नेपालगन्ज ८ भदौ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्र्तगतको नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानले नेपालगन्जमा कलेज खोल्ने भएको छ ।
पर्यटन तथा होटल व्यवस्थापन सम्बन्धी प्रतिष्ठान खोल्ने योजना अनुसार कलेज खोल्न लागिएको हो । परिस्थिती अनुकुल भए आगामी महिनाबाट पढाई शुरु गर्ने लक्ष्य रहेको छ ।
अब खोल्ने कलेजका लागि नेपालगन्ज उपमहानगरपालिकाले भवनको व्यवस्थापनको निर्णय गरेको छ ।
सोमवार मेयर धवल शम्सेर राणाको अध्यक्षतामा बसेको सरोकारवाला निकायको बैठकबाट जग्गाको बिभिन्न बिकल्पका बारेमा निर्णय भएको हो ।
नाटा बाँकेका अध्यक्ष श्रीराम सिग्देलका अनुसार बैठकले पूर्व नारी विकास समितिको भवन ६ महिनाका लागि दिने निर्णय गरेको छ ।
यस्तै अन्य विकल्पमा दुई वर्षका लागि महेन्द्र बहुमुखी क्याम्पसको गल्र्स होस्टेल समेत प्रयोग गर्ने र जग्गा समेत खोज्ने बिकल्पका बारेमा निर्णय भएको छ ।
पर्यटन र होटल क्षेत्रसंग सम्बन्धित जनशक्ति निर्माणका लागि स्थापना हुन लागेको कलेज कोशेढुंगा सावित हुने अध्यक्ष सिग्देलले बताए ।
उनका अनुसार होटल लगायतको विषयमा स्नातक तहको पढाई अब नेपालगन्जमै हुने छ । सबैको सहकार्यबाट कलेजलाई सफल बनाउनेगरी लाग्नुपर्नेमा उनले जोड दिए ।
पर्यटन तथा होटल विधामा आवश्यक जनशक्ति उत्पादन गर्ने ध्येयका साथ विसं २०२९ मा स्थापित नाथमले सो क्षेत्रमा विभिन्न तहमा अध्ययन अध्यापन तथा तालीम सञ्चालन गर्दै आएको छ । हालसम्म नाथमले सो क्षेत्रमा करीव ४५ हजार भन्दा बढि जनशक्ति उत्पादन गरिसकेको छ ।
नाथमको ४५औं वार्षिकोत्सवका अवसरमा तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले नाथमलाई विकास समितिअन्तर्गत रहने गरी विश्वविद्यालयका रुपमा रुपान्तरण गर्ने तयारी भएको बताएका थिए ।