नेपालगन्ज विमानस्थल विस्तारका लागि चालु आवमा जग्गा खरीद गरिने


नेपालगन्ज ४ भदौ :  गुरुयोजना अनुसार नेपालगञ्ज विमानस्थलको निर्माणकार्य तीव्र पारिएको छ ।

राँझा विमानस्थलबाट विमान उडान शुरु भएको चार दशकपछि गुरुयोजना अन्तर्गत सुधारको काम भइरहेको हो ।

राष्ट्रिय योजना आयोगका अनुसार चालू आर्थिक वर्ष २०७७/७८ भित्र गुरुयोजना अनुसारको कामका लागि जग्गा खरीद गर्ने तयारी छ ।

यसका लागि आवश्यक बजेट समेत विनियोजन गरिएको छ ।

आयोगको वार्षिक कार्यक्रममा उल्लेख भएको कार्यक्रम अन्र्तगत विराटनगर र नेपालगन्ज विमानस्थल विस्तारका लागि जग्गा खरीद गरिन लागेको हो ।

राँझा विमानस्थल विस्तारका लागि जग्गाको मुआब्जामा भने विवाद कायमै छ । यसअघिको जग्गाको मुआब्जाको विवाद यथावत रहेको छ ।

विसं २०१७ मा खजुरामा स्थापना गरिएको विमानस्थललाई विसं २०३० मा राँझामा स्थानान्तरण गरिएको थियो । जग्गा अधिग्रहण गरेर पूर्वाधार निर्माण गरेर ३१ असार २०३७ देखि नेपालगञ्ज विमानस्थलमा सेवा शुरू भएको हो ।

तराईको पुरानो र व्यवस्थित नेपालगञ्ज विमानस्थलले अन्तरराष्ट्रिय मापदण्डमा पुग्न अझै दुई दशक कुर्नुपर्ने भएको छ ।

त्यसका लागि अहिलेबाटै काम शुरु भइसकेको छ । यतिबेला विमानस्थलको रनवे विस्तारको काम धमाधम भइरहेको विमानस्थल प्रमुख प्रेमनाथ ठाकुरले बताए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई नेपालगञ्ज आएर ठूला जेट विमान उडाउन मिल्ने गरी नेपालगञ्ज विमानस्थलको विकास र विस्तार गर्न निर्देशन दिइसकेका छन् ।

नागरिक उड्डयन प्राधिकरणले सार्वजनिक गरेको २० वर्षे गुरुयोजनामा यसको विकास र विस्तारका लागि सन् २०४० सम्म कुर्नुपर्नेछ ।

त्यत्ति बेलासम्म अहिलेको विमानस्थलको आकार झण्डै दोब्बर हुनेछ भने पूर्वाधार पनि त्यही अनुरुप थपिनेछन् ।

ठूला जेट विमान उड्नसक्ने महत्वकाँक्षी योजना छ ।

गुरुयोजनामा चार चरणमा विस्तार र निर्माणको काम सम्पन्न हुनेछ ।

लक्ष्यमा पुग्न जग्गा अधिग्रहणबाहेक रु १२ अर्ब ५० करोडको लागत लाग्ने अनुमान रहेको विमानस्थल प्रमुख ठाकुरले बताए ।

उनले योजनाअनुसार काम भइरहेको बताउँदै विमानस्थललाई सुधारको अभियानमा सबै लाग्नुपर्नेमा जोड दिए ।

सन् २०२३ सम्म सम्पन्न हुने पहिलो चरणका लागि झण्डै दुई अर्बको बजेट छ ।

पहिलो र दोस्रो चरणको काम शुरु भइसकेको छ । सन् २०३० सम्म सम्पन्न गर्ने दोस्रोचरणका लागि सबैभन्दा बढी बजेट साढे रु ६ अर्बको बजेट छ ।

