डिजाइन र लुक्सले लोभ्याउने वानप्लस एट र एट प्रो


काठमाडौं । नेपाली बजारमा चिनियाँ स्मार्टफोनको एकाधिकार नै छ । पछिल्लो समय झन चाडपर्व नजिकिदै गर्दा नयाँनयाँ ब्रान्डका स्मार्टफोन भित्र्याउन कम्पनी कम्पनीबीच प्रतिस्पर्धानै चलेको छ । नयाँ प्रविधि, फिचर र क्यामेरा लगाएतका बिशेषताले ग्राहकलाई आकार्षित गर्ने होडबाजी नै चलाएका छन् ।

आधा दर्जन कम्पनीले कब्जा गरेको नेपाली स्मार्टफोन बजारमा नयाँ ब्रान्ड भित्रिने क्रम जारी छ । ओप्पो, सामसङ्, हुवावे, एमआई, वानप्लस, भिभो लगाएतका कम्पनीहरुले एक छत्र राज नै गरेको पाइन्छ । विशेषगरी नेपाली स्मार्टफोन प्रयोगकर्ताले पनि मध्यम स्तरका फोन नै रचाउने व्यवसायीको भनाई छ ।

दशैं र तिहार छट लगाएतका चाडहरु नजिकिदै गर्दा गत बर्ष जस्तो उत्साह भने छैन । कारण हो कोरोना भाइरस । नेपाली बजारमा छोटो समयमै स्थापित हुन सकेको अर्को स्मार्टफोन ब्रान्ड हो वानप्लस । नयाँ पुस्ताका लागि लक्षित पछिल्लो समय वानप्लसले नयाँ फिचरका साथ नयाँनयाँ मोडल सार्वजनिक गर्दै अएको छ ।

नेपाली प्रयोगकर्ताको रोजाइमा पर्दै गएपछि वानप्लस मोबाइलको नेपालका लागि आधिकारीक वितरक आई हबले नयाँनयाँ ब्रान्ड पस्किरहेको छ । नेपाली बजारमा पहिलो पटक भित्रिएको वानप्लस नोर्डले धेरै नेपाली प्रयोगकर्ताको मज जित्यो । आकर्षक फिचरले लोभ्याएको यो ब्रान्डले ठूलो चर्चा पाएपछि कम्पनीले चारओटा सेभेन सिरिजको फोन सार्वजनिक गर्यो ।

वानप्लस ७, सेभेन प्रो, सेभेन टी, सेभेन टी प्रो मोडलका स्मार्टफोन अहिले पनि नेपालीको रोजाइमै पर्छ । वडी र लुक्सले नै आकर्षक देखिने यी फोनले स्टेप बाइ स्टेप लोकप्रिय बन्दै गएको छ ।

आई हवले गत हप्ता मात्रै वान प्लस एट र एट प्रो नेपाली बजारमा सार्वजनिक गर्यो । फ्ल्यागसिप, लुक्स र डिजाइमा अब्बल यो फोन बजारमा बिक्री सुरु भएको छ ।


वानप्लस एट

वानप्लस एट प्रो भेरियन्ट भन्दा सस्तोमा उपलब्ध छ । वानप्लस ७ टी र सेभेन प्रोको फिचरसँग मिल्दो जुल्दो यो फोनमा अगाडी पछाडिको भागले नै आकर्षित गर्छ । बिशेषगरी डिस्प्लेलाई नै कम्पनीले बढी केन्द्रीत गराएको छ । ६।५५ इन्चको डिस्प्ले दिएको यो फोनमा १०८०–२४०० रिजोलुसन प्रस्तुत गर्छ ।

डिस्प्लेमा मेटल, गोरिल्ला ग्लास दिएको यो स्मार्टफोनमा ८ र १२ जिबी र्यामका साथ १२८ र २५६ जीबी इन्टरननेल स्पेस अप्सनमा आएको छ । वानप्लस ८मा ४८ मेगापिक्सल क्यामेरा, ४ हजार ३०० एमएच ब्याट्री क्षमता, फिङ्गरप्रिन्ट रिडर, वाईफाई ६, फाइबजी सपोर्ट सिस्टम लगाएतका आकर्षक फिचर दिएको छ । वानप्लस ८ को नेपाली बजारमा ९३ हजार रुपैंया तोकिएको छ ।

वानप्लस ८ प्रो

वानप्लस ८ प्रो नेपाली बजारमा नयाँ प्रविधिका साथ भित्रिएको स्मार्ट फोन हो । यो फोनमा ६।७८ इन्चको क्यूएचडी डिस्प्ले दिइएको छ । त्यसतै रियरतर्फ ४८ मेगापिक्सलको सोनी प्राइमरी लेन्स, ४८ एमपी सोनी अल्ट्रा वाइड एङ्गल लेन्स, ८ एमपी टेलिफोटो जुम लेन्स, ५ मेगापीक्सल कलर पिल्टर लेन्स दिइएको छ । फ्रन्ट सेल्फि तर्फ १३ मेगापिक्सल क्यामेरा दिएको यो फोन दुई भेरियन्टमा उपलब्ध छ । ८ र १२ जीबी र्याममा १२८ र २५६ जीबी मेमोरी स्पेसमा उपलब्ध छ ।

४ हजार ५१० एमएच क्षमताको ब्याट्री राखिएको छ, जसले लामोसमय ब्याट्री टिक्ने र फास्ट चार्ज हुने कम्पनीको भनाई छ । कम्पनीका अनुसार १२ जीबी र्याम र २५६ जीबी स्पेसिफिकेसन युक्त वानप्लस ८ प्रोको बजार मूल्य १ लाख २५ हजार रुपैंया तोकिएको छ । त्यस्तै ८ जीबी र्याम भएको यो फोनलाई १ लाख १० हजार रुपैयाँ तोकिएको छ ।

प्रकाशित मितिः     4:54:29 PM  |