कोरोना रोकथाममा बाँकेका स्थानीय तहले कति खर्च गरे ?


  • डिल्ली शाही(मिशनटुडेबाट)

-कोरोना रोकथाम तथा नियन्त्रणका लागि बाँकेका आठ स्थानीय तहले १९ करोड भन्दा बढी खर्च गरेका छन् ।  लकडाउन तथा निषेधाज्ञा गरेको ६ महिनामा स्थानीय तहहरुले १९ करोड ३२ लाख ८७ हजार २ सय ७९ रुपैँया खर्च गरेका छन् । कोरोना रोकथाम तथा नियन्त्रण गर्नेका लागि जिल्लामा सबैभन्दा बढी नेपालगञ्ज उप–महानगरपालिकाले खर्च गरेको छ भने सबैभन्दा कम डुडुवा गाउँपालिकाले खर्च गरेको छ ।

उप–महानगरपालिकाले ४ करोड ७ लाख ४७ हजार ७ सय ७० रुपैयाँ खर्च गरेको छ । कोरोना नियन्त्रण तथा व्यवस्थापनका लागि संघिय सरकारबाट ८१ लाख ३७ हजार ५ सय ७५, प्रदेश सरकारबाट २५ लाख र उप–महानगरपालिकाबाट ४५ लाख गरी १ करोड ५१ लाख ३७ हजार ५ सय ७५ रुपैयाँ संकलन गरेको तथ्थांकले देखाएको छ । यस्तै व्यवसायिक फर्मबाट २ लाख ३ हजार, संघ संस्थाबाट २ लाख ३१ हजार ५ सय, बैंक वित्तीय सहकारी तथा लघुवित्तिय संस्थाबाट २ लाख ८१ हजार १ सय ११, विभिन्न व्यक्तिबाट ९८ हजार १ सय १५, कर्मचारीबाट ११ लाख ९९ हजार ७ सय ७३ गरी कुल एक करोड ७१ लाख ७८ हजार एक सय ४६ रुपैयाँ संकलन तथ्थांकले देखाएको छ ।

यस्तै राप्तीसोनारी गाउँपालिकाले कोरोना रोकथाम तथा नियन्त्रण गर्नका लागि बाँकेका आठ वटा स्थानीय तह मध्ये दोस्रो स्थानमा रहेको छ । जसको खर्च ४ करोड ८ लाख रहेको छ । कोरोना नियन्त्रण तथा व्यवस्थापनका लागि प्रदेश सरकारबाट १० लाख र गाउँपालिकाबाट १ लाख गरी ११ लाख संकलन भएको थियो । राप्तीसोनारी गाउँपालिकाले स्थापना गरेको विपद् कोषमा ५ करोड रकम जम्मा गरेको गाउँपालिकाले जनाएको छ ।

यस्तै कोहलपुर नगरपालिकाले पौने तीन करोड खर्च गरेको छ । कोहलपुर नगरपालिकाले २ करोड ७८ लाख ३९ हजार ५ सय ९ रुपैयाँ खर्च गरेको हो । कोहलपुर नगरपालिकाले स्थापना गरेको विपद कोषमा प्रदेश सरकारबाट २२ लाख रुपैयाँ र संघसंस्थाहरुले २३ लाख ९७ हजार ७६ रुपैयाँ रकम गरी ४५ लाख ९७ हजार २ सय ७६ रुपैयाँ जम्मा गरेको कोहलपुर नगरपालिकाको तथ्थांकले देखाएको छ ।

यस्तै बैजनाथ गाउँपालिकाले कोरोना रोकथाम तथा नियन्त्रण गर्नका लागि विगत ६ महिनामा २ करोड ५६ लाख रुपैयाँ रकम खर्च गरेको छ । बैजनाथ गाउँपालिकाले स्थापना गरेको विपद कोषमा संघिय सरकारबाट १४ लाख ५९ हजार १ सय रुपैयाँ, प्रदेश सरकारबाट १० लाख र गाउँपालिकामा रहेको विभिन्न संघसंस्थाहरुले ५ लाख ८२ हजार गरी २९ लाख ५९ हजार १ सय रुपैयाँ गरी ३० लाख ४१ हजार १ सय रुपैया विपद् कोषमा संकलन भएको गाउँपालिकाले जनाएको छ ।

यस्तै खजुरा गाउँपालिकाले कोरोना रोकथाम तथा नियन्त्रण गर्नका लागि विगत ६ महिनामा १ करोड ७० लाख रुपैयाँ खर्च गरेको छ । गाउँपालिकाले स्थापना गरेको विपद कोषमा १ करोड ५० लाख जम्मा गरेको थियो । जसमा संघिय सरकारबाट १८ लाख र प्रदेश सरकारबाट १० लाख रुपैयाँ सहयोग भएको गाउँपालिकाले जनाएको छ ।

यस्तै नरैनापुर गाउँपालिकाले कोरोना रोकथाम तथा नियन्त्रण गर्नका लागि विगत ६ महिनामा १ करोड ४१ लाख रुपैयाँ खर्च गरेको छ । गाउँपालिकाले स्थापना गरेको विपद कोषमा ९० लाख रकम जम्मा भएको थियो जसमा प्रदेश सरकारले १० लाख र संघिय सरकारबाट १३ लाख अनुदान सहयोग गरेको गाउँपालिकाले जनाएको छ ।

यस्तै जानकी गाउँपालिकाले कोरोना रोकथाम तथा नियन्त्रण गर्नका लागि विगत ६ महिनामा १ करोड १२ लाख खर्च गरेको छ । गाउँपालिकाले स्थापना गरेको विपद कोषमा सहयोगी संघ संस्थाहरुले १ लाख ७० हजार, प्रदेश सरकारबाट १० लाख, संघिय सरकारबाट ४ लाख ३९ हजार ३ सय २५ रुपैयाँ गरी १६ लाख ९ हजार ३ सय २५ रुपैयाँ रकम जम्मा भएको गाउँपालिकाले जनाएको छ ।

यस्तै बाँके जिल्लाको सबैभन्दा कम कोरोनामा खर्च गर्ने स्थानीय तहको रुपमा देखिएको डुडुवा गाउँपालिका रहेको तथ्थांकले देखाएको छ । गाउँपालिकाले स्थापना गरेको विपद् कोषमा १ करोड ६७ लाख रकम जम्मा गरेको छ । सो कोषका लागि संघ संस्थाहरुले २ लाख, प्रदेश सरकारबाट १० लाख, संघिय सरकारबाट ५ लाख र गाउँपालिका कर्मचारी, र शिक्षकबाट ७ लाख गरी २४ लाख रुपैयाँ रकम सहयोग गरेको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मितिः     २४ भाद्र २०७७, बुधबार ०९:०५  |