‘फाष्ट ट्रयाकबाट भएपनि भेरीमा सुविधायुक्त कोभिड अस्पताल बन्छ’–अध्यक्ष धिताल


नेपालगन्ज २ भदौ :  स्वास्थ्य मन्त्रालयल भेरी अस्पताललाई कोरोना बिशेष अस्पताल बनाउने निर्णय गरेसंगै त्यसको व्यवस्थापन तिव्ररुपमा भइरहेको अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले बताएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णय अनुसार सुशील कोईराला प्रखर क्यान्सर अस्पताल लाई कोभिड-१९ लेबल २ खारेज गरि भेरी अस्पताललाई लेबल २ अस्पताल घोषणा गरेको थियो । भेरीमा सूविधा सम्पन्न कोभिड अस्पताल बनाउने जिल्लास्थित सबै संयन्त्र लागिपरेको धिताल बताउँछन् ।

‘सरकारबाट प्राप्त हुने सहयोगसंगै स्थानीयस्तरमा के कसरी छिटो काम गर्न सकिन्छ भन्नेमै यतिबेला हामी लागिपरेका छौं ।’ धिताल भन्छन्–‘बजेट आउँदा र प्रकृयामा जानेबेलासम्म ढिला हुन्छ की भनेर सरोकारवाला निकायसंग सहयोगको अपील गरेका छौं ।’


भेरी अस्पतालमा कोरोना अस्पताल स्थापनाको लागि बाँकेका राष्ट्रसेवक कर्मचारीहरुले एक दिनको तलब जम्मा गर्ने निर्णय गरेका छन् । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बागंका अनुसार, उक्त रकम कोरोना बिशेष अस्पताल निर्माणमा खर्च गरिने छ ।

त्यस्तै २० वटा एसीका लागि नेपालगन्जका नर्सिङ्ग कलेजले प्रतिवद्धता जनाएका छन् भने चाँडै अक्सिजन प्लान्ट आउँदैछ । भेन्टिलेटर लगायतको सूविधाका लागि फास्टट्रयाकमा काम गर्ने आफुहरुको योजना रहेको धितालले बताए ।

उनले भने,–‘ यो अस्पताललाई अत्याधुनिक कोभिड अस्पताल बनाउनका लागि बाँके बर्दियाका मनकारी संस्थाहरूलाई हार्दिक अनुरोध गर्दछु । हाल सम्म ५० लाखको सहयोगको पुर्ण बचनबद्दता आएको जानकारी गराउदँछु । नगद हैन सामान सहयोगको अपेक्षा राखेका छौं ।’

प्रकाशित मितिः     9:31:24 AM  |