अब ब्यालेन्स रिचार्ज, ट्रान्सफर र इन्क्वाइरीसहितका आधारभूत सेवामा एउटै युएसएसडी नम्बर प्रयोग हुने


काठमाडौं। अब ब्यालेन्स रिचार्ज, ट्रान्सफर र इन्क्वाइरीसहितका आधारभूत सेवामा एउटै युएसएसडी नम्बर प्रयोग हुने भएको छ । यसका लागि नेपाल दूरसंचार प्राधिकरणले नयाँ प्रवधान लागु गरेको छ ।

प्राधिकरणले दूरसञ्चार सेवामा प्रयोग हुने सर्ट कोड र टोल फ्रि नम्बर व्यवस्थापनसम्बन्धी कार्यविधि लागू गरेसँगै विभिन्न आधारभूत सेवामा एउटै युएसडी कोड प्रयोग हुने भएको हो । प्राधिकरणले सर्ट कोड र टोल फ्रि नम्बरसम्बन्धी विभिन्न प्रावधान समेटेर कार्यविधि लागू गरेको जनाएको छ।
भदौ १९ मा कार्यविधि सार्वजनिक गरेको प्राधिकरणकाले ३, ४, ५ र १० अंकको सर्ट कोड रहने गरी नयाँ व्यवस्था गरेको छ। प्राधिकरणले जारी गरेको कार्यविधिले उपभोक्ताको सहजताका लागि भन्दै अब आधारभूत सेवाहरुका लागि एउटै युएसएसडी नम्बर प्रयोग गर्नुपर्ने नयाँ प्रावधान जारी गरेको छ।

३ अंकको सर्ट कोड आकस्मिक सेवालाई यथावत
३ अंकको सर्ट कोड अत्यावश्यक एवम् आकस्मिक सेवालाई मात्रै उपलब्ध गराइने व्यवस्था कार्यविधिमा छ। प्रहरी, वारुणयन्त्र, एम्बुलेन्सलगायतका अत्यावश्यक सेवा दिने संस्थालाई मात्रै ३ अंकको सर्ट कोड दिने यसअघिको प्रावधानलाई फेरिएको छैन।

निजी संस्थालाई दिइएको ४ अंकको सर्ट कोड खोसियो
यसअघि निजी संस्थाहरुले ४ अंकको सर्ट कोड प्रयोग गर्दै आएकोमा अब भने नपाउने भएका छन्। निजी क्षेत्रका संस्थाहरुले ४ अंकको सर्ट कोड प्रयोग गरिरहेको भए कार्यविधि लागू भएको ६ महिना भित्र ९आगामी फागुन० उक्त नम्बर प्राधिकरणमा फिर्ता गरेरे १० अंकको टोल फ्रि नम्बर लिन सक्ने व्यवस्था गरिएको छ।

४ अकंको सर्ट कोड जनतासँग प्रत्यक्ष सरोकार राख्ने नेपाल सरकारका विभिन्न निकाय एवम् संवैधानिक निकायहरु प्रदान गर्ने सेवाहरुको लागि प्रयोग हुने प्राधिकरणले जनाएको छ। विभिन्न सरकारी निकायका साथै संवैधानिक निकायहरुले ४ अंकको टोल फ्रि सेवाका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

सबै कम्पनीको ब्यालेन्स ट्रान्सफर, इन्क्वाइरी र रिचार्जमा एउटै सर्ट कोड
विभिन्न दूरसञ्चार सेवा प्रदायकहरुले अहिले ब्यालेन्स रिचार्ज, ट्रान्सफर र इन्क्वाइरीका लागि फरकफरक सर्ट कोड प्रयोग गरिरहेका छन्। अब भने नेपालमा रहेका सबै दूरसञ्चार कम्पनीहरुले ब्यालेन्स रिचार्ज, ट्रान्सफर र इन्क्वाइरीका एउटै सर्ट कोड प्रयोग गर्नुपर्ने गरी नयाँ प्रावधान तय गरिएको छ।


अहिले प्रयोग भइरहेका नम्बरहरु कार्यविधि लागू भएको एक वर्ष अर्थात् भदौ २०७८ पछि खारेज हुने भएकाले अब ब्यालेन्स रिचार्ज गर्न १२२, ब्यालेन्स ट्रान्सफर गर्न १३३ र ब्यालेन्स थाहा पाउन १४४ नम्बर प्रयोग हुने प्राधिकरणले जनाएको छ। सेवा प्रदायकहरुले कार्यविधि लागू भएको ६ महिना भित्रमा नयाँ नम्बरहरुको प्रयोग सुरु गरिसक्नुपर्ने प्राधिकरणले जनाएको छ।

एसएमएस, आइभिआर, युएसएसडीका लागि ५ अंकको सर्ट कोड
यसअघि ४ अंकको सर्ट कोड प्रयोग गर्दै आएका एसएमएस, आइभिआर, युएसएसडीलगायतका अन्य सेवाहरुका लागि ५ अंकको सर्ट कोड प्राधिकरणले प्रदान गर्ने व्यवस्था गरिएको छ। यसअघि ४ अंकको सर्ट कोड प्रयोग गर्दै आएका यी सेवाहरुले अब ५ अंकको सर्ट कोड प्रयोग गर्नुपर्ने कार्यविधिमा उल्लेख छ।

जानकारीमूलक सेवाका लागि १० अंकको टोल फ्रि नम्बर
१० अंकको सर्ट कोड टोल फ्रि सेवाका लागि दिने प्रावधान रहेको छ। कुनै पनि संस्थाले आफ्ना ग्राहकहरुलाई जानकारीमूलक सेवा प्रदान गर्न १० अंकको नम्बर प्रयोग गर्न सक्ने प्राधिकरणले जनाएको छ। सबै टोल फ्रि नम्बरको सुरुआती चार अंक १८०० हुनेछ। पाँचो अंक अपरेटर कोड हुनेछ भने बाँकी पाँच अंक सेवा प्रदायकको नम्बर हुनेछ।

प्राधिकरणले उपलब्ध गराउने सर्ट कोड र टोल फ्रि सेवाहरुमा सबैको पहुँचका लागि सेवा प्रदायकहरुले अन्तर आबद्धताको व्यवस्था गर्नुपर्ने कार्यविधिमा उल्लेख छ। यस्तै, कार्यविधि लागू भइसकेकाले प्राधिकरणले सबै दूरसञ्चार सेवा प्रदायकहरुलाई एक महिनाभित्र आफुले प्रयोग गरिरहेको सर्ट कोड र टोल फ्रि नम्बरको सबै विवरण उपलब्ध गराउन निर्देशनसमेत दिएको छ। अब सेवा प्रदायकहरुले प्रत्येक आवको साउन १५ र माघ १५ भित्र दुई पटक सबै विवरणहरु उपलब्ध गराउनुपर्ने व्यवस्था कार्यविधिमै समेटेको छ।

त्यसैगरी, नेपाल सरकारको तर्फबाट सेवा प्रदायकले प्रसारण गर्ने सबै एसएमएसमा उपभोक्ताले नेपाल सरकार देख्ने गरी पठाउनु पर्ने व्यवस्थासमेत गरेको छ।

प्रकाशित मितिः     9:34:47 PM  |