कोहलपुरमा अपरिपक्क निर्णय : बैंकलाई अंकुश, हार्डवेयरदेखि फर्निचर पसल दैनिक खुल्ला


नेपालगन्ज ११ भदौ :  कोहलपुर नगरपालिकाको स्थानीय संकट व्यवस्थापन समितिले हार्डवेयरदेखि फर्निचर पसललाई दैनिक सन्चालन गर्न अनुमति दिएर बैंक तथा वित्तीय संस्था जस्ता अत्यावश्यक क्षेत्रमा अंकुश लगाएको छ ।

बैंक तथा वित्तीय संस्थालाई हप्तामा आईतवार, मंगलवार र बिहिवार मात्र सन्चालन गर्नै उर्दी जारी गरिएको छ । अन्यत्रको अभ्यासमा समेत यसरी बैंक खोल्दा भिडभाड कम हुने नभई झन् बढेर कोरोनाको जोखिम बढेको पाइन्छ ।

तर कोहलपुरमा केका आधारमा तीन दिन मात्र बैंक खोल्ने निर्णय गरे भन्नेमा स्वयं बैंकर पनि अनभिज्ञ छन् ।

उनीहरुले केही घण्टाका लागि मात्र भए पनि हरेक दिन बैंक खोल्न पाउनुपर्ने माग राखेका थिए जसको सुनुवाई भएन । भिडभाड नहोस् भनेर आलोपालो बैंक खोल्न दिने निर्णय गरे पनि परिणाम भने ठिक उल्टो आउने बैंकरको ठम्याई छ ।

अन्य दिन आउन नपाएका सेवाग्राहीको भिडभाड सन्चालन हुने दिन मात्र हुने भएकाले बैंकलाई सेवा दिन र लिन झन् कठिन हुने देखिएको छ ।
तीन दिन मात्र बैंक खोल्न दिने निर्णयले भिडभाड झन् बढाउँछ । एकैदिन आउने सेवाग्राही थेग्न बैंकलाई मुस्किल हुन्छ भने सेवाग्राहीले कष्टको सामना गर्नुपर्ने देखिन्छ ।

फर्निचरदेखि हार्डवेयरलाई अत्यावश्यकीय सूचीमा राखेर बैंकमा किन अंकुश लगाए भन्नेमा बैंकरहरु अचम्ममा परेका छन् ।

नेपालगन्जमा दश दिन लामो निषेधाज्ञा पछि बैंक खुल्दा ठूलो भिडभाड भएको थियो ।

त्यसले झन् जोखिम बढाएको भन्दै सकभर स्वास्थ्य प्रोटोकल अपनाएर दैनिक सेवा दिनेगरी काम शुरु भएको छ ।

कोहलपुर नगरपालिकामा कोरोना संक्रमण रोक्न लागु गरिएको दश दिन लामो लकडाउन बिहिवारदेखि खुल्ला भएको छ । स्थानीय कोभिड संकट व्यवस्थापन समितिको बैठकले बुधवार सर्तसहित लकडाउन खुल्ला गर्ने निर्णय गरेको हो ।

आलोपालो प्रणालीका आधारमा बैंक, पसल र सवारीसाधान सन्चालन गर्न पाइने छ ।

बैठकले बैंक सन्चालनमा अंकुश लगाएपनि हार्डवेय, फर्निचर, ग्यारेज जस्ता क्षेत्रलाई समेत अत्यावश्यक सूचीमा राखेर उनीहरुलाई हरेक दिन बिहान ७ बजेदेखि साँझ ६ बजेसम्म सन्चालन गर्न दिने निर्णय भएको छ ।

प्रकाशित मितिः     ११ भाद्र २०७७, बिहीबार ०७:५६  |