उपमहानगरले पहुँचवालाको घर जोगाउन नाली गायब पारेको भन्दै स्थानीयको बिरोध, प्रहरी परिचालन


नेपालगन्ज २७ भदौ :  नेपालगन्ज उपमहानगरपालिले पहुँचवालाको घर जोगाउने चक्करमा सबैभन्दा व्यस्त र नेपालगन्ज बसपार्कको बिकल्प मानिएको बाईपासरोडको मुखको सडक साँघुरो हुनुको साथै नाली समेत गायब पार्ने गरी  काम शुरु पारेको भन्दै स्थानीयले बिरोध गरेका
छन् ।

निषेधाज्ञाको मौका छोपेर दुई वर्षदेखि विवादित रहेको घरधनीलाई अनुकुल हुने गरी उपमहानगरपालिकाले काम शुरु गरेको स्थानीयले बताएका छन् । बिरोध प्रदर्शन भएपछि प्रहरी परिचालन गरिएको छ भने स्थानीयलाई थुन्ने चेतावनी दिएको स्थानीय जिआर भुषालले बताए ।

निषेधाज्ञका बीचमा दुई वर्षदेखि विवादित बनेको घरलाई अनुकुल हुने गरी नेपालगन्ज उपमहानगरपालिकाले के आधारमा र कसरी काम शुरु गर्यो भन्ने बारेमा केही बताएको छैन । बिरोध गर्दै आएका स्थानीयलाई प्रष्ट पार्ने कुरा त अझ टाडाको छ । अपारदर्शीरुपमा भइरहेको काममा स्थानीयले अनेक प्रश्न उठाएका छन् ।

एशियाली विकास बैंकको शहरी विकास परियोजना अन्र्तगत सडक निर्माण गर्दा अन्य अधिकांस स्थानीयले मापदण्ड बिपरितका घर र पर्खाल भत्काए पनि उक्त घरलाई केही गरिएको थिएन ।

मापदण्ड अनुसार घरधनीले घर भत्काउन नमानेपछि एडिबीले बाईपासरोडको मुखको पिच गरेका थिएन ।

दुई वर्षदेखि विवाद यथावत थियो । तर शुक्रवार निषेधाज्ञाकै बिच उपमहानगरपालिकाले मापदण्ड बिपरितको सटरलाई केही नचलाई सडक पूर्वाधार बनाउन शुरु गरेको छ । तर छिमेकीसम्म डेढ मिटरसम्मको फुटपाथ सहितको नाली बन्दा अहिले बन्न लागेको पूर्वाधारमा फुटपाथ र नाली बन्ने ठाउँ छैन ।

काम शुरु भए लगत्तै आफ्नो घर र पर्खाल भत्काएर सडक निर्माणका लागि सहज वातावारण गराइदिएका स्थानीयले बिरोध जनाएका छन् ।


 

पहुँचका आधारमा जनप्रतिनिधिबीचको मिलोमतोमा नाली समेत गायब पार्ने गरी काम गरिएको भन्दै स्थानीयले मेयर धवल शम्सेर राणाको चर्को बिरोध गरेका छन् । स्थानीय एक महिलाले भनिन्;–‘अरुको घर भत्काउन मेयर आफै आउनु भयो । घरमा पुरुष कोही छैनन् पछि भत्काउनु होला भन्दा पनि मान्नु भएन । तर अहिले निषेधाज्ञाका मौका छोपेर दुई वर्षदेखि विवादित बनेको ठाउँमा घर समेत नभत्काई काम शुरु गर्न लगाउनु भयो ।’

झण्डै डेढ मिटरको बाटो गायब पार्ने गरी नेपालगन्ज उपमहानगरपालिकाले कसरी पूर्वाधार निर्माणको काम गर्न दिएको होला भन्दै स्थानीय आक्रोसित छन् । स्थानीय जिआर भुषाल भन्छन्,–‘रेखांकन गरिए अनुसार सबैले महंगो मूल्यको जग्गामा बनेको घर र पर्खाल भत्काएका थियौं । तर अहिले यो घरलाई किन उन्मुक्ति दिएको होला आशंका उब्जिएको छ ।’

भुषालका अनुसार डेढ मिटरको नाली सुर्खेतरोडको मुख्य नालीमा जोडिनुपर्ने हो । ‘छिमेकसम्म पुगेको डेढ मिटर नाली उपमहानगरपालिकाले एउटा व्यक्तिको घर जोगाउने चक्करमा गायब पार्ने काम गरेको छ ।’– भुषालले भने ।

उक्त घरधनीका एकजना आफन्तले अदालतको आदेशमा र अन्य कागजातका आधारमा रेखांकन गरिएको ठाउँ भत्काउन नपर्ने अवस्था आएपछि काम शुरु गरिएको दावी गरे । यद्यपी ती कागजात प्रस्तुत गर्न आग्रह गर्दा नेपालगन्ज उपमहानगरपालिका र एबिडीको स्थानीय आयोजनामा कागजात बुझाएको बताए । उनले गलत तरिकाले रेखांकन गरिएकाले आफ्नो जग्गाको धेरै भाग भत्काउनुपर्ने अवस्था बनाएर अन्यायमा पारेको दाबी गरेका छन् ।

नाली नै नबन्ने गरी सडक बन्ने अवस्था सिर्जना गरेको विषयमा नेपालगन्ज उपमहानगरपालिकाको कुनै प्रतिक्रिया आएको छैन । स्रोतका अनुसार दुई वर्षदेखि घरकै विवादमा सडकमा केही भाग पिच गर्न नगर्दा उपमहानगरले गम्भीरतापूर्वक लिएको छ । त्यसै मजध्यनजर गर्दै अहिले काम शुरु गर्न खोजिएको हो ।

विवादका बीच एडिबीले सडकको काम शुरु नगर्ने भएकाले मापदण्ड बिपरितको घर नभत्काएर शुरु गरिएको सडक पूर्वाधार निर्माणको काम विवादित बनेको छ । जुनसुकै बहानामा पनि सानाको घर भत्काएर ठूलालाई जोगाउन काम गरेकोमा स्थानीय आक्रोपसत छन् । उनीहरुले तत्काल काम रोक्नुपर्ने माग गरेका छन् ।

प्रकाशित मितिः     1:37:40 PM  |