अधिकांश बैंकबाट पाइन्छ सिंगल डिजीट व्याजमा अटो लोन


काठमाडौं । अहिले अधिकांश बैंकको वेस रेट ८ प्रतिशत हाराहारीमा रहेको छ । राष्ट्रिय बाणिज्य बैंक, नेपाल बैंक, स्टायडर्ड चाटर्ड बैंक, एनआईसी एशिया बैंक, नविल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंकको वेस रेट ८ प्रतिशतभन्दा कम छ भने, धेरै बैंकको वेस रेट ९ प्रतिशतभन्दा कम रहेको छ ।

जुन बैंकको वेस रेट ९ प्रतिशतभन्दा माथि छ, ति बैंकहरुले वेस रेटमा १ प्रतिशत भन्दा कम प्रिमियम जोडेर अटो लोन प्रबाह गर्दै आएका छन् । कम वेस रेट भएका बैंकले ३ प्रतिशतसम्म प्रिमियम जोडर कर्जा दिने गरेका छन् ।

अहिले घोषित रुपमा नै एनआईसी एशिया बैंकले ८.२५ प्रतिशत व्याजदर र ०.२५ प्रतिशत सेवा शुल्क लिएर अटो कर्जा दिइरहेको छ । स्टायडर्ड चाटर्ड, एभरेष्ट, सानिमा जस्ता बैंकले पनि ९ प्रतिशत हाराहारीमा अटो कर्जा उपलब्ध गराउँदै आएका छन् ।

कोभिड १९ को प्रभावसँगै बजारमा कर्जा लिने मानिसको कमी आएकाले बैंकहरुको सिसिडी रेसियो ७० प्रतिशत हाराहारीमा रहेको छ । लगानी योग्य रकम बैंकमा जम्मा हुँदै गएकाले बैंकहरुलाई जसरी पनि कर्जा प्रबाह गर्नु पर्ने चुनौति थपेको छ । तर, कर्जा लिने ग्राहक बैंकमा पुगेका छैनन् ।

लामो लकडाउनपछि खुलेको बजारमा बैंकहरुले एकपछि अर्को गर्दै अटो लोनको स्कीम ल्याएपनि तत्काल ठूलो कर्जा रकम लिएर गाडी किन्ने ग्राहक बैंकमा नआएको बैंकरहरुको भनाई छ ।

‘मानिसहरु घरबाट बाहिर निस्कनै डराई रहेका छन् । यस्तोमा ठूलो रकम खर्च गरेर गाडी किन्ने मानिसको प्राथमिकता भएन जस्तो छ । हामीले उत्कृष्ट अफर गर्दा पनि बैंकमा कर्जा लिन ग्राहक आएका छैनन्’, एक बैंकरले मेरोअटोसँग भने ।

मानिसको दैनिकी कसरी संचालन गर्ने भन्ने पिरलो भइरहेको समयमा कम्पनीहरुले ल्याएको अफर र बैंकले ल्याएको सस्तो व्याजदरले ग्राहकलाई आकर्षित गर्न सकेको छैन ।

गाडी बिक्रेताको अफर

गाडी बिक्रेता कम्पनीहरुले ५ लाखसम्मको नगद छुट स्कीम संचालन गरिरहेका छन् । त्यसमा पनि ग्राहकको आकर्षण बढ्न सकेको छैन । अहिले मारुती सुजुकी, हुन्डाई, टाटा, फोर्ड जस्ता कम्पनीले हरेक कारको खरिदमा १ लाखदेखि ४ लाखसम्मको छुट दिइरहेका छन् ।

गाडी बिक्रेता कम्पनीले ६ महिनादेखि एक वर्षसम्मको बैंकको किस्ता तिरिदिन गरेको अफरमा पनि ग्राहकले चासो नदेखाउँदा तत्काल गाडीमा ठूलो रकम खर्च गर्ने पक्षमा ग्राहकहरु नरहेको देखिन्छ ।

लकडाउनपछिको अवस्था

लकडाउनपछि गाडी बिक्रेता कम्पनीहरुले ल्याएको विभिन्न योजनाले ग्राहकहरु शोरुमसम्म जाने र गाडीको बारेमा चासो राख्दै कुरा गर्नेसम्मको अवस्था निर्माण भएपनि तत्काल किनिहाल्ने अवस्था सृजना भएको छैन । त्यसमा पछिल्लो समय जिल्ला प्रशासन कार्यालयले जारी गरेको एक हप्ते निषेधाज्ञाले सबै किसिमका व्यवसाय ठप्प छ ।

अब बजार खुलेपछि कम्पनीहरुले यही अफरलाई निरन्तरता दिन्छन् वा नयाँ स्कीम ल्याउँछन् त्यो चासोको विषय बनेको छ । बैंकहरुले पनि अहिलेभन्दा अझै सस्तो कर्जा स्कीम ल्याउँछन् वा यसैलाई निरन्तरता दिन्छन् भन्ने धेरैले चासो राख्दै आएका छन् ।

अर्को महिनाबाट दशैं र तिहार जस्ता ठूला चाडपर्वहरु आउँदै छन् । नेपालमा गाडी बिक्रेता कम्पनीहरुले यही समयमा आफ्नो कुल बिक्रीको झण्डै ४० प्रतिशत बिक्री गर्ने गरेका थिए । यसपटक कस्तो हुन्छ भन्ने सबै कुराको निर्क्योल कोभिडको अवस्थाले निर्धारण गर्ने देखिन्छ ।

आय स्रोत घट्दाको असर

अटोमोवाइल त्यसमा पनि विशेष गरेर चार पाङ्ग्रे सवारी खरिद गर्न नेपालमा ठूलो रकम खर्च गर्नु पर्ने अवस्था छ । यस्तोमा साना मझौला व्यवसाय गर्ने र केही प्रोफेश्नल मानिसहरुको पहुँचमा रहेको यस्ता गाडीको बिक्रीमा गिरावट आउने देखिन्छ ।

अहिले हरेकले गर्दै आएको व्यवसाय नै संकट उन्मुख रहेकाले मानिसको आम्दानी सुकेको अवस्था छ । यसको प्रत्यक्ष असर गाडीको बिक्रीमा पनि पर्ने देखिन्छ । यद्यपी कोभिड कै बीचपनि केही व्यवसायीको आम्दानी बढेको छ । ति क्षेत्र र त्यससँग सम्बद्ध व्यवसाय संचालन गर्ने मानिसहरु कारको नयाँ ग्राहक थपिने देखिन्छ ।

बैंकको कर्जा सस्तो रहिरहने र कोभिडको असर कम हुँदै जाने अवस्था आएको खण्डमा चाडपर्वमा कारको बिक्री केही बढ्ने देखिन्छ । जे होस् समग्रमा मानिसको आम्दानीसँग कारको व्यापार जोडिएको हुनाले अहिलेको अवस्था कठिन बन्दै गएको व्यवसायीहरुको बुझाई छ ।

प्रकाशित मितिः     ११ भाद्र २०७७, बिहीबार ०९:०३  |