सहुलियत कर्जाका लागि सम्पर्क गर्न अपील, बैंकसंग घरेलु महासंघ बाँकेले समन्वय गरिदिने


नेपालगन्ज ३ भदौ : घरेलु तथा साना उद्यमीका लागि नेपाल राष्ट्र बैंकले बिभिन्न सहुलियत एवं सरल कर्जाको व्यवस्था गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिदै आएको छ ।

तर उद्यमी स्वयं र बैंकका कारण पनि धेरैले यस्तो सहुलियतपूर्ण कर्जा पाउन नसकिरहेका बेला बाँकेमा घरेलु तथा साना उद्योग महासंघले कर्जाका लागि बैंकसंग समन्वय गरिदिने भएको छ ।

यसका लागि जिल्लाभरका उद्यमीलाई कार्यक्रम बनाएर ल्याउन अपील गरेको छ ।

सरकारले नै घोषणा गरेका सहुलियत र बिना धितो सहितको कर्जालाई साच्चिकै उद्यमीको पहुँचमा पुर्याउनका लागि बाँकेका बिभिन्न बैंक तथा वित्तीय संस्थासंग महासंघ आफैले समन्वय गर्न लागेको अध्यक्ष मधु खड्काले बताइन ।

उनले भनिन्–‘घोषणा भएका नीति नियम पनि लक्षित बर्गको तहसम्म पुगेको अवस्था छैन ।

अब बाँकेको त्यस्तो समस्याको अन्त्य गर्नका लागि महासंघले प्रभावकारी भूमिका खेल्छ ।’

सहुलियतपूर्ण कर्जाबाट कुने पनि उद्यमी बन्चित नहोस् भनेर आफुहरुले अभियान नै बनाएर लैजान लागेको महासंघका महासचिव जिआर भुषाल बताउँछन् ।

उनी भन्छन्–‘एकीकृत कर्जा एव. वीमाको पहुँचमा घरेलु तथा साना उद्यमीलाई ल्याउनका लागि लागिपर्छौ ।’ उनले उद्यमीलाई बैंक र वीमा हाउगुजी जस्तो हुने अवस्था अझै रहेको बताउँदै यसको अन्त्य गरिने बताए ।

महासंघकी अध्यक्ष खड्काले कोभिड १९ ले प्रभावित भएका लघु, घरेलु तथा साना उद्योगहरुलाई मध्यनजर गर्दै बिना धितो महिला उद्यमी कर्जा र सहुलियत दरमा धितो राखेर महिला पुरुष दुवैलाई कर्जा दिने गरी बैंकसंग समन्वय गरिएको भन्दै कार्यक्रम बनाएर ल्याउन अपील गरेकी छन् ।

 

प्रकाशित मितिः     ३ भाद्र २०७७, बुधबार २१:२०  |