त्यसैगरी सन् २०३५ मा सम्पन्न हुने तेस्रो चरणमा सवा दुई अर्बको बजेट छ ।

चौथो चरणमा पौने दुई अर्बको लागतमा सम्पन्न गर्ने लक्ष्य छ ।

दैनिक ४० सरदर उडान हुँदै आएको नेपालगञ्ज विमानस्थलमा झण्डै एक हजार १०० यात्रुलाई दैनिक सुविधा पुगेको छ ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलपछिको सबैभन्दा व्यस्त नेपालगञ्ज विमानस्थलका लागि नयाँ गुरुयोजनाअनुसार अगाडि बढ्दा १०० बिघा जग्गा थप आवश्यक पर्छ ।

हाल १६६ बिघा क्षेत्रफल रहेको नेपालगञ्ज विमानस्थलका लागि थप १०० बिघा जग्गा अधिग्रहण गरेपछि मात्र प्रस्तावित अन्तरराष्ट्रिय विमानस्थलका लागि जग्गा पर्याप्त हुनेछ । यसका लागि डुडुवा नालालाई ३०० मिटर टाढा सार्ने योजना बनाइएको छ ।

‘चार चरणमा काम सक्ने योजना छ,’ विमानस्थल प्रमुख ठाकुरले भने, “पहिलो चरण र दोस्रोचरणका काम अहिले धमाधम भइरहेका छन् ।”

रनवे विस्तार, टर्मिनल भवनलगायतका काम गर्न जग्गा अधिग्रहणको काम चाँडै शुरु हुने उहाँले बताउनुभयो ।

डिपिआरले दोस्रोचरणका लागि सन् २०२५ भित्र थप रू दुई अर्ब ८ करोडको लगानीमा विमानस्थल विस्तारदेखि पूर्वाधार निर्माणसम्मका योजना समेटेको छ ।

अन्तरराष्ट्रियस्तरको विमानस्थलका लागि डिपिआर अनुसार नै काम अगाडि बढाउँदा लामो समय सम्पूर्ण उडान बन्द गरेर काम गर्नुपर्ने हुनसक्छ ।

डिपिआर स्वीकृतिपछि सरकारसँग लगानी माग गरिनेछ ।

त्यसैगरी तेस्रो र चौथो चरणको काम भने झण्डै २० वर्षको लक्ष्यलाई प्रक्षेपण गरिएको छ ।

प्राधिकरणका अनुसार, तेस्रो चरणको कामले नेपालगञ्ज विमानस्थल अन्तरराष्ट्रियस्तरको बनेको देखिने छ ।

जसमा रु सात अर्ब ४० करोड खर्च हुने अनुमान छ ।

नयाँ योजना अनुसार, नेपालगञ्ज विमानस्थलको रनवे तीन सी क्याटोगरी अर्थात् एक हजार ५२४ मिटरबाट वृद्धि गरी फोर सी क्याटेगरीमा दुई हजार ४४५ मिटर लामो रनवे बनाइनेछ ।

त्यसो गर्दा हाल एटिआर विमान उडान गर्न मिल्ने उक्त विमानस्थलमा गुरुयोजना अनुसार काम भए आगामी दुई दशकभित्र एयरबस जस्ता ठूला जेट विमान पनि सहजै उडान गर्नसक्ने विमानस्थल तयार हुनेछ ।

हाल ६ वटा मात्र विमान अटाउने पार्किङमा नौ वटा ठूला ९साना ११० वटा विमान पार्किङ गर्न सकिनेछ । नेपालगञ्जबाट सबैभन्दा धेरै उडान काठमाडौँं हुन्छ ।

नेपाल एयरलाइन्स, बुद्ध, यतिलगायतका विमानले उडान भरिरहेका छन् ।

प्राधिकरणका अनुसार अहिले दैैनिक एक हजार ५०० जनाले हुम्लाको सिमकोट, मुगुको रारा, जुम्ला, बाजुरा, रूकुमलगायतका जिल्लामा उडान भर्दै आएका छन् ।

प्रकाशित मितिः     ४ भाद्र २०७७, बिहीबार ०८:५९  |