कोरोना कहरका बेला नागरिक सेवामा खटिएका बैंक कर्मचारीलाई सलाम !


नेपालगन्ज १४ भदौ :  ‘कार्यालयमा आफुलाई कोरोना सर्छ की भन्ने डर,घरमा पुगेपछि अरुलाई सारिन्छ की भन्ने डर !’–नेपालगन्जको एउटा बैंकमा काम गर्ने कर्मचारीले सुनाए,–‘जताततै तनाव नै तनाव लिएर काम गर्नुपरिरहेको छ ।’

कोरोना बिरुद्धको अभियानमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी जस्तै फ्रन्टलाइनरको भूमिकामा रहेका बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई कम्ता तनाव छैन् यतिबेला । कोरोना कहरकाबीच नागरिकको गर्जो टार्ने काममा खटिएका बैंक कर्मचारीको भूमिका प्रशंसा गर्न लायक छ । आफ्ना तनावको अनुभव सुनाएका ती कर्मचारीले भने,–‘तनाव छ, त्यही पनि बिश्वभर महामारी फैलिएको कोरोनाको संकटमा सेवा गर्न पाउँदा खुसी पनि लागेको छ ।’

बाँकेमा बैंक तथा वित्तीय संस्थाहरु कोरोना संक्रमणको हटस्पट नै बन्यो । आधा दर्जन बढि बैंकका कर्मचारीमा कोरोना देखिएको थियो । धेरै बैंकका कर्मचारी त अहिले पनि आइसोसेलनमा छन् । शाखा कार्यलयहरु शिल गरिएको छ भने सेवाहरु बन्द छ । एउटै बैंकमा २० जना कर्मचारीसम्मलाई कोरोना देखिएपछि बाँकेका बैंक कर्मचारी कति जोखिममा काम गरिरहेका छन् भन्ने पुष्टि हुन्छ ।

‘स्वास्थ्य प्रोटोकल पालना भएका छन् । कर्मचारीका लागि मात्र नभई सेवाग्राहीका लागि पनि । तर दैनिक संयौको भिड लाग्ने ठाउँमा हामीले पालना गरेको प्रोटोकल कति प्रभावकारी हुन सके आफै बुझ्नुहोस् ।’ बैंकका शाखा प्रबन्धकले भने–‘जस्तो सुकै अवस्था भए पनि सेवा त दिनैपर्यो ।’ बैंकका कर्मचारीमा पनि सबैभन्दा धेरै जोखिममा सुरक्षागार्ड र क्यासिएरहरु रहेका छन् ।

बाँकेमा निषेधाज्ञा र बिशेष परिस्थितीमा बैंकहरु बन्द भए । त्यसबाहेक प्राय बैंकहरु सेवा दिइरहेका छन् । सेवा लिन जानेको भिड कति छ भन्ने अहिले भनिसाध्य छैन । उनीहरुको व्यवस्थापन नै बैंकका चुनौतीपूर्ण बनेको छ । बाँकेका बैंक लामो बन्द गर्दा पश्चिम क्षेत्रकै आर्थिक लाइफलाइन प्रभावित हुने भएकाले त्यसरी बन्द गर्ने अवस्था छैन् । खोल्दा जोखिम उस्तै छ ।

बैंकको सुरक्षाका लागि नेपाल राष्ट्र बैंकले सर्कुलर जारी गरेको छ । डिजिटल कारोवारको प्रयोग गराउन र बिशेष अवस्था नआउँदासम्म बैंकमा नजान अनुरोध गरिएको छ । तर बाँकेमा डिजिटल कारोवारको अवस्था प्रभावकारी छन् ।

बैंक जानेकै संख्या अधिक रहेकाले भिड धेरै लाग्ने गरेको छ । राष्ट्र बैंकले सीमित कर्मचारी राखेर बैंक चलाउन भने पनि त्यो व्यवहारमा कार्यान्वयन भएको छैन् । बैंकमा सुरक्षाका लागि ज्वरो नाप्ने, सेनिटाइज गर्ने काम भइरहेका छन् ।

तर ती सबै प्रभावकारी नहुँदा बैंकका शाखा नै सिल गर्नुपर्ने अवस्था आएको छ । बैंकका कर्मचारीलाई कार्यालयमा मात्र होइन घरमा समेत उस्तै तनाव छ ।

 

प्रकाशित मितिः     १३ भाद्र २०७७, शनिबार ०९:०३  |