महामारीमा अनुदान नरोक्न आग्रह


कोहलपुर । शिक्षण सिकाई सहयोग अनुदान संघर्ष समिति बाँकेले सरकारलाई महामारीको समयमा आफूहरुले पाउँदै आएको नखोस्न अपिल गरेको छ ।

विगत ६ महिनायता कोरोना कहरको समयमा विद्यालय समेत सञ्चालन नभएको अवस्थामा देशैभरीका सामुदायिक विद्यालयका शिक्षकहरुले पाउँदै आएको शिक्षण सिकाई सहयोग अनुदान बापतको रकम नआएकोले रोजगारी गुम्ने अवस्थामा पुगेको भन्दै अनुदान नरोक्न अपिल गरेको हो ।

संघर्ष समिति बाँकेले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै शिक्षा तथा प्रविधि मन्त्रालय मार्फत देशैभरीका सामुदायिक विद्यालयका मा.वि. तथा नि.मा.वि. तहको लागि गणित, अंग्रेजी तथा विज्ञान विषयका शिक्षक अभावलाई पूर्णता दिन व्यवस्थापनका लागि एकमुष्ठ रुपमा अनुदान दिदै आएको भन्दै अहिले रोकिएको भन्दै ध्यानार्षण गराइएको छ ।

सरकारले उक्त अनुदान आर्थिक वर्ष २०७५-०७६ देखि निकासा गर्दै उक्त अनुदान सरकारले चालू आर्थिक वर्षको अहिलेसम्म निकासा गरेको छैन । त्यसैले देशभरका हजारौ शिक्षकहरुको रोजगारी गुम्ने खतरा रहेको भन्दै पत्रमार्फत मन्त्रालयको ध्यानकर्षण गराईएको हो । समितिका बाँके जिल्ला संयोजक हर्क बहादुर रानाद्धारा हस्ताक्षरित पत्रमा कोरोना महामारीको समयमा देशका कतिपय विद्यालयले त्यस्ता शिक्षकलाई अवकाश समेत दिइएको उल्लेख गरिएको छ ।

नेपाल सरकार मातहतका सामुदायिक विद्यालयको गुणस्तर अभिबृद्धि गर्ने नीति, विपरित दिदै आएको शिक्षण सिकाई सहयोग अनुदान रकम समेत कटौती गरि सार्वजनिक शिक्षालाई धरासायी बनाउने काम स्वयम् सरकारबाट भइरहेको महशुस भएको जनाइएको छ । यस्तै अहिलेसम्म मन्त्रालयले अनुदानका सम्बन्धमा कुनै पनि आधिकारीक जानकारी नदिएकोले शिक्षकहरुमा अन्यौलता सिर्जना भएको जनाइएको हो ।

ध्यानाकर्षणपत्र मार्फत शिक्षण सिकाई सहयोग अनुदान के कति कारणले रोकिएको हो, अहिलेसम्म निकासा हुन्छ, स्पष्ट पारिदिन अनुरोध समेत गरिएको छ ।

साथै शिक्षण सिकाई सहयोग अनुदानलाई निरन्तरता दिनुका साथै शिक्षकलाई स्थापितको नाममा अनुदान प्राप्त गरिरहेका शिक्षकहरुलाई बिस्थापित नगर्न समेत सरकारसँग अपिल गरिएको संयोजक रानाले जानकारी दिए । दुई वर्षदेखि उपलब्ध गराउँदै आएको अनुदान बापतको रकम उपलब्ध नगराएमा देशभरका शिक्षकहरु आन्दोलनमा उत्रिने चेतावनी समेत दिइएको छ ।

प्रकाशित मितिः     २ आश्विन २०७७, शुक्रबार ०९:४६  |