नेपालगन्ज ७ भदौ : पूर्वमन्त्री एवं बाँके क्षेत्र नंं. २ का संघीय सांसद मोहमद ईस्तियाक राई र नेपालगन्जका मेयर डा. धवल शम्सेर राणाबीच स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमको १ करोड ५० लाख रकम फ्रिज भएको विषयमा विवाद उत्पन्न भएको छ । सांसद राईले उपमहानगरपालिकाको कारण रकम फ्रिज भएको सार्वजनिक टिप्पणी गरेपछि मेयर राणाले बिज्ञप्ती मार्फत प्रष्टिकरण दिएका छन् ।
खास भएको के हो ?
गत असार १४ गते सांसद राईले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमबाट डेढ करोड रुपैयाँ भेरी अस्पताललाई उपलब्ध गराउने निर्णय गरेका थिए । भेरी अस्पताललाई उपलब्ध गराइने रकम भेन्टिलेटर र अन्य उपकरण जडानका लागि खर्चिने भनिएको थियो । कोभिडको बढ्दो संक्रमणका कारण भेरी अस्पतालमा थप सेवासुविधा आवश्यक देखिएकाले यस्तो निर्णय लिइएको सांसद राईले उतिबेला बताएका थिए ।
नेपालगन्ज र डुडुवाँ गाउँपालिकाका विभिन्न स्थानमा करबला, कब्रिस्तान, मदरसा, बाल सुधार गृह निर्माण तथा एम्बुलेन्स खरिदका लागि बनेका कार्यक्रमको काम का कारण अघि बढ्न सकेको थिएन। त्यसैले यि कार्यक्रमका लागि छुट्टयाइएको रकम संशोधित निर्णय अनुसार भेरी अस्पतालले दिने भनिएको थियो । हेर्नुहोस् निर्णय-
आर्थिक वर्षको अन्तिममा गरिएको निर्णय कार्यान्वयन भएन । बजेट फ्रिज भयो । सांसद राईले शनिवारर जमुनाहमा आयोजित एउटा सार्वजनिक कार्यक्रममा सोही विषय उठाए । उनले उपमहानगरपालिकाको कार्यशैलीका कारण रकम फ्रिज भएको बताए ।
सांसद राईको यस्तो भनाई आएको भोलिपल्टै अर्थात आईतवार मेयर राणाले बिज्ञप्ती मार्फत उक्त आरोपको खण्डन गरेका छन् । मेयर राणाले नेपालगञ्ज उप–महानगरपालिकाले निर्वाचन क्षेत्र नं. २ अन्तर्गत स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमको १ करोड ५० लाख रकम फ्रिज गराएको भन्ने आरोप विभिन्न संचार माध्यमबाट जानकारी हुन आएको भन्दै गम्भिर ध्यानाकषर्ण बताए ।
निर्णयकर्ता अर्थात सांसद राईले आर्थिकवर्षको अन्त्यमा योजना संशोधन गरेको पत्र पठाएका कारण प्रक्रिया नै सुरु गर्न नसकिएको उप–महानगरपालिकाले जनाएको छ । राणाले आईतबार विज्ञप्ती जारी गरि कुनैपनि प्रकारको भ्रममा नपर्न अनुरोध गरेका छन् ।
हेर्नुहोस् बिज्ञप्ती-
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको मिति २०७७ असार ७ गतेको पत्रानुसार विनियोजन भएको रकम मध्ये खर्च नभई बचत रहेको रकम असार १५ गतेभित्र कोभिड–१९ को रोकथाम, नियन्त्रण, निदान र उपचारमा खर्च गर्ने गरी निर्देशक समितिका सदस्यहरुको परामर्शमा संयोजकलाई जिम्मेवारी दिईएको राणाले जानकारी दिए ।
राणका अनुसार पत्र प्राप्त भएको एकसातापछि स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको निर्देशक समितिको बैठकले असार १४ गते योजनाको संशोधन गरि कोभिड–१९ को लागि आवश्यक पर्ने आईसोलेसनमा उपयोग हुने गरि भेन्टिलेटर र उपकरण भेरी अस्पताल नेपालगञ्जमा जडान गर्ने निर्णय गरेको पत्र जिल्ला समन्यय समितिबाट २०७७ असार १५ गते नेपालगन्ज उपमहानगरपालिकालाई प्राप्त भएको थियो । योजना संशोधन गर्दा उप–महानगरपालिकासँग कुनै समन्वय नगरिएको राणाले बताए ।
‘निर्देशक समितिले उप–महानगरपालिकाको कोभिड– १९ राहत कोष मार्फत भेरी अस्पतालमा भेन्टीलेटर खरिद गर्ने निर्णय गरेको अवस्थामा तत्काल उपकरण खरिद गर्न सकिने अवस्था हुँदाहुँदै समन्वय नगरि निर्णय भएपछि रकम फिर्ता भएको हो’–राणाद्वारा जारी विज्ञप्तीमा भनिएको छ,–कार्यक्रम अन्तर्गत नेपालगञ्ज उप–महानगरपालिकामा अन्य अधिकाँश योजना समयमै सम्पन्न भएका छन् ।
कार्य सम्पन्न भएका र सम्पूर्ण प्रक्रिया पुरा भएका तर विभिन्न कारणले रकम भुक्तानी हुन नसकेका दुईवटा योजनाको रकम उपमहानगरपालिकाले भुक्तानी गर्ने विषयमा सकारात्मक भएको छ ।
डेढ करेड फ्रिजको विषय मात्र होइन नेपालगन्जमा जडान भएका हाईमाष्ट लाईटका विषयमा समेत सांसद र मेयरबीच किचलो छ । बिज्ञप्तीमा मेयर राणाले नेपालगञ्ज उप–महानगरपालिकाको बोर्ड बैठकबाट सर्वसम्मत निर्णय भई नगरका विभिन्न स्थानमा हाइमाष्ट लाईट जडान कार्य भईरहेको अवस्थामा गरिएका अनर्गल टिकाटिप्पणी संघीय ब्यवस्थाको प्रतिकुल र केन्द्रीकृत शासनको मानसिकताको उपज भएको उपमहानगरपालिकाले दावी गरेको छ ।
भेरी अस्पताललाई सुविधा सम्पन्न बनाउने कार्यमा यस क्षेत्रका निर्वाचित सांसदबाट सहयोग हुनुलाई हृदयदेखि नै स्वागत गरेको बताउँदै नगर प्रमुख राणाले उप–महानगरपालिकासँग कुनै सहकार्य नगरी अन्तिम समयमा हचुवाका भरमा आफुखुशी योजना संशोधन गरीएको बताए ।
कार्यसम्पन्न गर्नुपर्ने दिनमा निर्णय गरेर पत्र पठाउने तर खर्च हुन नसकेको भन्दै उप–महानगरपालिकालाई दोष दिने कार्य भएका कारण कुनैपनि प्रकारको भ्रममा नपर्न सम्पूर्ण नगरबासी समक्ष हार्दिक अपिल गर्दै राणाले नेपालगञ्जको विकास निर्माणका लागि यस क्षेत्रका सांसद लगायत सबैसँग नियमित सहकार्य गरि अघि बढ्न उप–महानगरपालिका सदैब तयार रहेको सम्वद्ध सबैमा मेयर राणाले जानकारी दिएका छन् ।