भरियो प्रदेश अस्थायी राजधानीको कोरोना अस्पतालको आइसियु


बुटवल : प्रदेश ५ को अस्थायी राजधानी बुटवलकोे कोरोना विशेष (अस्थायी) अस्पतालको आईसियु बेड कोरोना संक्रमित बिरामीले भरिएका छन् ।

दैनिक रुपमा लक्षण सहितको कोरोनाका संक्रमित थपिएपछि अस्पतालमा रहेका १६ वटा बेड बिरामीले भरिएका हुन् । अस्पतालका मेसु डा। राजेन्द्र खनालका अनुसार १६ वटा बेडमा रहेका ८ जना बिरामीलाई अक्सिजन दिई उपचार गरिरहिएको छ भने २ जना बिरामी भेन्टिलेटरमा रहेका छन् ।

उक्त कोरोना अस्पताललाई लुम्बिनी प्रादेशिक अस्पतालले व्यवस्थापन गरिरहेको छ । कोरोना बिशेष अस्पतालको आइसोलेसनतर्फ पनि बिरामीको संख्या थपिने क्रम जारी छ । ३६ बेडको आइसोलेसन कक्षमा २१ जनाको उपचार भइरहेको छ । अर्कोतिर लुम्बिनी प्रादेशिक अस्पतालको मूल भवनमा रहेका ६ वटै आइसोलेसन बेडमा पनि बिरामी भरिएको डा। खनालले जानकारी दिए ।

लुम्बिनी प्रादेशिक अस्पतालसँगै प्रदेश ५ मा हाल कोरोना भाइरसका संक्रमितको उपचारको लागि भैरहवाको भीम अस्पताल भैरहवा, दाङ बेलझुण्डीमा रहेको कोरोना अस्पताल र बाँकेको खजुरा अस्पताल रहेका छन् । भीम अस्पतालले कोरोना संक्रमित बिरामी सबैलाई डिस्चार्ज गरेपछि अस्पतालले पुनः नियमित सेवा शुरु गरिसकेको छ । त्यहाँ कोरोनाका बिरामी भर्ना छैनन् ।

बुटवलमा लक्षण नदेखिएका संक्रमितहरुलाई सामुदायिक आइसोलेसन र होम आइसोलेसनमा राख्ने गरिएको छ । उनका अनुसार सामान्य लक्षण देखिएका कोरोनाका बिरामीहरुलाई कोरोना अस्पतालको आइसोलेसनमै राख्ने गरिएको छ । तर तत्काल थप उपचार गर्नुपर्ने गम्भीर प्रकृतिको लक्षण देखिएकालाई आइसियुमा भर्ना गर्ने गरिएको छ ।

प्रकाशित मितिः     ७ भाद्र २०७७, आईतवार ०७:४९  |