नेपालगन्ज हाँक्ने जिम्मा पाएका नेतालाई भिड्नै ठिक्क !


नेपालगन्ज १२ भदौ :  फरक राजनीतिक पृष्ठभूमीका नेता पनि विषम परिस्थिती र विकासका लागि एकठाउँमा उभिन्छन् तर नेपालगन्जका संघीय सांसद मोहमद ईस्तियाक राई र मेयर धवल शम्सेर राणालाई एकअर्का बिरुद्ध भिड्नै ठिक्क छ ।

कोरोना कहर झेलिरहेको र राज्यपुर्नसंरचनाका क्रममा नियतबस पछि पारिएका कारण कुशुल राजनीतिक अभिभावक खोजिरहेको नेपालगन्ज जस्तो शहरका यि दुई नेताबीचको जुहारी आ–आफ्ना कार्यकर्ताका लागि राजनीतिक मसला बनेको छ भने धेरैका लागि दिकदारीको विषय !

एक-अर्का बिरुद्ध सार्वजनिक टिप्पणी गर्नु दुबै नेताका लागि यतिबेला सामान्य विषय बन्न पुगेको छ । संचारमाध्यम र सामाजिक सन्जालमा दुबै छाएका छन् । एउटा कुनै विषय पाउनै हुन्न् ! त्यसलाई ठूलो राजनीति ‘इस्यु’ बनाएर वक्तत्ववाजी र पत्रकार सम्मेलन मार्फत भिडिहाल्छन् । यो श्रृखंला नत सुरुवात हो न अन्त्य नै ।

फरक राजनीतिक पृष्ठभूमिका नेताबीच जुहारी चल्नु सामान्य कुरा हो । चुनाव झन् नजिक आउँदै गर्दा यो जुहारी चरमसीमामा पुग्छ नै । तर विकासका मुद्दामा समेत राजनीतिक अभिभावकबीच चलेका जुहारीले नेपालगन्जलाई फाईदा पुग्यो की बेफाईदा पुग्यो ? समिक्षाको विषय बनेको छ । तर यहाँ यसरी समिक्षा गर्ने भन्दा पनि विषम परिस्थितीमा चुनावको झझल्को दिने गरी नेता भिडाएर ‘चुस्की’ लिने समूह पो सक्रिय भएको छ की ?

उपमहानगरले भन्यो–‘गर्नै नमिल्ने निर्णय गरेपछि डेढ करोड फ्रिज भयो’

सांसद राई र मेयर राणाबीच आस्था नमिलेको मात्र हो विकासका मुद्दामा सम्भवत विमत्ती छैन् । त्यसैले उनीहरुले एक-अर्का बिरुद्ध आरोप-प्रत्यारोप गरिरहंदा विकासका मुद्दामा हामी राजनीतिक नगरौ, मिलेर जान तयार छौं भन्न छुटाउँदैनन् । तर भन्नलाई सहमतिका कुरा गरे पनि व्यवहारमा भने ठिक उल्टो गर्छन । कम उमेरमा दुई पटक मन्त्री भइसकेका सांसद राई समाजवादी र दुई पटक मेयर भइसकेका राणा राप्रपाको केन्द्रीय तहमै पहुँच राख्छन् ।

बहुसंख्यक जनताको नजरमा दुबै जना विकासप्रेमी मानिन्छन्, नेपालगन्जको राजनीतिमा पार्टीगत मात्र होइन व्यक्तिगत तहमै राम्रो प्रभाव छ । शहरी विकास मन्त्री हुँदा नेपालगन्ज सहित बाँकेभर राईले ल्याएका बजेटको सूची लामै छ ।

स्थानीय तहको गच्छे अनुसार राणाले विकास नगरेका होइनन् साथै सुशासनका मामलामा उनलाई प्रश्न उठाउने हिम्मत पनि कसैले गरेको छैन । अन्य राजनीतिक मुद्दामा भने यि दुबै नेता नदीका दुई किनारा हुन । आगामी चुनावमा नेकपा र काँग्रेस बाहेक एक-अर्कालाई नै दुवै जनाले प्रमुख प्रतिस्पर्धी ठानेका छन् ।

सांसद राई र मेयर राणाबीचको पछिल्लो विवाद सांसद विकास कोषको डेढ करोड रकम फ्रिज भएको विषयलाई लिएर मच्चिएको छ । राईले मेयरका कारण रकम फ्रिज भएको बताउँछन् भने मेयरले समय सकिएपछि दिएको रकम फ्रिज भएको दावी गर्छन् । दिनेले दिए जस्तो गरेर र लिन नचाहानेले पनि समय सकिएका कारण लिन नसकेको ओठे जवाफ भेटेपछि उक्त रकम फ्रिज भएको छ ।

