पर्यटन/होटल व्यवस्थापन सम्बन्धी पढाई हुने सरकारी प्रतिष्ठान (नाथम) स्थापनाले उत्साह


नेपालगन्ज १३ असोज :  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्र्तगतको नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानले नेपालगन्जमा कलेज खोलेपछि हस्पिटालिटी र पर्यटन क्षेत्रका सरोकारावाल निकायका अगुवाहरु उत्साहित छन् ।

स्वदेशमै दक्ष जनशक्ति उत्पादनमा प्रतिष्ठान अब्बल सावित हुने उनीहरुको बुझाई छ ।

संघीयतापछि सरकारी कार्यालय एकपछि अर्को गर्दै अन्यत्र सार्ने काम भइरहेका बेला पर्यटन तथा होटल व्यवस्थापन सम्बन्धी उच्चशिक्षा पढाई हुुने त्रिभुवनन बिश्वबिद्यालयबाट मान्यताप्राप्त कलेज खुल्दा यहाँ उत्साह थपिएको छ ।

नेपालगन्जमा प्रतिष्ठानका कर्मचारी र सरोकारवाला निकायबीच मंगलवार छलफल भएको छ । छलफलमा नेपालगन्जका मेयर डा. धवल शम्सेर राणाले प्रतिष्ठानले पश्चिमकै उत्कृष्ट जनशक्ति उत्पादन गर्ने बिश्वास गर्दै कलेजको पूर्वाधार निर्माणदेखि जग्गा दिन समेत तयार रहेको बताए । मेयर राणा सकारात्मक भएपछि नेपालगन्जका प्रतिष्ठानको कलेज खुलेको हो ।

कार्यक्रममा बोल्दै नेकपाका नेता रत्न खत्री,नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ, प्रतिष्ठानका नेपालगन्ज प्रमुख बिपिन नेपालले होट र पर्यटन क्षेत्रको जनशक्ति उत्पादनमा नेपालगन्ज हब बन्ने बिश्वास व्यक्त गरे ।

पर्यटन तथा होटल व्यवस्थापन सम्बन्धी प्रतिष्ठान खोल्ने योजना अनुसार कलेज खोल्न लागिएको हो । परिस्थिती अनुकुल भए चाँडै पढाई शुरु गर्ने लक्ष्य रहेको छ ।

अब खोल्ने कलेजका लागि नेपालगन्ज उपमहानगरपालिकाले भवनको व्यवस्थापनको निर्णय गरेको छ ।

नाटा बाँकेका अध्यक्ष श्रीराम सिग्देलले प्रतिष्ठानले नेपालगन्जमा कलेज खोल्नु ठूलो उपलब्धी भएको बताए । अब सबै मिलेर कलेजलाई प्रभावकारी बनाउने गरी लाग्नुपने सिग्देल बताउँछन् । उनी कलेज नेपालगन्ज भित्रा्उन शुरुदेखि नै सक्रियतापूर्वक लागिरहेका छन् ।

यस्तै अन्य विकल्पमा दुई वर्षका लागि महेन्द्र बहुमुखी क्याम्पसको गल्र्स होस्टेल समेत प्रयोग गर्ने र जग्गा समेत खोज्ने बिकल्पका बारेमा निर्णय भएको छ ।

पर्यटन र होटल क्षेत्रसंग सम्बन्धित जनशक्ति निर्माणका लागि स्थापना हुन लागेको कलेज कोशेढुंगा सावित हुने अध्यक्ष सिग्देलले बताए ।

उनका अनुसार होटल लगायतको विषयमा स्नातक तहको पढाई अब नेपालगन्जमै हुने छ । सबैको सहकार्यबाट कलेजलाई सफल बनाउनेगरी लाग्नुपर्नेमा उनले जोड दिए ।

पर्यटन तथा होटल विधामा आवश्यक जनशक्ति उत्पादन गर्ने ध्येयका साथ विसं २०२९ मा स्थापित नाथमले सो क्षेत्रमा विभिन्न तहमा अध्ययन अध्यापन तथा तालीम सञ्चालन गर्दै आएको छ । हालसम्म नाथमले सो क्षेत्रमा करीव ४५ हजार भन्दा बढि जनशक्ति उत्पादन गरिसकेको छ ।

नाथमको ४५औं वार्षिकोत्सवका अवसरमा तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले नाथमलाई विकास समितिअन्तर्गत रहने गरी विश्वविद्यालयका रुपमा रुपान्तरण गर्ने तयारी भएको बताएका थिए ।

प्रकाशित मितिः     १३ आश्विन २०७७, मंगलवार १८:४०  |