कोरोनाले बेरोजगार बनेकाहरु भन्छन्–अहिलेसम्म थेगियो अब सकिन्न् होला !


नेपालगन्ज १५ भदौ :  नेपालगन्ज–४ का एक युवकले सोमवार बिहानै सामाजिक सन्जालमा लेखे,–‘लकडाउनले होटलमा गर्दै आएको जागिर गयो । प्लिज कतै जब भेटिए भन्नुहोला ।’ यो स्ट्याटस्मा कमेन्ट गर्नेहरु अधिकांसको पीडा पनि ती युवक जस्तै थियो ।

धेरैले जागिर गुमाएको भन्दै अब के गर्ने होला भन्ने अन्यौलग्रस्त प्रश्न तेर्साइरहेका थिए । सामाजिक सन्जालमा यसरी जागिरको खोजि गर्नेको संख्या अधिक छ । जागिर गुमाउँदाका पीडा र व्यथा भनिसाध्य छैन् ।

परिवारका तीन जना सदस्य सहित नेपालगन्ज–६ मा डेरा गरी बस्ने एक युवक भन्दै थिए,–‘पाँच महिना जसोतसो काटियो । अब त छाकटार्नै मुस्किल भइसक्यो ।’ शिक्षण पेशामा निर्भर उनको लकडाउन यता आम्दानी शुन्य छ । ‘आज खुल्ला भोलि खुल्ला भन्दाभन्दै यतिका महिना बित्यो । अब त बस्नै नसकिने भयो ।’–ती युवकले भने ।

लकडाउनका कारण पर्यटन, यातायात, शिक्षण जस्ता क्षेत्र सबैभन्दा बढि प्रभावित छन् । बाँकेमा मात्र यि क्षेत्रमा संयौ जना निर्भर थिए । सबैभन्दा धेरै रोजगारी दिने क्षेत्र नै लकडाउनमा सबैभन्दा धेरै प्रभावित भएपछि बेरोजगार हुनेको संख्या अत्याधिक भएको हो । कामबिहिन भएपछि धेरैलाई मानसिक तनावले झेलिरहेको छ ।

अनिश्चित भविष्य बोकेर हिड्दा डिप्रेशनको सिकार हुने खतरा छ । बेरोजगार भएकाहरु कति गाउँ फर्किएका कृषि एवं अन्य पेश व्यवसाय अपनाउन थालेका छन् । केहीले शहरमा नयाँ बिकल्प खोजिरहेका छन् । तर फेरी उद्यम गर्न नसक्नेहरु भन्छन्‘कृपया, कतै जागिर भेटिए भन्नुहोला !’

महामारी फैलिएसँगै देशभित्र र विदेशमा रहेका थुप्रै नेपाली बेरोजगार बनेका छन्, जसका लागि झन्डै १० लाख रोजगारी सिर्जना गर्न आवश्यक रहेको बताइन्छ । यस अवधिमा थुप्रै उद्योग, व्यवसाय, अफिसहरू बन्द हुन पुगे । अझै पनि पर्यटन क्षेत्र सम्बद्ध व्यापार, व्यवसाय र अफिसहरू सञ्चालनमा आउन सकेका छैनन् ।

कोरोना भाइरसका कारण ११ चैतमा मुलुक लकडाउन भएसँगै हजारौँ मानिस बेरोजगार बने । पाँच महिनो बन्दाबन्दीमा कतिले जागिर गुमाए भन्ने यकिन तथ्यांक कसैसँग पनि छैन ।

 

प्रकाशित मितिः     १५ भाद्र २०७७, सोमबार ०७:४२  |