मैले ल्याएको बजेट कार्यान्वयन गर्न नदिने षडयन्त्र भयो-ईस्तियाक राई

परिणाम अहिले भेरी अस्पतालमा निर्माण हुन लागेको कोभिड विषेश अस्पतालका भेन्टिलेटर खरिद गर्न सहयोग माग्नु परिरहेको छ । दुबै नेताबीच समन्वय नहुँदा यति ठूलो रकम फ्रिज भएको छ भने कोभिड बिशेष अस्पताल निर्माण प्रभावित भएको छ ।

दुबै नेताबीच चलेका जुहारी कुन हदसम्म पुग्यो भनेर बुझ्नका लागि पछिल्लो एकवर्षयताको गतिविधिलाई नियाल्नु ठिक हुन्छ । नेपालगन्जमा बृक्षारोपण गर्ने विषयसम्ममा सांसद र मेयरबीच जुहारी चल्यो भन्ने सुन्दा धेरै मन दुख्न सक्छ । तर भएको त्यही थियो ।

मेयर पनि हरित नेपालगन्ज बनाउन चाहान्छन् सडकका ग्रीनबेल्टमा बृक्षारोपण गरेकै हुन । सांसद राईले त दश हजार बिरुवा रोप्ने घोषणा गरी कार्यान्वयनको समेत शुरुवात गरिसकेका थिए । तर जब बृक्षारोपण शुरु भयो त्यो विवादमुक्त हुन सकेन ।

बागेश्वरी मन्दिरको जग्गामा सटर निर्माणदेखि कान्जिहाउससम्ममा दुवै जनाबीच मनमुटाव भए ।

ल्याण्डफिल साईटदेखि बसपार्कको उद्घाटनका विषयमा समेत नेपालगन्जका यि दुई राजनीतिक अभिभावकबीच तालमेल हुन सकेन् बरु आरोप्र-त्यारोप चलिरह्यो । पछिल्लो डेढ करोड रकम फ्रिज भएको विषयमा दुबै नेताले आफुलाई सत्य सावित गर्न एक-अर्का बिरुद्ध कहिले व्यक्तव्यबाजी त कहिले पत्रकार सम्मेलन गरिरहेका छन् ।

‘डेढ करोड’को किचलो !

केन्द्रीय तहको प्रतिनिधित्व गर्ने सांसद राई र स्थानीय तहको नेतृत्व गरिरहेका मेयरबीच कम्तिमा विकासका मुद्दामा एउटै टेवुलमा आउनुपर्ने थियो । तर बिडम्वना फरक राजनीतिक बिचारले नेपालगन्जको विकासको मुद्दामा दुबैलाई एउटा टेबुलमा ल्याउन पो रोक्यो की ? परिणाम कति नेपालगन्जका कति योजना प्रभावित भए ? नियाल्न जरुरी छ ।

शुक्रवार आयोजित पत्रकार सम्मेलनमा मेयर राणाले चुनावी झझल्को दिने गरी बादबिवादमा नउत्रिन चेतावनी दिएका छन् । सबैलाई आआफ्नो काम गर्ने अधिकार रहेकाले अनावश्यक काममा हस्तक्षेप नगर्न मेयर राणाले सुझाव दिएका छन् । उनले चुनावी प्रतिस्पर्धा चुनावकै हुने भन्दै राणाले अहिले वादविवाद गर्न आवश्यक नरहेको स्पष्ट पारे ।

केही दिन अघि आयोजित एक पत्रकार सम्मेलनमा सांसद राईले रकम फ्रिजका विषयमा आफुले भनेका कुरा असत्य भए राजनीतिबाटै सन्यास लिने बताएका थिए । उनले राजनीतिक आधारमा नभई सत्य कुरामा पक्षमा आफुले बोलिरहेको बताए ।

कोरोना कहर बिर्साउने गरी भइरहेका दुबै नेताका गतिविधिको ‘चुस्की’ लिनेहरु बाहेक दिकदारी मानेर बस्ने नागरिकको पनि कमी छैन् भन्ने तर्फपनि दुबै नेताले सोच्न जरुरी छ ।

प्रकाशित मितिः     १२ भाद्र २०७७, शुक्रबार १५:०१  |