घरछेउ ठूला उद्योग तर रोजगारीका लागि संघर्ष गर्नुपर्ने बाध्यता


नेपालगञ्ज १० भदौ :  बाँकेको जानकी गाउँपालिकामा अर्व लगानीका ठूला उद्योग खोले पनि रोजगारीका लागि भने स्थानीयले संघर्ष गर्नुपर्ने बाध्यता छ ।

घर अगाडी ठूला उद्योग स्थापना भएपछि रोजगारी मिल्ने उनीहरुको सपना पुरा भएको छैन । जानकी यस्तो गाउँपालिका हो जहाँ अर्व लगानीका कयौं ठूला उद्योग सन्चालनमा छन् ।

तर उद्योगले रोजगारीका लागि आफुहरुलाई प्राथमिकता नदिएको उनीहरु बताउँछन् । स्थानीय जनप्रतिनिधिहरुका अनुसार उद्योगले रोजगारीका लागि स्थानीयलाई प्राथमिकता दिने बचन त दिन्छन् तर कार्यान्वयन गर्दैन् ।

उक्त गाउँपालिकाको वडा नम्बर छ मात्र अरवौ लगानीका दर्जनौ उद्योग सन्चालनमा छन् । थप उद्योग समेत सन्चालनको तयारीमा छन् । यस बाहेक वडा नम्बर तीन, वडा नम्बर चारमा थुप्रै उद्योग छन् ।

समग्रमा भन्दा गाउँपालिका ओद्योगिक ग्रामका रुपमा विकास भइरहेको छ । जानकी गाउँपालिकामा दुईवटा सिमेन्ट उद्योग, दुईवटा आईरन उद्योग सन्चालनमा छन् भने अन्य एउटा आईरन उद्योग सन्चालनको तयारीमा छन् । आधा दर्जन रोजिन उद्योग छन् भने कत्था, जडिबुटी प्रशोधन, प्लाष्टिक उद्योग सन्चालन भइरहेका छन् । उद्योगी, व्यवसायीले लगानी थप्दैछन् । गाउँपालिकाले पनि उद्योगमैत्री नीति लिएको छ ।

हालै सन्चालनमा आएको जानकी गाउँपालिका वडा – ५ मा रहेको अम्बे स्टिल उद्योगले कर्मचारी कटौती गरेपछि आन्दोलनमा उत्रिन बाध्य भए ।
स्थानीय युवाहरुलाई काममा नआउन भनेपछि सोमवार बिहानैदेखि उद्योगको गेटबाहिर धर्नामा बसे । पश्चिमकै ठूलो स्टिल उद्योगका रुपमा अम्बे समूहले जानकीमा लगानी गरेको हो । लकडाउन पूर्व सन्चालनमा आएको उद्योगले केही महिना लकडाउन झेल्यो । एकहप्ता देखि फेरी उत्पादन शुरु भएको थियो । वडा अध्यक्ष रमेश बर्माले स्थानीयले आन्दोलन गरेको जानकारी दिए ।

तर एकाएक आफुहरुलाई निकालिएको जानकारी प्राप्त भएपछि आफुहरु स्तब्ध बनेको स्थानीय कामदारहरु बताउँछन् । लकडाउनका बेला रोजीरोटी गुमेको उनीहरुको तर्क छ ।

यद्यपी उद्योगका तर्फबाट कर्मचारीको आन्दोलनको विषयमा कुनै प्रतिक्रिया सार्वजनिक भएको छैन ।

व्यवस्थपन पक्षले सकारात्मकरुपमा बिहान वार्ता गरेको स्थानीय राजु यादवले बताए । उनले दिउँसो फेरी वार्ता हुन लागेको बताएका छन् ।

यो समूहको दोस्रो डन्डीको प्लान्ट हो । भैरहवाबाट यसअघि नै अम्बे ब्राण्डमा डन्डी उत्पादन गरेर बिक्री गर्दै आएको छ। जानकीमा रहेको उद्योग भैरहवाकोे भन्दा पनि ठुलो क्षमताको हो ।

उक्त उद्योगले दैनिक सात सय मेट्रिक टन फलामे छड उत्पादन गर्ने लक्ष्य राखेको छ । जुन पश्चिम नेपालमै सबैभन्दा ठुलो छड उत्पादक उद्योग बन्दै छ ।

अम्बे समूहको रुपन्देहीमा पहिल्यैबाट स्टिल उद्योग सन्चालनमा छ । तर त्यो भन्दा अहिले गनापुरमा बन्दै गरेको उद्योगको उत्पादन क्षमता झण्डै दोब्बर हो ।

देशकै प्रतिष्ठित औद्योगिक समूह अम्बेले रु ३ अर्व लगानीमा डेड वर्षदेखि गनापुरमा स्टिल उद्योगको पूर्वाधार निर्माणको काम गरिरहेको छ ।

उक्त उद्योग पूर्णक्षमतामा सन्चालन हुँदा दैनिक सात सय मेट्रिक टन फलामे छड उत्पादन गर्नेछ । तर सुरुवातको चरणमा क्षमता अनुसार उत्पादन हुने गाहे पर्ने प्राविधिकहरु बताउँछन् ।

उक्त उद्योगले ८ एमएमदेखि ४० एमएमसम्मको छड उत्पादन गर्नेछ । ४० एमएमको छडहरु जलबिद्युत आयोजना जस्ता ठुला पूर्वाधार निर्माणको काममा लगाउन प्रयोग हुन्छ ।

जलबिद्युत आयोजना जस्ता कामहरु बढ्दै गएकाले उक्त छडको माग बढ्ने देखेर अम्बे स्टिलले उत्पादन गर्न लागेको हो । वडा अध्यक्ष बर्माले स्थानीयले रोजगारी नपाउँदा समस्या भइरहेको बताउँछन । अदक्ष कामदारलाई प्रशिक्षण दिएर रोजगारीमा लगाउ भन्दा समेत नलगाएको उनको आरोप छ ।

प्रकाशित मितिः     १० भाद्र २०७७, बुधबार ०८:५६  |