तस्करीमा लगाम लाग्दा नेपालगन्ज भन्सारको राजश्व बढ्यो


बाँके । लकडाउनका कारण क्यारिगंबाट आउने सामान ठप्पप्राय छ । चोरी नाकाका छिटफुट गरी प्रयोग भइरहे पनि धेरै जसो सामाग्री भन्सार हुँदै आएका छन् । जसको प्रत्यक्ष फाईदा राजश्व बृद्धिमा भएको छ । नेपालगन्ज भन्सार कार्यालयले अहिलेसम्मकै बढि राजश्व संकलन गर्न सफल भएको छ ।

कोरोनाकालकै बिचमा समेत भन्सार कार्यालयले लक्ष्यभन्दा बढी राजश्व संकलन गरेको हो । चालु आर्थिक वर्षको पहिलो महिनामा भन्सार कार्यालयले १ अर्ब ६८ करोड राजश्व संकलन गरेको छ ।

नेपालगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत शान्तिराम निरौलाका अनुसार श्रावण महिनामा ९४ करोड ७५ लाख ६ हजार रुपैयाँ राजश्व उठाउने लक्ष्य राखिएकोमा लक्ष्यभन्दा ७३ करोड २५ लाख अर्थात १७७ दशमलव १५ प्रतिशत बढि राजश्व संकलन भएको हो ।

निरौलाले सिमानाका बन्द भएपनि भन्सार कार्यालयले दैनिक रुपमा आफ्ना गतिविधिहरु संचालन गरीरहेको प्रष्ट पारेका छन । पछिल्लो समय उद्योग तथा कलकारखाना संचालनमा आएपछि कच्चापदार्थ ल्याउने क्रम ह्वात्तै बढेकाले उत्साहजनक रुपमा राजश्व संकलन भएको निरौलाले दावी गरे । बन्दाबन्दीका कारण लामो समयसम्म बन्द रहेका उद्योगधन्दा संचालनमा आएसँगै राजश्व संकलनमा बृद्धि भएको उनको बुझाई छ ।

यसका अलावा बन्दाबन्दीको समयमा सिमानाकाबाट हुने अवैध चोरी निकासी नियन्त्रण भएकाले समेत राजश्व संकलन योगदान पुगेको निरौला बताउँछन । निरौलाका अनुसार नेपालगन्ज भन्सारबाट औद्योगिक कच्चा पदार्थका अलावा, खाद्यान्न, औषधि तथा अत्यावश्यक सामग्री भित्रने गरेका छन । तर फलफुल तथा तरकारी जन्य पदार्थ र मानिसहरुको आवागमनमा भने पूर्ण रुपमा रोक लगाईएको निरौलाले जानकारी दिए ।
भदौ महिनामा पनि राजश्व संकलन बृद्धि भएको छ । नेपालगन्ज भन्सारमा भाद्र महिनाको राजस्व संकलन लक्ष्य( १ अर्ब ६ करोड प्रगती १ अर्ब ४६ करोड रहेको छ ।

प्रकाशित मितिः     ५ आश्विन २०७७, सोमबार ०७:२०  |