बाँकेका दूग्ध व्यवसायी आन्दोलनमा, साना व्यवसायीलाई पेल्न खोजेको आरोप


नेपालगन्ज २५ भदौ :  बाँकेमा दूध तथा दुधजन्य पदार्थको स्वच्छता एवं गुणस्तर निर्देशिका (२०७५ बमोजिम मापदण्ड पूरा गरेर मात्र उत्पादन तथा बिक्रिबितरण गर्न निर्देशन दिइएको छ । यस क्रममा भइरहेका बजार अनुगमन बेला व्यवसायी माथि अनुगमन टोलीले दूव्र्यवहार गरेको भन्दै असन्तुष्टि पोखिएको छ ।

बिहिवार बाँकेमा दुग्ध व्यवसायीले विक्री वितरण नै ठप्प गरेको दूग्ध व्यवसायी चेत शर्माले बताए । शर्माका अनुसार, नयाँ मापदण्ड पालना नगर्ने भनिएको छैन । तर लकडानका क्रममा आवशयक सामाग्री ल्याउन कठिनाई भएकाले त्यसको जडानका लागि केही समय पाउनुपर्ने उनीहरुको माग छ । अनुगमनका क्रममा बन्द रहेका सटर खोल्न लगाएर व्यवसायी माथि दूव्र्यवहार गरेकोमा पनि उनीहरु असन्तुष्ट छन् ।

उक्त मापदण्ड कडाईका साथ पालना गराइने बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बागंले बताएका छन् । खाद्य ऐन तथा तोकिएको मापदण्डले साना किसान बाहेक प्रशोधित दूध मात्रै बिक्रि गर्न पाइने अन्यथा कारवाही हुने उनले बताए ।

बाँकेमा उक्त मापदण्ड कार्यान्वयनका लागि बजार अनुमगन समेत तिब्र पारिएको छ । बाँके जिल्लाको संयुक्त बजार अनुगमन टोलीले आज नेपालगन्ज उपमहानगरपालिकामा रहेका विभिन्न डेरी उद्योगहरुको अनुगमन गरेको छ ।

अनुगमनका क्रममा अन्य स्थानमा व्यवसाय संचालनको अनुमति लिई नेपालगंज उपमहानगरपालिकाको विभिन्न स्थानमा व्यवसाय संचालन गरिरहेका दुईवटा डेरी पसलको संचालनमा रोक लगाइएको छ भने एउटा डेरी उद्योगलाई दूध तथा दुधजन्य पदार्थको स्वच्छता एवं गुणस्तर निर्देशिका ९ २०७५ बमोजिम मापदण्ड पूरा गरेर मात्र उत्पादन तथा बिक्रिबितरण गर्न निर्देशन दिईएको छ ।

त्यसैगरी अनुगमनका क्रममा प्याकेजिंग नगरिएका दुध र दुग्धजन्य पदार्थको उत्पादन र बिक्रीवितरण नगर्न व्यवसायीहरुलाई निर्देशन दिएको वाणिज्य कार्यालयका प्रमुख कृष्ण प्रसाद पौडेलले बताए । व्यवसायीहरुले ठूला डेरी उद्योगको आडमा सानालाई पेल्ने काम गरिरहेको आरोप लगाएका छन् ।

प्रकाशित मितिः     २५ भाद्र २०७७, बिहीबार ०९:५०  |