोना देखिएपछि उनीहरु आइसोलेसनमा छन् । ग्लोबल आईएमई
का कोहलपुरमा कर्मचारीमा समेत कोरोना पुष्टि भएको छ ।

निर्धन, उपकार मन्च जस्ता लद्युवित्त संस्थाका कर्मचारीमा समेत कोरोना देखिएको छ ।

अत्यावश्यक कामका लागि बैंक नगई सुख छैन । तर बैंक जादा कोरोना सर्ने तनाव यतिबेला कर्मचारीदेखि सेवाग्राहीसम्मलाई छ । अझ बैंकमा लाग्ने लामो लाइन र जथाभावी भिडले जोखिम बढाएको छ ।

बैंकले भित्र सामाजिक दुरी र स्वास्थ्य प्रोटोकल अपनाए पनि बाहिरको भिडभाड भने अनियन्त्रित देखिन्छ । बाहिरको भिड नियन्त्रण गर्न र व्यवस्थित गर्न चासो दिएको पाइदैन ।

स्वास्थ्य सावधानी अपनाएर सेवा लिन र दिन सके जोखिम घट्ने जनस्वास्थ्यका फोकल पर्सन श्रेष्ठ बताउँछन् ।

अत्यावश्यक बाहेकका काममा बैंक नगए र जानेकाले प्रविधिको प्रयोग गरिदिए बैंकमा भिडभाड कम हुने अपेक्षा गरिएको छ । त्यस्तै सामाजिक सुरक्षा भत्ताको व्यवस्थापनमा समेत सरोकारवाला निकायले ध्यान दिने हो भने बैंक ततथा वित्तीय संस्थामा हुने भिडभाड कम हुने अपेक्षा गरिएको छ ।

बाँकेमा पछिल्लो पटक दश दिन जति बैंक तथा वित्तीय संस्था बन्द गरिएको थियो । त्यसको असर स्थानीयलाई मात्र परेन ।

पश्चिमक्षेत्रको भुक्तानी प्रणालीलाई नै असर परेपछि पुन बैंक खोलिएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बागंले जानकारी दिएका छन् ।

पश्चिमको हरेक प्रकारको अन्र्तरसम्बन्ध बाँकेसंग भएकाले यहाँका बैंक बन्द गर्दा पश्चिमलाई नै असर पर्ने भएपछि बैंक खोल्नुको बिकल्प भएन ।

प्रकाशित मितिः     १ भाद्र २०७७, सोमबार ०८:१९  |