नेपालगञ्ज : इस्लाम धर्मावलम्बीहरुको नजिकिँदै गएको मोहर्रम अर्थात् ताजिया पर्वलाई घरमै बसेर मनाउन आग्रह गरिएको छ ।
कोरोना भाइरसको महामारी फैलिएकोले बाँकेका इस्लाम धर्मका अगुवाहरुले संयुक्तरुपमा मंगलवार पत्रकार सम्मेलनमार्फत मोहर्रम पर्व घरमै बसेर मनाउन आग्रह गरेका हुन् ।
बाँकेमा रहेका इस्लाम धर्मावलम्बीहरुलाई नेपाल सरकारको गाईड लाईनअनुसार यसपटकको मोहर्रम पर्व घर मै बसी मनाउन अनुरोध गरिएको हो ।
नेपाल मोहर्रम तथा संरक्षण समितिका प्रवक्ता एवम् नेकपाका नेता मोहम्मद हारुनले यो महिना हजरत हसन र हजरत हुसैनले सत्यका लागि आफ्नो सम्पूर्ण परिवार सहित शहादत अर्थात् बलिदानी दिएकाले त्यसैको स्मरणमा हुसैन महिनाको रुपमा मनाउँदै आएको बताए ।
उनले मोहर्रम पर्व अन्तर्गत निकालिने सम्पूर्ण जलुशको कार्यक्रम स्थगित गरिएको जानकारी दिए । पत्रकार सम्मेलनमा नेता हारुनले आज श्री श्री श्री १००८ श्री हिरामान हरि शंकर गिरि नागा बाबा यस संसारबाट अलबिदा लिएको हुँदा उनको अनुपस्थिति धार्मिक एवं सामाजिक क्षेत्रमा खटकिरहने भन्दै श्रद्धाञ्जली व्यक्त गरे ।
नेता हारुनले भाद्र १३ गते शनिवारका दिन आ–आफ्नो तरिकाले घरको अगाडी ताजिया राख्ने तथा भोली पल्ट बिहानदेखि कुनै किसिमको भिड जम्मा नहुने गरी ताजिया सेलाउन कर्बलामा आलोपालो जान सबैमा आग्रह गरे ।
पत्रकार सम्मेलनमा मोहर्रम पर्व एवं कर्बला समितिका अध्यक्ष तथा सांसद मो। याकूब अन्सारी, नेपाल मोहर्रम तथा संरक्षण समितिका अध्यक्ष मेराज हलवाई, नेपाल मोहर्रम समिति धम्बोझीका अध्यक्ष मेराज हिमाललगायतको उपस्थिति थियो ।