उपमहानगरले भन्यो–‘गर्नै नमिल्ने निर्णय गरेपछि डेढ करोड फ्रिज भयो’


नेपालगन्ज १२ भदौ :  नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवल शम्सेर राणाले बाँकेका क्षेत्र नं. २ का संघीय सांसद मोहमद ईस्तियाक राईले गलत निर्णय गरेका कारण भेरी अस्पतालको भेन्टिलेटर खरिदका लागि स्थानीय पूर्वाधार साझेदारी कार्यक्रम अन्र्तगतको डेढ करोड फ्रिज भएको आरोप लगाएका छन् ।

शुक्रवार पत्रकार सम्मेलनमा मेयर राणाले भने,–‘गर्नुपर्ने कुरा के थियो उहाँले अर्कै गर्नुभयो । गर्नुपर्ने के थियो भने बचेको सम्पूर्ण पैसा नेपालगन्ज उपमहानगरको कोभिडको खातामा हाल्दिनका लागि पत्र लेखिदिनुपथ्र्यो । त्यो पत्र हामीले कोलेनिकामा फरवार्ड गरिदिने हो भने पैसा आउँथ्यो ।’

मेयर राणाले थप भने,–‘तर गर्नुभयो के भने बचेको सबै पैसा अस्पतालको सामाग्री किन्न दिने निर्णय गरिदिनुभयो । उहाँले त्यसरी निर्णय नै गर्न पाउनुहुन्न । त्यो निर्णयलाई कोलेनिकाले स्वीकार गर्ने अवस्था नै थिएन ।’ मेयर राणाले कोभिडको खातामा पैसा जम्मा गर्ने गरी प्रक्रिया अगाडी बढाउनुको साटो बेग्लै निर्णय गरेर अगाडी बढेका कारण रकम फ्रिज भएको दावी गरेका छन् । निर्णय नै गलत भएका कारण बजेट फ्रिज भएको उनले बताए ।


उनले भने,–‘नरैनापुरमा पनि यस्तै रकम प्रयोगमा आएको छ । त्यहाँ भने सही निर्णय गरेको पाइयो । हामीसंग उक्त रकमका विषयमा सामान्य छलफल समेत भएन । फेसबुकबाट थाहा पाइयो ।’ पहिल्यै थाहा भएको भए सही निर्णय गरेर सांसदसंग बजेट खातामा हालिदिन अनुरोध गरिदिने वातावरण बन्ने राणाले बताए ।

पत्रकार सम्मेलनमा उपमहानगरपालिकाकी उपमेयर उमा थापामगरले स्थानीय तहलाई अधिकार दिए पनि संघीय सांसदबाट उत्पन्न हुने टिकाटिप्पणीका विषयमा सोधिएको पत्रकारको जबाफ भनिन्–‘देश संघीयतामा गइसकेको छ तर त्यसलाई स्वीकार गर्न नसकी स्थानीय तहको अधिकार मिच्न खोच्ने समग्र प्रवृत्ती देखापरेका छन् । कतै सबै तहका सरकारको अधिकार क्षेत्र के हो भन्नेमै हामी अन्यौलमा पो छौं की ?’

प्रकाशित मितिः     3:42:31 PM  |