मालपोतको केही काम अब उपमहानगरबाट, सेवा शुरु गर्नु भन्दा पहिले कर्मचारीलाई तालिम दिइने


नेपालगन्ज । मालपोत कार्यालयले गर्दै आएको जग्गा प्रशासनसम्बन्धी कामलाई स्थानीय तहमा हस्तान्तरण गर्ने योजनाअनुरूप नेपालगन्ज उपमहानगरपालिकाका कर्मचारीलाई तालिम दिइने भएको छ ।

बाँकेमा प्रथम चरणमा उपमहानगरबाट उक्त सेवा सुरु गरिने छ भने त्यसका लागि तीन जनासम्म कर्मचारीलाई मालपोत कार्यालय बाँकेले प्रशिक्षण दिने छ । प्रशिक्षणमा सहभागि हुने कर्मचारी पठाइदिन मालपोतले भदौ ७ गते पत्र पठाएको छ ।

मालपोत प्रमुख प्रेम दौल्यालले कर्मचारी पठाएपछि ती कर्मचारी प्रशिक्षित भइसकेपछि मालपोतसंग सम्बन्धित केही काम सहितको सफ्टवेयर उपमहानगरपालिकालाई हस्तान्तरण गरिने छ । कर्मचारीलाई तालिम दिन एक महिना लाग्ने भएकाले त्यसपछि नै उपमहानगरबाट मालपोत सम्बन्धी केही सेवा सुचारु हुने छ ।

सरकारले चालु आर्थिक वर्षमा ६० वटा मालपोत कार्यालयलाई स्थानीय तहमा हस्तान्तरण गर्ने घोषणा गरेको थियो । सोहीअनुसार हस्तान्तरण गर्नुपूर्व स्थानीय तहका कर्मचारीलाई सेवाका लागि तयार पार्न सबै मालपोत कार्यालयलाई प्रशिक्षण दिन भनिएको छ ।


मालपोतको काम एकैपटक स्थानीय तहमा हस्तान्तरण गर्दा कानूनी तथा प्राविधिक कठिनाई हुने भएकाले कर्मचारीलाई अभिमुखीकरण गरेर मात्र क्रमशः हस्तान्तरण गर्ने तयारीस्वरुप तालिम शुरु गरिएको हो। तर, अन्य सबै कामहरु स्थानीय तहमा हस्तान्तरण गरे पनि न्यायिक र भूमि सुधारका काम भने मालपोत कार्यालयमातहत नै कायम रहने छन् ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागले जग्गा प्रशासनलाई व्यवस्थित बनाउन मालपोत कार्यालय हस्तान्तरण गर्नुअघि प्रत्येक स्थानीय तहका कम्तिमा तीन/तीनजना कर्मचारीलाई मालपोत कार्यालयका दैनिक कामकाजमा खटाएर अभिमुखीकरण तालिम दिन सबै मालपोत कार्यालयलाई निर्देशन दिइएको हो।

मालपोत कार्यालयले आफ्नो कार्यक्षेत्रभित्र पर्ने स्थानीय तहका कर्मचारीलाई जग्गा प्रशासनसम्बन्धी काम सिक्ने प्रयोजनका लागि मालपोत कार्यलयमा पठाउन सम्बन्धित स्थानीय तहलाई अनुरोध गरेपछि स्थानीय तहले कर्मचारी पठाउनु पर्नेछ।

यसरी खटिने कर्मचारीलाई मालपोत कार्यालयबाट हुने दैनिक कामकाजमा खटाएर सिक्ने अवसर दिने तर त्यस्ता कर्मचारीलाई आधिकारिक कागजमा हस्ताक्षर गर्ने अधिकार भने नहुने जनाईएको छ ।

प्रकाशित मितिः     9:27:52 AM  |