पारेखेत कृषि सहकारीले गुर्भाकोट ४ र ५ नम्बर वडाका ३४ कृषकलाई घाँस काट्ने मेशिन दियो


गुर्भाकोट(सुर्खेत) २७ भदौ ;  पारेखेत कृषि तथा पशुपालन सहकारी संस्था लिमिटेडले गुर्भाकोट नगरपालिका वडा नं. ४ र ५ का आफ्ना शेयर सदस्यलाई घाँस काट्ने मेशिन वितरण गरेको छ ।

कृषि क्षेत्र विकास कार्यक्रम मूल्य श्रृखंला विकास सह-लगानी खण्ड ख दूग्ध मूल्य श्रृखंला कार्यक्रम अन्र्तगत कृषकहरुलाई ३४ वटा घाँस काट्ने मेशिन शनिवार एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको हो ।

वडा नं. ४ का अध्यक्ष प्रशन्न शाहको प्रमुख आतिथ्यतामा कृषकहरुलाई घाँस काट्ने मेशिन वितरण गरिएको कार्यक्रम संयोजक रोमहर्ष ओलीले बताए । सहकारीका अध्यक्ष महेश ओलीका अनुसार व्यवसायीक पशुपालनलाई अगाडी बढाउने र कृषकलाई प्रोत्साहन गर्न घाँस काट्ने मेशिन हस्तान्तरण गरिएको हो ।

यसले गुर्भाकोटमा व्यवसायीक पशुपालनलाई अगाडी बढाउन सहयोग पुग्ने छ ।

स्थापनाको दुई वर्षको अवधिमा उक्त सहकारीले स्थानीय कृषकलाई पशुपालन र अन्य कृषि उत्पादनका क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेको भन्दै वडा अध्यक्ष शाहले प्रशंसा गरे ।

हालै मात्र पारेखेतमा ठूलो लगानीमा दुग्ध चिस्यान केन्द्र स्थापना भई सन्चालनमा आएको छ । गुर्भाकोटकै नमुना कृषि एवं पशुपालन पकेट क्षेत्र स्थापना गर्ने लक्ष्य सहित काम भइरहेको सहकारीका अध्यक्ष ओलीले बताए ।

स्थानीय अगुवा कृषक ज्ञान बहादुर डाँगी कृषि एवं पशुपालनको व्यवसायीक कार्यका लागि सहकारीले अझ धेरै काम गर्ने जनाएका छन् ।

प्रकाशित मितिः     २७ भाद्र २०७७, शनिबार १४:२१  |