गर्मी छल्ने प्रमुख पर्यटकीय गन्तव्य बन्न सक्छ हर्रे हिलस्टेशन


नेपालगन्ज २२ भदौ :  नेपालगन्जदेखि ६५ किलोमिटरको दुरीमा रत्नराजमार्गमा पर्ने हर्रे हिलस्टेशनलाई पर्यटकीयक्षेत्रका रुपमा विकास गर्न स्थानीए जुर्मुराएका छन् ।

योजनाबद्ध विकाससंगै हर्रेलाई पश्चिमकै प्र्रमुख पर्यटकीय गन्तव्य बनाउने गरी छलफल र बहस शुरु भएको शिक्षक समेत रहेका स्थानीय अगुवा महेन्द्र डाँगी बताउँछन् । उनी भन्छन्,-प्रकृतिको बरदान रहेको हर्रेमा पूर्वाधार विकास गरिदिए पुग्छ । यस्तो ठाउँ सम्भवत अन्त कतै पाइदैन ।

डाँगीका अनुसार, तीन तहका सरकार मध्ये जोकोहीले हर्रेको पूर्वाधार विकासका लागि ध्यान दिन जरुरी छ । एउटा गुरुयोजना नै बनाएर हर्रेलाई हिलस्टेशनका रुपमा विकास गर्ने हो भन बाँके, बर्दिया लगायतको ठूलो जनसंख्या भएको जिल्लाका आन्तरिक पर्यटकलाई गर्मीयाममा तान्न सकिने प्रशस्त सम्भावना छ ।

चर्को गर्मी छल्न हर्रेमा बसाई सहितको व्यवस्था गर्न सक्ने हो भने प्रभावकारी हुने स्थानीय बताउँछन् । नेपालगन्जमा एसी लगाउँदा समेत गर्मी हुने मौसममा हर्रेमा भने राती सुत्दा सिरक ओड्नुपर्ने हुन्छ । अहिले हर्रेमा मानिसको आवतजावत नहुने होइन । सेनाको चेकपोष्ट समेत रहेकाले स्वभाविकरुपमा मानिसहरु दैनिक जसो हर्रेमा ओर्लिन्छन् र तरकारी किन्दै वरपरको दृश्य अवलोकलन गर्छन । साच्चिकै पर्यटक नै तान्न भने बााकी छ ।

रत्नराजमार्गमा पर्ने सुर्खेत जिल्ला भेरी गंगा नगरपालिका–४ हर्रेमा नेपालगन्जका ‘भिआईपी’ले जग्गा किनेर छाडेका छन् ।

चिकित्सक, व्यवसायीदेखि वकिलसम्मलाई हर्रेको चिसो मौसमले लोभ्याएको छ । अहिले पनि जग्गाको खोजिमा हर्रे पुग्नेको कमी छैन ।

भन्छन्–‘अहिले होइन पहिल्यैदेखि हर्रेमा जग्गा किन्न रुची राख्ने गरेको पाइन्छ । पछिल्लो समय भने अलि धेरे बढेको छ ।’

हर्रे १ नाम सुन्ने वित्तिकै चिसो हावा, शुन्दर ठूला–ठूला पहाड अनि हरियो तरकारी र फलफुलको सम्झना आउँछ । रत्नराजमार्ग हुँदै यात्रा गर्नेहरु जोकोहीले एकपटक हर्रेको मनोरम दृश्यमा लोभिएकै हुन्छ ।


तरकारी किन्नेदेखि फलफुलको स्वाद लिनेको उस्तै भिड देख्न पाइन्छ । नेपालगन्जदेखि झण्डै ६५ किलोमिटरको उत्तरमा पर्ने हर्रे सबैको मन लोभ्याउने हिल स्टेसन हो ।

नेपालगन्जको चर्को गर्मीलाई बिर्साउने यतिका राम्रो हिलस्टेसन सायदै अन्त कतै होला ? ‘उता छिन्चुको मौसम अनि यता बबईको मौसम र हर्रेको मौसम नियाल्नु भयो भने ठूलो अन्तर पाउँनुहुन्छ ।

एकप्रकारले भन्ने हो भने हर्रेमा आउनेले हिमालमा गएको महसुस गर्न पाउँछ ।’– शिक्षक डाँगी भन्छन्–‘हाम्रै वरीपरी चिसो हावा र बादलको घुम्टोले पहाडलाई ढाकेको हर्रे बाहेक अन्त देख्न पाइदैन ।’

प्रकृतिले दिएको बरदानको महत्व बुझेरै धेरैले जग्गा किनिरहेका छन् ।

भविष्यमा पर्यटनको विकासका क्रममा होटल एवं रेष्टुरेन्ट खोल्नका लागि मात्र होइन घर बनाएर हर्रेको चिसो मौसममा आनन्दले जीवन बिताउनका लागि जग्गा किन्नेका कमी छैन ।

यतिबेला हर्रेमा राजमार्गको छेउको जग्गा रु ५ लाख मिटरसम्ममा विक्री भइरहेको छ । भित्री जग्गा भने रु १२ लाख भन्दा बढि छ । जग्गाको मूल्य धेरै भए पनि किन्न आउनेको कमी छैन ।

प्राकृतिकरुपमा शुन्दर हर्रेमा पूर्वाधार विकासको भने अभाव छ । भ्यू टावर, मन्दिर र त्यहाँसम्म पुग्न सडक निर्माणको आवाज पहिलेदेखि नै उठ्दै आएको छ । तर तीन तहका सरकार बन्दासम्म कसैले चासो दिएको पाइदैन ।

शिक्षक डाँगी भन्छन्–‘राजमार्ग छेउमै भएपनि अन्य केही पूर्वाधारको विकास गर्ने हो भने सुनमा सुगन्ध हुन्थ्यो ।’ होमस्टे लगायतका पर्यटन पूर्वाधार विकासका लागि स्थानीयले उठाउँदै आएको आवाज सुन्ने हो भने हर्रे पश्चिमकै उत्कृष्ट हिलस्टेसन बन्ने निश्चित छ ।स्थानीयले हर्रेमा भ्यू टावर निर्माणको प्रस्ताव गरेको उहिल्यैदेखि हो तर कसैले चासो दिएका छैनन् ।

प्रकाशित मितिः     २२ भाद्र २०७७, सोमबार ०७:४७  |
error: Content is protected !!