धम्वोझीमा ४६ लाखमा बनेको देशकै नमूना शौचालयको हरिविजोग हेर्नुहोस्


गत माघ महिनामा उद्घाटन गरिएको अत्याधुनिक स्वचालित शौचालय खण्डहरमा परिणत भएको छ । देशकै नमूना र फाईस्टार होटलमा हुने शौचालय सरहको उक्त शौचालय अहिले बन्दप्राय छ ।

ढोकामा डोरी लगाएर बन्द गरिएको छ भने त्यति महंगो र सुविधायुक्त चर्पीको बाहिर दिशापिसाव गरेर हरिबिजोग बनाएको छ । उक्त संगीतमय स्वचालित शौचालयको उद्घाटन गर्दै नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणाले स्वचालित शौचालय संचालनमा आउनु मात्रै उपलब्धी नभएको भन्दै यसको सहि सुदपयोगमा जोड दिएका थिए । नभन्दै मेयरले भनेझै चर्पीको सही सदुपयोग हुन पाएको छैन ।

शौचालयलाई सफा राख्नु आफैमा चुनौतीपूर्ण हुने भन्दै प्रमुख राणाले सबैको साथ आवश्यक भएको मेयरले उति बेला नै बताएका थिए । शौचालयमा भित्र प्रवेशका लागि स्वीच थिचेपछि ढोका खुल्थ्यो, भित्र प्रवेश हुनासाथ सुमधुर संगीत बज्थ्यो । हात थापेपछि साबुन र पानी पनि आफै आउँने प्रविधियुक्र थियो ।

एसएनभी नेदरल्याण्ड विकास कोषले संचालन गरिरहेको स्वास्थ्य र विकासका लागि नगर सरसफाई तथा स्वच्छता कार्यक्रम अन्तर्गत ४६ लाख ३६ हजार रुपियाको लागतमा स्वचालित शौचालय निर्माण गरिएको हो । डेढ महिना सन्चालन भएपछि त्यसपछि भने बन्दप्राय छ ।

 

प्रकाशित मितिः     २५ भाद्र २०७७, बिहीबार ११:५२  |