अनिल अम्बानीको कन्तबिजोग, अदालतसामू भने ‘गरगहना बेचेर कानुनी शुल्क तिरेको छु’


कुनै बेला भारतका डलर अर्बपति अनिल अम्बानीको व्यवसाय बिग्रिएपछि अहिले गम्भीर आर्थिक संकटसँग जुधिरहेका छन् । महँगा गाडी चढ्ने, ज्वेलरी र अर्बौ डलर चलअचल सम्पत्ति भएका अनिलको व्यवसाय डामाडोल भएको छ ।

उनको सबै व्यवसाय बिग्रिएर अर्बौ डलर ऋणमा चुर्लुम्म डुबेका छन् । यतिसम्म कि उनको सम्पत्ति लिलामी हुन लागेको छ । तर, भारतको सर्वोच्च अदालतले तत्काल सम्पत्ति लिलाम नगर्न स्टेट बैंक अफ इन्डियालाई आदेश दिएको छ ।

यता, उनका दाई मुकेश अम्बानीको सम्पत्ति बढेर ८० अर्ब डलर माथि पुगिसकेको छ । मुकेश अहिले विश्वका छैठौं धनी भएका छन् । उनले सुरु गरेको जीओ टेलिकम र रिलायन्स रिटेल भेन्चर्समा अर्बौ डलर विदेशी लगानी ल्याएका छन् ।

आर्थिक संकटले गर्दा अनिलले आफू साधारण जीवन बिताइरहेको जानकारी गराएका छन । उनले आफूसँग एउटा कार र चालक मात्र रहेको बेलायतको उच्च अदालतलाई जानकारी गराएका छन् । कानुनी खर्च तिर्न उनले आफूसँग भएको सबै गरगहना बिक्री गरिसकेको जानकारी अदालतलाई गराएका छन् ।

उनले गएको जनवरीदेखि जुनसम्म गरगहना बेचेर ९ करोड ९० लाख रुपैयाँ पाएको र सो रकम सबै कानुनी शुल्क तिर्न खर्च गरिएको अनिलले अदालतमा भनेका छन् । उनले अहिले केही पनि नकिनेको र यसको अर्थ नभएको प्रतिक्रिया समेत दिएको दि इकोनोमिक टाइम्सले जनाएको छ ।
आफूसँग ‘लक्जरियस’ कार छ भन्ने सञ्चारमाध्यमहरुको अनुमान मात्र भएको बताउँदै उनले आफूले अहिलेसम्म सबैभन्दा महँगो रोल्स रोयस कार खरिद नगरेको स्पष्ट पारेका छन् । अहिले एउटा कार मात्र रहेको जानकारी गराएका छन् ।

गएको मे महिनामा बेलायतको उच्च अदालतले अनिललाई ७१ करोड ६९ लाख १७ हजार ६८१ अमेरिकी डलर अर्थात ५ हजार २८१ करोड भारु ३ वटा चिनियाँ बैंकलाई ऋण तिर्न आदेश दिएको थियो ।

इन्डष्ट्रियल एन्ड कमर्शियल बैंक अफ चाइना लिमिटेड, एक्सपोर्ट इम्पोर्ट बैंक अफ चाइना र चाइना डेभलपमेन्ट बैंकलाई सो ऋण तिर्नुपर्ने अदालतले फैसला गरेको थियो । आफू संकटमा परेकाले सो ऋण तत्काल तिर्न नसक्ने अनिलले अदालतलाई बताउँदै आएका छन् । अनिले भिडियोबाट सो जानकारी गराएका हुन ।

गत डिसेम्बर ३१ देखि जनवरी १ एक रातमा ४० लाख भारु बैंकमा रहेको रकम घटेर २० लाख भारुमा झरेको थियो । संकटका बावजुद आफू अहिले भारतको धनी व्यक्ति भएको दावी गरेका छन् ।

उनले हालसालै १ लाख १० हजार भारुमा एउटा आर्ट खरिद गरेको विषयमा अदालतले प्रश्न उठाएको छ । गत वर्ष उनले रिलायन्स इन्फ्रास्टक्चरबाट शुल्क प्राप्त गरेको र थप केही आम्दानी नभएकाले वित्तीय अवस्था चुनौतिपूर्ण रहेको उनले बताएका छन् ।

उनले आफूले सामान्य जीवन बिताइरहेको र आम्दानीको स्रोत पनि नभएको खुलाएका छन् । उनले कानुनी शुल्क तिर्न सबै गरगहना बेचेको अदालतलाई बयान दिएका छन् । थप खर्चका लागि आफूले अदालतको अनुमति लिनुपर्ने र त्यो पनि संभव नभएको जानकारी गराएका छन ।

चिनियाँ बैंकहरुले अनिलबाट ऋण असुल गर्न ‘इनफोर्समेन्ट एक्ट’ कार्यान्वयनको माग गरेका छन । यस्तै अदालतले अम्बानीलाई १ लाख डलर कानुनी खर्च ७४ लाख भारु तिर्न भनेको थियो ।

यसबाहेक ५०० करोड भारु आमाको र ३१० करोड अनिका छोरा अनमोलको ऋण पनि रहेको छ । उनले आफनो खर्च सामान्य रहेको र आरामदायिक जीवन नबिताएको कानुन खर्च तिर्न गरगहना सबै बेचेको उनले बताएका छन् ।

प्रकाशित मितिः     १० आश्विन २०७७, शनिबार १५:३०  |