जाजरकोट। सुर्खेतको आधा, सल्यानको आधा भाग र रुकुमपश्चिम र जाजरकोटमा विद्युत वितरण अनियमित हुने गरेको लामो समय बिते पनि समस्या हटेको छैन।
सुर्खेतको सुव्वाकुनामा १३२ केभी प्रसारण लाइनको सवस्टेशन निर्माण भए तीन जिल्लाको विद्युत् आपूर्तिमा सुधार आउने बताइए पनि नेपाल विद्युत प्राधिकरणले कामलाई गति दिन सकेको छैन। कोहलपुरदेखि सुर्खेतसम्मको १३२ केभी प्रसारण लाइन निर्माणका लागि वातावरणीय प्रभाव मूल्यांकनको काम पूरा गरी बोलपत्र आह्वान भइसकेको छ । सुर्खेतको सुब्बाकुनामा सवस्टेशन निर्माण भए विद्युत आपूर्ति नियमित हुने प्राविधिकहरूले बताउँदै आएका छन्।
सवस्टेशनका लागि चार वर्षअघि जग्गा अधिग्रहण गरिएको थियो। निर्माणका लागि बोलपत्र आह्वान भएको छैन। सवस्टेशनको डिजाइन गर्ने इटालियन कन्सलटेण्टले डिजाइनको काम पूरा गरिसकेको भए पनि बोलपत्र आह्वानको काममा ढिलाइ भएको छ । यो सवस्टेशनसँगै जहरेमा ४०० केभी प्रसारण लाइनको काम पूरा भएपछि मात्र चार जिल्लाको विद्युत् आपूर्तिमा हुँदै गरेको समस्या समाधान हुने प्राधिकरण कर्णाली प्रदेशका प्रमुख सुरेन्द्र अग्रहरिले बताए।
अहिले सुर्खेतको सुव्वाकुना र जहरेमा ठूला सवस्टेशन निर्माण नभएकाले जाजरकोट, सुर्खेतको केही भाग, रुकुमपश्चिम र सल्यानको केही भागमा ३३ केभी प्रसारण लाइनको विद्युत् आपूर्ति हुँदै आएको छ । जाजरकोटको नलगाड नगरपालिका–७ दानीपिपलमा ४०० केभी प्रसारण लाइनको सवस्टेशन निर्माणका लागि जग्गा अधिग्रहणको काम पूरा भएको छ । कोरोनाको असर कम हुने वित्तिकै डिपीआरका लागि दसैंसम्म परामर्शदाता आउने बताइएको छ ।
प्रदेशले नै जाजरकोटको चौखा सवस्टेशन निर्माणको लागि बोलपत्र आह्वानको काम गरेको प्रमुख अग्रहरीले बताए । नलगाड जलविद्युत, ताँसुगाड आयोजना, डोल्पाको जगदुल्ला आयोजना निर्माणका लागि १३२ केभी प्रसारण लाइन निर्माण कार्य छिटो गर्नुपर्ने अवस्था छ ।
जाजरकोटको कुदुको सवस्टेशन निर्माण कार्य पूरा भइसकेको छ । अन्य ठाउँहरु समाइला, वडावनमा निर्माण हुने सवस्टेशनको जग्गा प्राप्तिका लागि मुआब्जा वितरणको काम पूरा भएपछि अन्य काम शुरु हुने उनको भनाइ छ । दानी पिपलमा निर्माण गर्न लागिएको ४०० केभी प्रसारणलाई सवस्टेशन बनाउन डिपीआरको काम छिटै हुने कर्णाली प्रदेशसभा सदस्य गणेशप्रसाद सिंहले बताए ।
शुरुमा नेपालगञ्जले कर्णाली प्रदेशका जिल्लामा सामग्री दिँदै आएको थियो। अघिल्लो वर्षदेखि सुर्खेतमै प्रदेश कार्यालय स्थापना भएपछि नेपालगञ्जले सामग्री नदिँदा विद्युतीकरणको काममा ढिलाइ भएको थियो । आर्थिक वर्ष २०७६र७७ मा सुर्खेतमा प्रदेश कार्यालय स्थापनासँगै सामग्री सबै थोक नहुँदा समस्या भएको हो ।
अहिले जाजरकोटको लागि प्रतिमहिना ६० किलोमिटरका लागि मात्र तार दिएको तर माग जाजरकोटमा धेरै भएकाले काम गर्न मुस्किल भएको विद्युत् प्राधिकरण जाजरकोट प्रसारण लाइनका प्रमुख लोकबहादुर खड्काले बताए । जाजरकोटका सात स्थानीय तहमध्ये बारेकोट गाउँपालिकामा मात्र प्रसारण लाइन पुग्न सकेको छैन ।
रासस