‘भिआईपी’को रोजाईमा हर्रे हिलस्टेसनको जग्गा !


नेपालगन्ज २ भदौ :  रत्नराजमार्गमा पर्ने सुर्खेत जिल्ला भेरी गंगा नगरपालिका–४ हर्रेमा नेपालगन्जका ‘भिआईपी’ले जग्गा किनेर छाडेका छन् ।

चिकित्सक, व्यवसायीदेखि वकिलसम्मलाई हर्रेको चिसो मौसमले लोभ्याएको छ । अहिले पनि जग्गाको खोजिमा हर्रे पुग्नेको कमी छैन ।

स्थानीय समाजसेवी एवं शिक्षक महेन्द्र डाँगी भन्छन्–‘अहिले होइन पहिल्यैदेखि हर्रेमा जग्गा किन्न रुची राख्ने गरेको पाइन्छ । पछिल्लो समय भने अलि धेरे बढेको छ ।’

हर्रे ! नाम सुन्ने वित्तिकै चिसो हावा, शुन्दर ठूला–ठूला पहाड अनि हरियो तरकारी र फलफुलको सम्झना आउँछ । रत्नराजमार्ग हुँदै यात्रा गर्नेहरु जोकोहीले एकपटक हर्रेको मनोरम दृश्यमा लोभिएकै हुन्छ ।

तरकारी किन्नेदेखि फलफुलको स्वाद लिनेको उस्तै भिड देख्न पाइन्छ । नेपालगन्जदेखि झण्डै ६५ किलोमिटरको उत्तरमा पर्ने हर्रे सबैको मन लोभ्याउने हिल स्टेसन हो ।

नेपालगन्जको चर्को गर्मीलाई बिर्साउने यतिका राम्रो हिलस्टेसन सायदै अन्त कतै होला ? ‘उता छिन्चुको मौसम अनि यता बबईको मौसम र हर्रेको मौसम नियाल्नु भयो भने ठूलो अन्तर पाउँनुहुन्छ ।

एकप्रकारले भन्ने हो भने हर्रेमा आउनेले हिमालमा गएको महसुस गर्न पाउँछ ।’– शिक्षक डाँगी भन्छन्–‘हाम्रै वरीपरी चिसो हावा र बादलको घुम्टोले पहाडलाई ढाकेको हर्रे बाहेक अन्त देख्न पाइदैन ।’

प्रकृतिले दिएको बरदानको महत्व बुझेरै धेरैले जग्गा किनिरहेका छन् ।

भविष्यमा पर्यटनको विकासका क्रममा होटल एवं रेष्टुरेन्ट खोल्नका लागि मात्र होइन घर बनाएर हर्रेको चिसो मौसममा आनन्दले जीवन बिताउनका लागि जग्गा किन्नेका कमी छैन ।

यतिबेला हर्रेमा राजमार्गको छेउको जग्गा रु ५ लाख मिटरसम्ममा विक्री भइरहेको छ । भित्री जग्गा भने रु १२ लाख भन्दा बढि छ । जग्गाको मूल्य धेरै भए पनि किन्न आउनेको कमी छैन ।

प्राकृतिकरुपमा शुन्दर हर्रेमा पूर्वाधार विकासको भने अभाव छ । भ्यू टावर, मन्दिर र त्यहाँसम्म पुग्न सडक निर्माणको आवाज पहिलेदेखि नै उठ्दै आएको छ । तर तीन तहका सरकार बन्दासम्म कसैले चासो दिएको पाइदैन ।

शिक्षक डाँगी भन्छन्–‘राजमार्ग छेउमै भएपनि अन्य केही पूर्वाधारको विकास गर्ने हो भने सुनमा सुगन्ध हुन्थ्यो ।’ होमस्टे लगायतका पर्यटन पूर्वाधार विकासका लागि स्थानीयले उठाउँदै आएको आवाज सुन्ने हो भने हर्रे पश्चिमकै उत्कृष्ट हिलस्टेसन बन्ने निश्चित छ ।

हर्रेमा २०६२ सालमा २ रोपनी जग्गा किनेका नेपालगन्जका अग्रज पत्रकार डक्ट धिताल भन्छन्–‘भौगोलिकरुपमा शुन्दर ठाउँ देखेर जग्गा किनेका हौं । भविष्यमा अझ राम्रो हुने आशा गरेका छौं ।’

 

प्रकाशित मितिः     २ भाद्र २०७७, मंगलवार ०८:५२  |