
जाँड रक्सी खाएर सडकमा सवारी साधन चलाउने चालकहरूको अब तस्वीरसहित रेकर्ड राखिने भएको छ ।
बाँके ट्राफिक प्रहरीले अब अत्याधुनिक अल्कोहल टेस्ट मेसिन (ब्रेथलाइजर) मार्फत जड्याहा चालकहरुको तस्वीरसहितको रेकर्ड राख्ने भएको छ ।
जिल्ला बिपद व्यवस्थापन समिति बाँकेले मंगलबार जिल्ला प्रहरी कार्यालयमार्फत ट्राफिक प्रहरीलाई तीन थान अत्याधुनिक ब्रेथलाइजर मेसिन प्रदान गरेसङ्गै ट्राफिक प्रहरीले अब उक्त मेसिनमार्फत मादक पदार्थ सेवन गरी सडकमा सवारी चलाउने चालकलाई कारवाही गर्ने भएको हो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जिल्ला बिपद व्यवस्थापन समितिको तर्फबाट तीन थान अत्याधुनिक ब्रेथलाइजर मेसिन जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानालाई हस्तान्तरण गरेका छन ।
प्रजिअ कुरुम्बाङले जिल्लामा मापसे चेकजाँच गर्ने अत्याधुनिक मेसिन हालसम्म नभएको अबस्थामा ट्राफिक प्रहरीलाई मापसे चेकजाँच गर्न सहज होस भन्ने हेतुले उक्त मेसिन प्रदान गरिएको बताए ।

बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले अत्याधुनिक ब्रेथलाइजर मेसिनद्वारा मापसे गरेको चालकको तस्वीर सहित सम्पुर्ण विवरण रेकर्ड हुने बताए । उनले चालकलाई प्लास्टिकको पाइपमार्फत उक्त मेसिनमा फुक्न लगाइ के कति मात्रामा अल्कोहल सेवन गरेको छ सो को मात्रासहित, तस्वीर, नाम, लाइसेन्स नम्बर सबै विवरण उक्त मेसिनमा रेकर्ड हुने बताए ।
जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक पबिन्द्र बमले जिल्लामा हालसम्म यस्तो अत्याधुनिक मेसिन नभएको अबस्थामा ट्राफिक प्रहरीले अहिलेसम्म चालकको मुख सुँघेर मापसे गरे नगरेको पत्ता लगाउने गर्नु परेको र अब यो मेसिन मार्फत सरल र सहज रुपमा बैज्ञानिक तरिकाले मापसे चेकजाँच गरिने बताए ।
उनले यो ब्रेथलाइजर मेसिनमार्फत चालकको तस्वीर, नाम, लाइसेन्स नम्बर, अल्कोहलको मात्रा मात्रै नभएर चालक पहिला मापसे कारवाहीमा कति पटक परेको छ भन्ने पनि रेकर्ड हुने बताए ।
बाँके ट्राफिकले तत्काल यो मेसिन प्रयोगमा ल्याउने बताएको छ ।

