प्रदेश स्थापना दिवशमा कर्णालीका मुख्यमन्त्रीको शुभकामना सन्देश


नेपालगन्ज ४ भदौ :  कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले प्रदेश स्थापना दिवस तथा सहिद दिवस–२०७७ को शुभकामना दिएका छन् ।

कर्णाली प्रदेश स्थापना दिवस तथा सहिद दिवस–२०७७ को अवसरमा स्वदेश तथा विदेशमा रहेका समस्त कर्णालीवासी दाजुभाई तथा दिदीबहिनीहरुमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री शाहीले प्रदेश प्राप्तिका लागि आफ्नो जीवनको पर्वाह नगरी आन्दोलनको अग्रमोर्चामा लड्दा लड्दै सहादत प्राप्त गर्ने महान सहिदहरुप्रति उच्च सम्मानसहित भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् ।

आन्दोलनमा घाइते भएका योद्धाहरुप्रति उच्च सम्मानसहित स्वास्थ्यलाभको कामना एवं आन्दोलनमा सरिक भएका आम जनसमुदायप्रति मुख्यमन्त्री शाहीले हार्दिक आभार व्यक्त गरेका छन्।

संघीय व्यवस्था स्थापनाका लागि दशकौं लामो समयदेखि सशस्त्र एवं निशस्त्ररुपमा नेपाली जनताले गरेका बलिदानीपूर्ण संघर्षहरुको पृष्ठभूमिमा कर्णाली प्रदेशवासी जनताले आफ्नो प्रदेश प्राप्तिका लागि समेत वलिदानीपूर्ण संघर्ष गर्नुपरेको तथ्य सवैलाई जगजाहेर रहेको बताउँदै मुख्यमन्त्रीले संघीय संरचना निर्माणका क्रममा हालको कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलाई एउटै प्रदेशको रुपमा कायम गरिएको विरोध तथा कर्णाली प्रदेशवासीको लागि छुट्टै प्रदेश स्थापना गरिनुपर्ने मागसहित १३ दिनसम्म चलेको जनआन्दोलन र ४ जना वीर सहिदहरुको वलिदानपश्चात् २०७२ भाद्र ४ गते आजकै दिन कर्णाली प्रदेश स्थापना भएको स्मरण गरेका छन् ।

प्रदेश प्राप्तिका लागि वलिदान गर्नुहुने महान सहिदहरुको सम्झना एवं सम्मान र प्रदेश प्राप्तिको खुशियाली मनाउन कर्णाली प्रदेश सरकारले आजकै दिनलाई प्रदेश स्थापना दिवस तथा सहिद दिवसका रुपमा मनाउने र कर्णाली प्रदेशभर सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

कोरोना भाइरस ९कोभिड– १९० ले सिर्जना गरेको परिस्थितिले गर्दा यस ऐतिहासिक दिनलाई व्यापक हर्षोल्लासका साथ मनाउन सक्ने अवस्था छैन । त्यसैले भौतिक दूरी कायम राख्दै सरकारी कार्यालय तथा आ–आफ्नो घरमा दीपावली लगायतका कार्यक्रमहरु गरी यो दिवस मनाउन मुख्यमन्त्री शाहीले आग्रह गरेका छन् ।

प्रदेश प्राप्तिका लागि आन्दोलनका क्रममा व्यक्त भएको उत्साह र सपना पूरा गर्न प्रदेश सरकार प्रतिवद्धताका साथ लागिरहेको विश्वास दिलाउन दिएका छन् ।

भौगोलिक विकटता, आर्थिक विपन्नता, सामाजिक पछौटेपन र भौतिक विकासमा पछाडि रहेको यस प्रदेशलाई तीव्र गतिको सामाजिक, आर्थिक र भौतिक विकास गरि अगाडि ल्याउन ‘समृद्ध कर्णाली, सुखारी कर्णालीवासी’को नाराका साथ प्रदेश सरकार अगाडि बढेको बताउँदै मुख्यमन्त्री शाहीले प्रदेश स्थापना दिवस तथा सहिद दिवसको यो गौरवमय अवसरमा प्रदेश सरकारको यो अभियानमा सबै तह र तप्काको सहयोगका लागि पनि आह्वान गरेका छन् ।

विश्व मानवजातिका अगाडि नयाँ चुनौतिका रुपमा खडा भएको कोरोना संकटले विकास र समृद्धिको अभियानमा केही अवरोध उत्पन्न गरेको बताउँदै मुख्यमन्त्री शाहीले विकास र समृद्धिको दीर्घकालीन अभियानबाट विचलित नभई कोभिड– १९ ले निम्त्याएको तात्कालिक समस्या सामाधान गर्नतर्फ पनि प्रदेश सरकार गम्भीरताका साथ लागिरहेको जनाएका छन् ।

प्रकाशित मितिः     ४ भाद्र २०७७, बिहीबार ०८:२३  |