लकडाउन थपपछि कोहलपुरका मेयरको आग्रह


कोहलपुरमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण दैनिक बढ्दो क्रममा छ । समुदायस्तरमै कोरोना संक्रमण देखिएपछि हामीलाई थप चिन्तित बनाएको छ । यद्यपी अहिलेको समय चिन्तित हुने होइन सचेत, सजग हुँदै र उच्च मनोवलका साथ कोरोना संक्रमण थप फैलिन नदिन लाग्नुपर्ने बेला हो ।

सबैको सामुहिक प्रयासबाट मात्र महामारीको यो संकटबाट पार पाउन सकिन्छ भन्ने उदाहरण हाम्रै जिल्लाका अरु पालिकाको संकट व्यवस्थापनबाट पनि सिक्न जरुरी छ । नेपालगन्ज, नरैनापुर जस्ता ठाउँहरुले कोरोनाको भयावह अवस्था गुजारेका छन् । हामीले उनीहरुलाई समेत सम्झिएर धैर्यतापूर्वक कोरोना बिरुद्ध लड्नुपर्ने बेला आएको छ ।

संक्रमण रोक्नका लागि सर्बपक्षिय बैठकका आधारमा साउन ३२ गते भदौ ५ गतेसम्म लकडाउन गर्ने निर्णय गरेका थियौं । सोही निर्णयका आधारमा अत्यावश्यक बाहेक सम्पूर्ण सवारीसाधन सहित सरकारी एवं गैरसरकारी कार्यालय बन्द अवस्था छन् । हामीले घोषणा गरेको लकडाउनको निर्णय भोलि समाप्त हुँदैछ ।

तर यता संक्रमणको दर भने बढेको बढ्दै छ । बुधवार र बिहिवार मात्र धेरै संक्रमित देखा परेका छन् । उनीहरुका माध्यमबाट थप कोही संक्रमित भए की भएनन् सरोकारवाला निकाय मार्फत खोजि हुँदैछ ।

संक्रमणको दर बढेपछि बिहिवार फेरी बसेको बैठकले भदौ १० गतेसम्म कोहलपुरमा लकडाउन गर्ने निर्णय गरेको छ । यो लकडाउन कार्यान्वयनमा आमनागरिकले पूर्णरुपमा साथ दिनेमा म बिश्वस्त छु ।

अहिलेको विषम परिस्थितीको सामना गर्न हामी सबैले हातेमालो गर्नेपर्छ । यहाँहरुले अहिलेसम्म धैर्यतापूर्वक देखाउनुभएको कर्तव्यनिष्ठाप्रति म धन्यवाद दिन चाहान्छु र थप सहयोगको लागि पनि अनुरोध गर्दछु ।

एउटा नगरको अभिभावक जनप्रतिनिधिको हैषियतमा म के भन्छु भने कोहलपुरलाई कोरोना कहरबाट जोगाउन अपनाउनुपर्ने उपायका लागि कुनै कसर बाँकी राखिने छैन । जे जे गर्नुपर्छ त्यो हामी गर्छौ ।

तर बिश्वभर फैलिएको कोरोना संक्रमण रोक्नका लागि बिकल्प थोरै छन् भन्ने हामीलाई थाहा छ । समुदायस्तरमा कोरोना फैलिन नदिनका लागि सामाजिक दुरी र स्वास्थ्य सावधानी अपनाउने नै हो भन्ने पुष्टि भइसकेको छ । बिकसित देशमा समेत कोरोना संक्रमण रोक्न लकडाउन गरिएको छ । स्

थानीय निकायलाई लकडाउन गरी आफ्नो पालिकालाई कोरोनाबाट जोगाउने दायित्व संघीय सरकार मार्फत सुम्पिएकाले कोहलपुरमा संक्रमण थप फैलिन नदिन हामीले त्यो बिकल्प प्रयोग गरेका हौं ।

पसल, व्यवसाय बन्द होस्, गरि खाने नगरबासीलाई दुःख होस् भन्ने कुराको कल्पना कहिल्यै गरेको छैन । कोरोना संक्रमण रोक्न लकडाउन गर्नै पर्ने भएका कारण यो बिकल्प रोजेका हौं । यसो गर्दा हाम्रो कोहलपुर कोरोनामुक्त हुन्छ भने किन नगर्ने ?

समस्या समाधान भए फेरी हामी नयाँ उत्साहका साथ काममा फर्कियौला । अहिले भने विनम्रतापूर्वक आग्रह गर्छु, धैर्यतापूर्वक नगरवासीहरु घरमै बसेर सहयोग गरिदिनुहोस् ।

कुराकानीमा आधारित

 

प्रकाशित मितिः     ४ भाद्र २०७७, बिहीबार १९:५४  |