दूधजन्य पदार्थ विक्रीको नयाँ मापदण्ड कार्यान्वयनका लागि कडाई गरिदै


नेपालगन्ज २४ भदौ :  बाँकेमा दूध तथा दुधजन्य पदार्थको स्वच्छता एवं गुणस्तर निर्देशिका -२०७५ बमोजिम मापदण्ड पूरा गरेर मात्र उत्पादन तथा बिक्रिबितरण गर्न निर्देशन दिइएको छ ।

उक्त मापदण्ड कडाईका साथ पालना गराइने बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बागंले बताएका छन् । खाद्य ऐन तथा तोकिएको मापदण्डले साना किसान बाहेक प्रशोधित दूध मात्रै बिक्रि गर्न पाइने अन्यथा कारवाही हुने उनले बताए ।

बाँकेमा उक्त मापदण्ड कार्यान्वयनका लागि बजार अनुमगन समेत तिब्र पारिएको छ । बाँके जिल्लाको संयुक्त बजार अनुगमन टोलीले आज नेपालगन्ज उपमहानगरपालिकामा रहेका विभिन्न डेरी उद्योगहरुको अनुगमन गरेको छ ।

अनुगमनका क्रममा अन्य स्थानमा व्यवसाय संचालनको अनुमति लिई नेपालगंज उपमहानगरपालिकाको विभिन्न स्थानमा व्यवसाय संचालन गरिरहेका दुईवटा डेरी पसलको संचालनमा रोक लगाइएको छ भने एउटा डेरी उद्योगलाई दूध तथा दुधजन्य पदार्थको स्वच्छता एवं गुणस्तर निर्देशिका ९ २०७५ बमोजिम मापदण्ड पूरा गरेर मात्र उत्पादन तथा बिक्रिबितरण गर्न निर्देशन दिईएको छ ।

त्यसैगरी अनुगमनका क्रममा प्याकेजिंग नगरिएका दुध र दुग्धजन्य पदार्थको उत्पादन र बिक्रीवितरण नगर्न व्यवसायीहरुलाई निर्देशन दिएको वाणिज्य कार्यालयका प्रमुख कृष्ण प्रसाद पौडेलले बताए ।

प्रकाशित मितिः     २४ भाद्र २०७७, बुधबार ०८:५५  |