- रोमहर्ष वली
गुर्भाकोट (सुर्खेत) २१ भदौ : पूर्वाधार विकासका गतिविधि बढ्दै गएपनि गुर्भाकोटका केही वडामा संचार सुविधा प्रभावकारी हुन सकेको छैन ।
वडा नं. २, ३, ४, ९ लगायतका वडामा नेपाल टेलिकम लगायत संचारप्रदायक कम्पनीबाट उपलब्ध हुने सेवा मौसममा हुने खरावीसंगै बन्द हुने गरेका छन् ।
अन्य पूर्वाधारका काम धमाधम हुँदै गएका मोवाइल फोनको सेवा प्रभावकारी नहुँदा दुःख झेल्नपुरेको स्थानीय बताउँछन् ।
‘आँकाशमा बादल लाग्नै हुँदैन । हावाहुरी र पानी पर्नै हुँदैन’ पारेखेतका ज्ञानबहादुर डाँगी भन्छन्–‘गाउँमा धेरै कुराको विकास आएको तर पनि मोवाइलको नेटवर्क राम्रोसंग टिप्पदैन ।’
गाउँमा आर्थिक गतिविधि समेत बढ्दैै गएकाले फोनका प्रयोगकर्ता बढेका छन् । फोन मात्र नभई इन्टरनेट नै घर घरमा जोडिने बेला आइसक्दा समेत गाउँमा मोवाईल फोनको नेटवर्क हुन सकेको छैन ।
‘मौसम बद्लिने बित्तिकै फोनले राम्रोसंग टिप्पदैन् । जरुरी काममा समेत अवरोध उत्पन्न हुन्छ ।’–स्थानीय मेघराज ओलीले भने । नादेकोटमा राखिएको टावर बिद्युतबाट नभई सोलारबाट चल्ने भएकाले समस्या भएको छ ।
सोलार राम्रोसंग चार्ज नहुँदा मोवाइल नेटवर्कमा समस्या हुने गरेको छ । स्थानीयले स्थानीय तह, प्रदेश र संघीय सांसदसंग संचार पूर्वाधार सुधार गर्न माग गरेका छन् ।