बैंकको जागिरमै फर्किए पूर्व बेलायती अर्थमन्त्री जाभिद


न्यूयोर्क । बेलायतका पूर्व अर्थमन्त्री साजिद जाभिदले अमेरिकी बहुराष्ट्रिय लगानी बैंक जेपी मोर्गनमा काम गर्न थालेका छन् । फेब्रुअरीमा प्रधानमन्त्रीका प्रमुख आर्थिक सल्लाहकारसँगको शक्ति संघर्षपछि पदबाट राजिनामा दिएका जाभिद पुनः जेपी मोर्गनमा आबद्ध भएका हुन् ।

उनी यूरोप, मध्यपूर्व र अफ्रिकाका लागि बैंकको सल्लाहकार परिषद्का वरिष्ठ सल्लाहकार हुन् । यस क्षेत्रमा कार्यरत बैंकका कार्यकारीहरुलाई जाभिदले सल्लाह सुझाव दिनेछन् ।

यद्यपि, बेलायती अर्थमन्त्री भएको बेलामा प्राप्त संवेदनशील सूचनाहरु चुहाउन भने उनलाई प्रतिबन्ध लगाइएको छ । यस कामको लागि बेलायतको एड्भाइजरी कमिटि अन बिजनेश अपोइन्टमेन्ट्स एसीओबीएले पनि अनुमति दिएको छ ।

एसीओबीएले पूर्व मन्त्री तथा शीर्ष निजामति कर्मचारीहरुले पदीय दायित्व पूरा भएपछि खाने जागिरको निगरानी गर्दछ । मन्त्रालय छाडेको २ वर्षभित्र जागिर खानको लागि मन्त्रीहरुले समितिबाट अनुमति दिनु पर्नेछ ।

बैंकले उनको तलब र कार्य समयबारे केही पनि खुलाएको छैन । तर यस जागिरले संसदको सदस्यको रुपमा उनको भुमिकामा खलल नपुर्‍याउने जेपी मोर्गनले बताएको छ । जाभिदले सन् १९९०को दशकमा बैंकमा काम गरेका थिए । तर दोयचे बैंकमा जागिर खानको लागि उनले जेपी मोर्गन छाडेका थिए । एजेन्सी

प्रकाशित मितिः     ३ भाद्र २०७७, बुधबार १५:४६  |