आफु बिरुद्ध समाचार लेखेको भन्दै पत्रकार धम्क्याउने उदयसिंह श्रेष्ठ बिरुद्ध उजुरी दर्ता


नेपालगन्ज :  विद्युत चोरीको आरोप खेपिरहेका नेपालगन्ज १० का उदयबहादुर सिंह श्रेष्ठ विरूद्ध बाँकेका १८ जना सक्रिय पत्रकारले मुद्दा दायर गरेका छन् ।

श्रेष्ठले यहाँका पत्रकारलार्य लगातार चार दिनदेखि गालीगलौजका साथै अपमान र असभ्य व्यवहार गर्दै सार्वजनिक बदनाम गरेको कारण उनीमाथि तत्काल कानूनी कारवाहीको माग गर्दै पत्रकारहरूले बुधबार जिल्ला प्रशासन कारयाालय बाँकेमा मुद्दा दर्ता गरेका छन् ।

नेपाल पत्रकार महासँघ बाँकेका अध्यक्ष ठाकुरसिंह थारू र प्रेस संगठनका अध्ध्यक्ष डक्ट धितालको नेतृत्वमा प्रशासन कार्यालय पुगेको १८ जना पत्रकारहरूको टोलीले संयुक्त निवेदन दिदैं मुद्दा दर्ता गरेको हो । पत्रकारले श्रेष्ठमाथि कारवाहीको माग गर्दै मुद्दा नै दर्ता गराएपछि बाँके प्रशासनले विद्युत चोरीको अरोपित उदय श्रेष्ठलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिइसकेको छ । तोकिएको समयअवधी भित्र उनी सम्पर्कमा नआए प्रहरीले उनी भएकै ठाउँबाट गिरफ्तार गर्नेछ ।

विद्युत प्राधिकरणले विद्यूत लाइन काटेको समाचार लेखेकै कारण उनले यहाँका १८ जना पत्रकारलाई नामै किटेर तथानाम गालीगलोजका साथै अपमान र अभद्र शब्द प्रयोग गर्दै आएका छन् । भदौ २४ गतेका नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण शाखाले नेपालगन्ज उपमहानगरपालिका वडा नंं.१० बिपीचोक नजिकै रहेको श्रेष्ठको घरमा छापा मारेको थियो ।

सो क्रममा कृषि मिटर जडान गरी विद्युत चोरी गरेको फेला पारेको थियो । प्राधिकरणले सोही विषयमा तीनदिने म्याद सहित विद्युतमा उपस्थिती हुन पत्र काटेको छ । विद्युतले घरमा छापामारी कृषि मिटर र व्यवसायीक मिटरको दुरुपयोग गरेको पाइएको भन्दै विद्युत लाइन काटेर मिटरहरु आफ्नो नियन्त्रणमा लिएको थियो । औषत मासिक खपत १०६९ यूनिट खपत देखिएको र कृषि कार्यमा उक्त मिटर प्रयोग गरेको नपाइएकोले कृषि मिटरको दुरुपयोग गरेको प्राधिकरणको ठहर थियो ।

सोही सम्बन्धी समाचार प्रकाशन गरेको भन्दै बाँकेका १८ जना पत्रकार बिरुद्ध श्रेष्ठले समाजिक सन्जाल र फेसबुक लाइभमा चोरको आरोप लगाउने, पत्रकारलाई धम्क्याउने, अनेक मुद्दा लगाउँछु भन्दै त्रसित बनाउने कार्य गर्दै आएका छन् । श्रेष्ठको उक्त कार्यको बाँकेका पत्रकारहरुले घोर बिरोध एवं निन्दा गरेका छन् ।

समाचार लेखेकै आधारमा धम्क्याउने, बिभिन्न खाले आरोप लगाउने, मनोवल गिराउन खोज्ने खालका गतिविधि तत्काल रोक्न पत्रकारले माग गरेका छन् । समाचार सम्प्रेषणकै कारण धम्क्याउने निज श्रेष्ठलाई कानूनको दायरामा ल्याउन स्थानीय प्रशासन र प्रहरी समक्ष जोडदार माग गरिएको छ ।

सामाजिक सन्जालमा पत्रकारहरुको मानमर्दन गर्ने, नामै किटेर चोरीको आरोप लगाउने व्यक्ति बिरुद्ध कानूनी उपचार खोजिएको छ । समाचार संकलनका क्रममा हामी पुगेका पत्रकारहरुले आफ्नो आचारसंहितामै रहेर समाचार संकलन तथा सम्प्रेषण गरेको जनाउँदै यस्ता भ्रमपूर्ण खबरको कुनै सत्यता नरहेकाले भ्रममा नपर्न सम्पुर्ण जनसमुदायमा आग्रह गरिएको छ ।

प्रकाशित मितिः     ३१ भाद्र २०७७, बुधबार १६:२२  |