गाउँमा बिजुली पुग्दाको खुसी !


बाँके। जिल्लाको राप्ती सोनारी गाउँपालिका-५ बिनौनामा बिजुली बाल्ने सपना पुरा भएको छ।

शनिवार ८० वर्षीया ज्येष्ठ नागरिक हिर्दादेवी खड्काले बिजुली बालेर बिनौना उज्यालो कार्यक्रमको उद्घाटन गरेकी छन्। यससँगै राप्ती सोनारी गाउँपालिका केही वडा र नरैनापुर गाउँपालिकाका सबै वडाहरूमा बिजुली बलेको छ। उक्त क्षेत्रमा बिजुली बाल्न सांसद अथकले निरन्तर रूपमा विद्युत् प्राधिकरणको क्षेत्रीय कार्यालय नेपालगन्ज, केन्द्रीय कार्यालय, विद्युत् विकास विभाग र ऊर्जा मन्त्रालयसँग समन्वय गरेका थिए।

प्रसारण लाइन बिस्तारका क्रममा देखिएका कानूनी समस्याको समाधानका लागि उनले जिल्ला बन कार्यालय बाँके, बन विभाग र बन मन्त्रालयसँग पनि समन्वय गरेका थिए। उनले बिनौनामा बिजुली बाल्नको लागि ठुलो मेहनत गर्नु परेको सुनाए। सोही अवसरमा सांसद अथकले निरन्तरको पहल र यहाँका बासिँदाको जागरूकताका कारण आज बिजुली बाल्न सफल भएको बताए। उनले भनेका छन्, ‘यो हाम्रो ऐतिहासिक सफलता हो।’

बिजुली बलेसँगै अब यहाँका किसानले विभिन्न उद्योग कृषि, पशुपालन तथा अन्य लाभ लिन सक्नु पर्ने उनले बताए। संविधान दिवसको अवसरमा शुभकामना दिँदै सांसद अथकले संविधान एक गतिशील दस्ताबेज भएकोले जनताको आवश्यकता अनुसार संविधान संशोधन र परिमार्जन गरिने बताए। संविधानमा सबैको भावना समेट्न आवश्यकता अनुसार परिवर्तन गर्न सकिने उनले स्पष्ट पारे। संविधानले चाहेको स्थिरता, स्थायित्वका लागि नेपालका सबै राजनीतिक शक्तिहरू एक ठाउँमा उभिनु पर्ने चर्चासमेत उनले गरे।

कार्यक्रममा बोल्दै ५ नँ प्रदेस साँसद कृष्णा के सी नमुनाले  निरन्तर पहलकदमीका कारण राप्तीपारीको बिद्धुतिकरणले सफलता पाएको बताइन । संविधान सभा सदस्य पट्टु थारुले संविधान दिवसको अवसरमा बिनौनामा बत्ती बल्न सकेकोमा खुसी ब्यक्त  गरे ।

उनले बाँकी रहेको स्थानहरुमा पनि बत्ति बाल्न निरन्तर लागिपर्न आग्रह गरे । राप्तिसोनारी वडा नँ ५ का अध्यक्ष झगरु थारुको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेकपा क्षेत्र नँ १ समन्वय समितिका सँयोजक सुर्य ढकाल राप्तिसोनारी नेकपा गाऊ कमिटी अध्यक्ष चिम बहादुर घर्ती नेकपाका जिल्ला कमिटि सदस्य बलराम भट्टराइ लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः     ४ आश्विन २०७७, आईतवार ०८:०६  |