आइतबारदेखि घरजग्गा किनबेचको काम सुरू


देशभरका मालपोत कार्यालयले आइतबारबाट जग्गा किनबेचको काम सुचारु गर्ने भएका छन् । बिहीबार र शुक्रबार देशैभरका मालपोत कार्यालयले जग्गा रोक्का र फुकुवा गरेका थिए भने आइतबारबाट जग्गाको किनबेच सुरु हुने भूमिसुधार तथा व्यवस्थापन विभागका महानिर्देशक शेषनारायण पौडेलले जानकारी दिए ।

सरकारले साउन २८ देखि बन्द गराएको मालपोत कार्यालयहरु निषेधाज्ञा खुकुलो बनाएसँगै खुलेका छन् । काठमाडौं उपत्यकाका तीन जिल्लामा ९ वटा मालपोत कार्यालयहरु छन् जसमध्ये काठमाडौंमा ६, ललितपुरमा २ र भक्तपुरमा १ रहेका छन् ।

कोभीड–१९ को महामारी बढेसँगै मालपोत कार्यालयहरुबाट दिइने सेवा पनि अवरुद्ध हुँदै आइरहेको छ । यसअघि ११ चैतदेखि लकडाउन गरेसँगै मालपोत कार्यालय करीव अढाई महिना बन्द भएका थिए । २५ जेठपछि खुलेका उपत्यकाका मालपोत कार्यालयहरु संक्रमण फैलिँदै गएपछि पुनः २८ साउनमा बन्द गरिएको थियो ।

लकडाउन खुकुलो भएसँगै खुलेका मालपोत कार्यालयमा सेवाग्राहीको बाक्लो भिड लाग्न थालेपछि सरकारले मालपोत कार्यालय बन्द गर्ने निर्णय गरेको थियो ।

यही बिचमा सरकारले जग्गाको कित्ताकाट समेत खुकुलो बनाएको छ । गत बिहीबार भूमि व्यवस्था मन्त्री पद्या अर्यालले यसअघिका निर्देशनहरु खारेज गर्दै भूउपयोग ऐन, २०७६ र प्रचलित कानुनको अधिनमा रहेर कित्ताकाट गर्न सकिने नीतिगत निर्णय गरेकी हुन् ।

लामो समयपछि खुलेका मालपोत कार्यालयमा सेवाग्राहीको भिड लाग्न सक्ने सम्भवना रहेकोे छ । साथै, घरजग्गाको कारोबार पनि बढ्ने आंकलन गरिएको छ । आर्थिक संकट परेर घरजग्गा बिक्री गर्ने निर्णयमा पुगेकाहरु पनि मालपोत कार्यालय बन्द हुँदा पर्खिएर बसेका छन् ।

सेवाग्राहीको भिड लाग्ने सम्भवनालाई मध्यनजर गरी मालपोत कार्यालयमा उच्च सुरक्षा सतर्कता अपनाएर सेवा प्रवाह गरिने विभागको तयारी छ । विभागका अनुसार मालपोत कार्यालयहरु खुले पनि कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गरी सिमित सेवाग्राहीलाई सेवा प्रवाह गरिने छ ।

प्रकाशित मितिः     २७ भाद्र २०७७, शनिबार ०९:४६  |